स्मृतिमा तर्सिएको पृथ्वी
तोमनाथ उप्रेती
ध्रुवको छायाँ हल्लिँदै थियो,
नक्षत्रले दिशा बिर्से झैँ,
नेपथ्यमा युद्धको आँधी थियो—
ड्रोन, डेटाबेस र अन्तरिक्षका तीरसहित ।।
जहाँ एक समय, नक्शाहरू,
मान्छेका पाइला हेरेर कोरिन्थे,
आजका युद्ध-यात्रीहरू
सिग्नलमार्ग खोज्दै उडे—
आकाशमा न देखिने बाटोमा ।।
तेहरानको आकाश कालो थियो,
न गोली, न बारुद,
तर इन्टरसेप्ट गरिएका संकेतहरू
हतियार बनेर ओर्लिएका थिए ।।
इरानका वैज्ञानिक,
नभएका नक्शामा हराएका थिए—
मृत्युले सहि पत्तो पायो,
सिग्नलको निर्देशमा ।।
“के यो सञ्चार हो—
कि सूचनामार्फत लादिएको युद्ध ?”
इण्टरनेटको रेखा अब केवल कनेक्टिभिटी थिएन,
त्यो राष्ट्रको नसामा गाडिएको सुई थियो—
जसले डेटा चुस्दै, चेतनालाई आफ्नै कथा सुनाउँथ्यो ।।
‘जिपिएस’— अब झ्याल थिएन, पर्खाल थियो,
जहाँबाट नजर घुसेका थिए,
र निसाना बनाएका थिए,
बुद्धिजीवी, नीति-निर्माता र स्वप्नद्रष्टाहरू ।।
इजरायली घात थियो,
अमेरिकी सञ्जाल थियो,
इरानी मृत शरीरमाथि
आकाशबाट झरेको कुहिरो—
गुप्त सूचनाको कुहिरो ।।
तर तेहरान चुपचाप रहेन,
उसले चिनियाँ उपग्रह हेरेर भन्यो—
“अब बाटो पूर्वबाट खुल्छ,
जसले आत्मनिर्भरता होइन,
डिजिटल सुरक्षा ल्याउनेछ ।”
बाइडु आयो, जिपिएस बिर्सियो,
र एउटा युगको नक्शा पल्टियो ।।
ग्लोनासले दस्तक दियो,
ग्यालिलियोले स्वर गुनगुनायो,
सार्वभौम निर्णयहरूको युग फेरियो,
सिग्नल अब स्वतन्त्रताको प्रतीक बन्यो—
जहाँ निर्णय आफ्नै मस्तिष्कमा हुन्छ,
अरूको उपग्रहमा होइन ।।
डिजिटल उपनिवेशले जन्माएको क्रान्ति,
अब लडाइँ केवल सीमानामा होइन,
मोबाइल एपमा,
क्लाउड सर्भरमा,
तपाईंको सन्देशमा,
एउटा क्लिकमा तय हुने
राष्ट्रिय भविष्यमा ।।
इरानले घोषणा गर्यो—
“ह्वाट्सएप हटाऊ, इन्ट्रानेट बनाऊ,
अधिकार आफ्नै सञ्जालमा लेख ।”
र चीनले भन्यो—
“बिआरआई केवल रेल होइन,
यो त वैकल्पिक विश्व व्यवस्था हो,
जहाँ ‘बेल्ट’ विचार हो,
र ‘रोड’ विश्वास ।”
प्रविधिमा शीतयुद्ध भर्खर सुरु भएको हो,
जहाँ हरेक प्रणालीसँग गन्ध छ—
राजनीतिक आस्था,
सामरिक स्वार्थ,
र एक अघोषित गठबन्धन ।।
अब राष्ट्रहरू सिग्नलको गुणभन्दा
सन्देशको ‘स्वामित्व’ हेर्दै छन्,
नेभिगेसनभन्दा निष्ठा रोज्दै छन्,
डेटा भन्दा चेतना जोगाउँदै छन् ।।
नयाँ युग आउँदैछ,
जहाँ युद्धले गोली होइन,
कोड लेख्नेछ—
र कवच,
एउटा ‘फायरवाल’ हुनेछ ।।
प्रतिक्रिया