logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • शासकीय प्रणालीमा पूर्वीय मूल्यहरूको महत्व              

    शासकीय प्रणालीमा पूर्वीय मूल्यहरूको महत्व               

    शासकीय प्रणालीमा पूर्वीय मूल्यहरूको महत्व

     

     

    तोमनाथ उप्रेती

    पूर्वीय दर्शनले मानव जीवनको उच्चतम लक्ष्यलाई आत्मबोध, धर्मपालन र सामाजिक समरसता मान्दछ। यस्ता दर्शनहरू – विशेषतः हिन्दू, बौद्ध, जैन तथा कन्फ्युसियस चिन्तन – मा शासनलाई कानूनी वा प्रशासनिक प्रक्रिया होइन, धर्म, कर्तव्य र सत्यमा आधारित नीतिपूर्ण सेवा मानिएको छ। गीता, उपनिषद् र बुद्धका उपदेशहरूमा शासकको दायित्व जनताको हित, न्यायको स्थापन र लोभ–मोहबाट मुक्त नेतृत्व स्थापित गर्नु हो भन्ने देखिन्छ। यसले शासकलाई लोकेन्द्रित नभई लोकसेवकको रूपमा परिभाषित गर्छ।

    शासकीय प्रणालीमा पूर्वीय मूल्यहरूको समावेशले नैतिकताको जग मजबुत बनाउँछ। आजको यान्त्रिक र सत्ता–केन्द्रित शासन संरचनामा भ्रष्टाचार, अहंकार, दमन र भेदभाव जस्ता विकृतिहरू व्यापक छन्। यस अवस्थाबाट मुक्ति पाउन शासनमा करुणा, सत्य, सहिष्णुता, त्याग, संयम र सेवा जस्ता पूर्वीय गुणहरूको पुनर्स्थापना आवश्यक छ। यस्ता गुणहरूले शासनलाई केवल व्यवस्थापकीय बनाउने होइन, जनउत्तरदायी, मानव–केन्द्रित र समावेशी बनाउने काम गर्छन्।

    नेपालजस्ता बहुजातीय, बहुभाषिक र धार्मिक विविधता भएका समाजमा पूर्वीय मूल्यले सामाजिक सौहार्द कायम राख्न र समतामूलक विकास सम्भव बनाउँछ। लोकतन्त्र, कानूनी शासन र पारदर्शिता जस्ता आधुनिक अवधारणालाई पूर्वीय चिन्तनको नैतिक भूमि प्रदान गर्न सकिन्छ। यसकारण, शासन प्रणालीमा केवल प्रविधि, शक्ति र नीतिगत संरचना मात्र होइन, साँचो अर्थमा धर्म, विवेक र मानव–कल्याणमुखी मूल्यहरू पनि अन्तर्निहित हुनुपर्दछ। शासनको आत्मा नै जनकल्याण हो भने, पूर्वीय मूल्यहरू त्यस आत्माको सजीव अभिव्यक्ति हुन्।

    दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ। दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ। यसले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने कार्य गर्दछ। तत्वमिमांसा (मेटाफिजिक्स), ज्ञानशास्त्र (एपिस्टेमियोलोजी), मूल्यशास्त्र (एक्जियोलोजी) र तर्कशास्त्र (लजिक) दर्शनका मूल क्षेत्र हुन्।

    पूर्वीय दर्शनले दक्षिण र पूर्व एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँछ, विशेषतः भारतवर्ष, नेपाल, तिब्बत र चीनमा विकसित चिन्तनहरूलाई। हिन्दु, बौद्ध, जैन दर्शन यस क्षेत्रका मूल स्तम्भ हुन्। यी दर्शनहरूले धर्म, सदाचार, परोपकार, योग, ध्यान, आत्मज्ञान, सत्य र शान्तिलाई जीवनको मूलमन्त्र बनाउँछन्।

    नेपाल परापूर्वकालदेखि नै धार्मिक तपोभूमिको रूपमा रहँदै आएको छ। हिन्दू र बौद्ध परम्पराले यहाँको समाजलाई संस्कार र संस्कृति केन्द्रित बनाएको छ। वेद, उपनिषद्, रामायण, गीता, बुद्धवाणी आदिका शिक्षाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई सञ्चालन गर्न सक्ने नीति तथा मूल्य प्रदान गर्छन्। योग, आयुर्वेद, विपश्यना, पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता अभ्यासहरूले मानिसलाई शारीरिक र मानसिक रूपले सशक्त बनाउँछन्।

