logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • बाढीको प्रवाहमा चिच्याइरहेका सपनाहरू

    बाढीको प्रवाहमा चिच्याइरहेका सपनाहरू

    बाढीको प्रवाहमा चिच्याइरहेका सपनाहरू

     

    तोमनाथ उप्रेती

    सुन,
    यी बादलका गर्जनहरू
    केवल आकाशका बाजा होइनन्,
    यी पृथ्वीका करुण क्रन्दन हुन्—
    आकाश आँसु चुहाउँदैछ,
    तर धर्तीका छाताहरू
    फाटेका छन्, रित्तिएका छन्,
    किनकि हाम्रो लालचले खोलेको
    नदीका पेटहरू भोकाएका छन्।

    पानीले पखाल्छ भित्ताहरू,
    घरहरू बगाउँछ,
    पानीले धोइदिन्छ पर्खालहरूमा टाँसिएका
    हाम्रा सपनाहरूका पोस्टरहरू।
    हिउँदे रित्तापनमा
    पानीका निम्ति देवदेवी पुज्नेहरू,
    आज बाढीका छालसँग लड्दै
    सडकमा चिच्याइरहेका छन्—
    ‘हे आकाश, अब रोकिनुहोस्!’।

    के यो केवल पानीको दोष हो?
    हाम्रो हातले खोसेको नदीको बाटो,
    हाम्रो नङ्गाले कोट्याएको हरियाली,
    र हाम्रै आँखा चिम्लेर हेरेको अपराधको परिणाम हो।
    हामीले बिर्स्यौं,
    नदीका किनारमा उभिएका वृक्षहरू पनि
    नदीका संरक्षक थिए,
    हामीले ढाल्यौं,
    फाँटहरू भत्काएर कंक्रीट रोप्यौं,
    पानीले ती कंक्रीटका बोटहरू बगाएर लगे।

    बाढी केवल पानीको आवेग होइन,
    यो हाम्रो स्वार्थ र लापरबाहीको प्रतिविम्ब हो,
    यो हाम्रो ‘कानमा तेल हाल्ने’ संस्कारको दर्पण हो।
    हामी विपद्को प्रतीक्षा गर्दै बस्छौं,
    र विपद्को लास उठाउँछौं,
    त्यसपछि समाचार लेख्छौं, आँसु झार्छौं,
    तर फेरि नयाँ विपद्का लागि बाटो बनाउँछौं।

    हे आकाश,
    हामीलाई चेतना देऊ,
    ताकि हामी हाम्रै हातले उत्खनन गरेका
    दुःखका खाल्डाहरू पुर्न सकौं।
    हे धर्ती,
    हाम्रो पदचापका घाउहरू निको गरिदेऊ।
    हे पानी,
    हाम्रो आत्मा शुद्ध पार,
    हाम्रो स्वार्थ बगाइदे,
    तर हाम्रो घर होइन, हाम्रो जीवन होइन।

    यो समय हो,
    बाढीको लहरसँग लड्ने होइन,
    बाढी आउने बाटाहरू बन्द गर्ने,
    पानीसँग मित्रता गर्ने,
    वनसँग सन्धि गर्ने,
    र प्रकृतिसँग फेरि सन्तुलन साध्ने।

    किनकि हरेक बाढीमा
    हाम्रा सपना चिच्याइरहेका छन्,
    र हरेक पहिरोमा
    हाम्रो भविष्य पुरिँदैछ।
    हामीले प्रकृतिलाई पिउने होइन,
    प्रकृतिसँग बाँच्न सिक्नुपर्ने समय आएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ९, बिहीबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP