युद्धकविता: कूटनीतिक युद्ध”
तोमनाथ उप्रेती
अक्षरहरूले चलाउँछन् सेना,
कागजमै बन्छन् गोली र गडा।
न त बारुदको गन्ध, न रगतको छाया,
तर अर्थतन्त्रको शिरमै बज्छ कडा।
भारतले भनेको छ— “हामी झुक्दैनौं”,
मोदीको भाषामा गुञ्जिन्छ राष्ट्रको घमण्ड।
“हामी तेल किन्छौं, जनताको लागि,
तिमी किन रूसी ग्यास जलाउँछौं भने मौन?”
अमेरिकाले चलायो भन्सारको हतियार,
ट्रम्पको हस्ताक्षरमा उड्छ ८१ अर्बको व्यापार।
तर भारतले गुमायो होइन,
गनगनाउँदै चीनको द्वार।
गलवानको छायाँ अझै हराएको छैन,
त्यसको रेखा अझै सम्झनामा टाँसिएको छ।
तर आजको मुस्कान—कूटनीतिक दाउ,
चीन र भारत एउटै टेबलमा, एकै छायाँमा साउ।
ब्रिक्सको स्वर गुञ्जियो गहिरो,
रुस, भारत, ब्राजिलको एकता फेरि बलियो।
ट्रम्पको कर नीति—नराम्रो सपना,
तर सपना कहिले डरायो र सम्राटहरूलाई?
अमेरिकाले भनेको—“तिमी तेल किन्छौ,
त्यसैले हामी कर लगाउँछौं।”
भारतको जवाफ—“तिमी पनि किन्छौ,
हामी त केवल पेट चुल्हो जोगाउँछौं।”
युद्धको स्वरूप फेरिएको छ आज,
जहाँ गोली होइन, कर नीतिले गर्छ आघात।
जहाँ राजदूतहरू सैनिकझैँ बन्छन्,
र सम्मेलनहरू युद्धभूमि सावित हुन्छन्।
कूटनीतिक खतराहरू, आर्थिक वार,
एक देशको स्वाभिमान अर्कोको बजार।
तर जब आत्मसम्मान तौलिन्छ डलरमा,
त्यो युद्ध हो—कविता होइन।
शब्दमा शान्ति खोज्नेहरू थाकेका छन्,
कूटनीतिमा बारुदको गन्ध भरिएको छ।
र मोदीको पाइला चीन पुग्दैछ—
जसरी कुनै सैनिक पुग्छ अग्रपंक्तिमा।
हिजोको गलवान, आजको भन्सार,
भोलिको भविष्य कहाँ पुग्ने हो पार?
तर एउटा कुरा छ—
यो युद्ध साँचो हो,
र यसमा सिपाही—कविता पनि हो।
प्रतिक्रिया