नदीहरूको नाद
तोमनाथ उप्रेती
बिरिङको बतास झैँ,
बक्राहाका छालहरू फुसफुसाउँछन् –
“हामी पानी होइनौं,
हामी सपना हौँ, पसिनाका गीत हौँ।”
बक्राहाको छालमा सूर्य झल्किँदा,
सुनका सिक्काजस्तै चम्किन्छन् खेतका पातहरू,
किसानका हाँसो, बालबालिकाको हर्ष,
ती सबै नदीसँगै बग्छ, नदीसँगै हाँस्छ।
कहिले शान्त, कहिले उग्र,
बक्राहा भन्छ –
“म आकाशको आँसु बोकेर आउँछु,
तर माटोलाई मल दिने वाचा गर्दै बग्छु।”
बुढीगङ्गाको कलकलमा गीत हुन्छ,
कहिले आक्रोशको हुंकार, कहिले करुणाको सुस्केरा,
खेतहरूमा हरियाली, उखुबारीमा मिठास,
यी सबै बुढीगङ्गाका धुनहरू हुन्।
बुढीगङ्गा सम्झाउँछे –
“जीवन सधैँ शान्त हुँदैन,
तर हरेक बहावपछि हरियाली फर्कन्छ।”
चिसाङको कञ्चन पानीमा,
बालबालिकाहरूको हाँसो खेल्छ,
माटोको गन्ध आत्मामा मिसिन्छ,
धानका बाला हल्लिँदा सूर्यको झिल्को चम्किन्छ।
चिसाङ भन्छ –
“म शीतलता पनि हुँ,
र संघर्षको पाठ पनि।”
रतुवाको छालमा सूर्यास्तमा सुनौलोपन नाच्छ,
बालबालिकाहरू छालसँगै हाँस्दै भन्छन् –
“हेर, पानीमा घाम छ।”
तर जब बादल फुट्छ,
रतुवा आक्रोशका साथ बग्छ,
माटोलाई मल बनाउँदै, आशाका बीउ रोप्दै।
मावा, लोहन्द्रा, सिता, डाँस, सिङ्गयाही –
यी खोलाहरू मोरङका मुटु हुन्,
जसले माटोलाई हरियालीको कविता लेखेर फर्काउँछन्।
मावा भन्छ –
“म मौन धुन हुँ, किसानको थकान पखाल्ने आँचल हुँ।”
लोहन्द्रा भन्छ –
“म पसिनालाई रसमा बदल्ने सृजनाको स्पर्श हुँ।”
सिता भन्छे –
“म करुणा र प्रेमका कथा बगाउँछु।”
डाँस भन्छ –
“म हरियालीको गीत गाउँछु।”
सिङ्गयाही भन्छ –
“म खेतहरूमा आशाको रङ पोत्छु।”
यी खोलाहरूको हरेक छालमा
पसिनाको गन्ध, आँशुका कण र मुस्कानका चमक मिसिन्छन्।
यी खोलाहरू बगिरहून् –
किनकि तिनको बगाइमै मोरङको आत्मा बाँच्दछ।
जब बिहानको घामले यी खोलामा झिलमिल पार्छ,
त्यो दृश्य सौन्दर्य होइन,
त्यो किसानको आत्माको मुस्कान हो।
यी खोलाहरूका किनारमा बालबालिकाहरूको हाँसो मिसिन्छ,
युवाहरूका सपना फुसफुसाउँछन्,
आमाहरूको प्रार्थना बग्छ।
यी खोलाहरू सिकाउँछन् –
“जीवन पनि नदीझैँ हो,
कहिले शान्त, कहिले उग्र,
तर सधैँ बग्दै जाने।”
यी खोलाहरू मोरङका धड्कन हुन्,
जुनले माटो मात्र होइन, आत्मालाई पनि सिँचाइ गर्छन्,
जुनले पसिना मात्र होइन, सपना पनि बगाउँछन्,
जुनले आशाका बिरुवा उमारी, हरियालीको सङ्गीत बनाउँछन्।
जब सूर्य अस्ताउँछ, खोलाहरू सुनौलो हुन्छन्,
त्यो सुनौलोपन जीवनका उकाली–ओरालीहरूको स्मृति हो।
जब बादल गर्जन्छ, खोलाहरू गर्जन्छन्,
त्यो गर्जन आकाशको होइन, आत्मबलको घोषणा हो।
यी खोलाहरूमा नीलो नाद छ,
जसले मोरङलाई आत्मनिर्भरता, करुणा र कर्मको गीत सुनाउँछ।
यी खोलाहरू बगिरहून् –
किनकि तिनको बगाइमै मोरङको उज्यालो, शान्ति र भविष्य सुरक्षित छ।
प्रतिक्रिया