    पूर्वीय दर्शनमा शासकीय मार्गदर्शनका लागि आदर्श व्यक्तित्वहरू पाइन्छन्, जस्तै चाणक्य जसले कौटिल्य अर्थशास्त्रमार्फत राज्य सञ्चालनको स्पष्ट रूपरेखा दिएका छन्। चाणक्यले नीति, कार्यकुशलता, पात्रको छनोट र कार्यसम्पादनको मूल्याङ्कनमा बल दिएका छन्। उनले नीति सूत्रका माध्यमबाट आजको व्यवस्थापन, प्रशासन र नेतृत्व शास्त्रलाई समेत समृद्ध बनाएका छन्।

    श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले धर्म, कर्म, र नीति–नैतिकता सम्बन्धी शिक्षाहरू दिएका छन्, जसले नीतिगत, चारित्रिक र व्यावहारिक जीवनलाई मार्गदर्शन गर्छ। “कर्मण्येवाधिकारस्ते” जस्ता श्लोकहरूले कर्तव्यपरायणता, निष्काम कर्म र आत्मिक अनुशासनलाई प्रोत्साहित गर्छन्। गीता शिक्षाले व्यवस्थापन, नेतृत्व र समाजशास्त्रमा समेत मार्गदर्शन प्रदान गर्छ।

    महात्मा गान्धीको जीवनदर्शन पूर्वीय आदर्शको आधुनिक प्रतिरूप हो। सत्य, अहिंसा, आत्मशुद्धि र मानवता उनका प्रमुख मूल्य हुन्। उनले जीवनका सात पापहरू (जस्तै चरित्रविनाको ज्ञान, नैतिकताबिनाको व्यापार) का माध्यमबाट आधुनिक समाजको कमजोरी औंल्याएका छन्। गान्धी दर्शन सार्वजनिक जीवनका लागि मार्गदर्शक हो।बुद्ध दर्शन पनि पूर्वीय शासकीय चिन्तनको मुख्य आधार हो। चार आर्य सत्य, अष्टमार्ग, पञ्चशील, करुणा, मध्यम मार्ग जस्ता शिक्षाले सामाजिक न्याय, समानता, शान्ति र परोपकारलाई प्रोत्साहन गर्छन्। बुद्धका उपदेशहरू व्यवहारिक मात्र होइनन्, सार्वकालिक र सार्वजनीन पनि छन्।

    पूर्वीय दर्शनले जीवन, समाज र राज्य सञ्चालनमा आध्यात्मिकता, नैतिकता र धर्मका सिद्धान्तहरूलाई प्राथमिकता दिन्छ। यो दर्शनले व्यक्ति र शासक दुवैलाई कर्तव्यनिष्ठ, संयमी र सत्यनिष्ठ हुन प्रेरित गर्छ। उपनिषद्, गीता, बुद्ध दर्शन, कन्फ्युसियसका सिद्धान्त तथा अन्य पूर्वीय विचारहरूमा राज्य सञ्चालनको मूल मन्त्र सत्य, अहिंसा, सेवा र धर्मपालन हो भन्ने उल्लेख पाइन्छ।

    पूर्वीय दर्शनमा ‘राजा’ वा शासकलाई जनताको सेवकको रूपमा हेर्ने गरिएको छ। चक्रवर्ती राजा धर्मको अधीनमा रहेर शासन गर्छन् र जनताको कल्याणलाई सर्वोपरि ठान्छन्। यस दर्शनले केवल कानूनी शासन होइन, नैतिक शासनमा बल दिन्छ।शासकीय प्रणालीमा पूर्वीय दृष्टिकोणले प्रशासनिक संयमता, दण्ड–विधानमा न्याय, र राज्य–प्रवर्तनमा सहिष्णुता र परोपकारलाई मूल तत्व बनाउँछ।आजको समयमै पनि पूर्वीय दर्शन राज्य सञ्चालनको मार्गनिर्देशनमा उपयोगी छ। यसले भ्रष्टाचार, असमानता र अनैतिक अभ्यासलाई न्यून गरी, समावेशी र मानवकेन्द्रित शासन प्रणाली स्थापना गर्न प्रेरणा दिन सक्छ। अतः आधुनिक शासन प्रणालीमा पूर्वीय मूल्यहरूको समावेशीकरण आवश्यक छ।

    पूर्वीय दर्शन राज्य प्रणालीको लागि आदर्श मार्गदर्शन हो। यसले व्यक्ति, समाज, र राष्ट्रबीचको त्रिकोणात्मक सम्बन्धलाई सन्तुलित बनाउने सूत्र दिन्छ। धर्म, नीति, कर्तव्य, संयम, करुणा, सत्य, अहिंसा र सदाचारजस्ता मूल्यहरू प्रशासन, शिक्षा, स्वास्थ्य, न्याय, र राजनीतिक प्रणालीका मेरुदण्ड हुन सक्छन्। आधुनिक शासकीय व्यवस्थामा यी मूल्यहरूको पुनःस्थापना र समायोजनले नैतिक, उत्तरदायी र समावेशी शासन सम्भव बनाउँछ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २९, बिहीबार १३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP