फरहदवाका खरानीमा (व्यंग्य कविता)
तोमनाथ उप्रेती
ध्वंसका देवता हाँसिरहेका थिए
हासो होइन, त्यो सरकारी विज्ञप्ति थियो
न्यायका देवदूतहरू निदाइरहेका थिए
निद्रा होइन—ड्युटी अफ थियो।
बारुदको वर्षामा बाँचेका हामी
कानका प्वालहरूमा न्याय हाल्न खोज्यौँ
तर त्यहाँ त आदेशपत्र अड्किएको रहेछ
“नसुनिने व्यवस्था कार्यान्वयनमा छ।”
फरहदवाका खरानीमा फूल फुल्यो
तर त्यो फूल गुलाब थिएन
त्यो शहीदको फाइलमा टाँसिएको रातो स्टिकर थियो।
सुगन्ध होइन,
केस नम्बर निस्किन्थ्यो।
खतै–खतको किताब बोकेर
गौरीशंकर काठमाडौँका काठका सडकमा हिंड्यो
जहाँ सडक काठको थियो
तर राज्य काठभन्दा कडा।
बम पड्कियो
अदालतले भन्यो
“ध्वनि प्रमाणित भएन।”
लासहरू कब्रबाट उठे
कसम खाए
“हामी बाँचिरहेका छौँ
तर कानुनी रूपमा मृत।”
न्यायका नाममा ‘न्याय’ पक्राउ पर्यो
हतकडी लगाइयो
तर ऊ भागेर
पीडितको रगतमा लुकेर बस्यो
किनकि त्यहाँ मात्रै
राज्यको पहुँच थिएन।
म बारुदको ब्रह्मास्त्रको छिटाबाट जन्मिएको,
सरकारी मौनताको गर्भबाट निस्किएको,
कफनलाई कम्बल बनाउने
र जीवितै गाडिन अभ्यास गर्ने नागरिक।
“घाउ त निको भयो,”
रिपोर्ट लेखियो
तर आत्माको चोट
आज पनि संसदको छतमाथि
साइरन बजाइरहेछ।
शरीरका खतहरू
कपालको जरा झैँ हराए
विवेकका काँडाहरू
आज पनि न्यायको तकियामुनि घोचिरहेका छन्।
न्यायका देवता
मोबाइल साइलेंटमा राखेर सुते
म कानविहीन भएर पनि
उनको निद्रा बिगार्न आएको छु
किनकि निद्रा नै अपराध बनेको छ।
म हाँसेँ
कान नभएको मान्छेले
आज कानुनकै कान फुटेको देख्यो।
बारुदमा नुहाएर
बलिदानको भीडमा हराएर
भयको भेलमा बगेर
भिक्षुक बनेर पनि
“बाँचौँ” भन्न खोज्दा
न्यायको नाममा
न्यस्त गरियो।
हे परम आत्मा
म युद्धको यो विकलांग सत्य बोकेर
तिम्रो आँगनमा आएको छु
यहाँ देवता पनि
कार्यालय समय हेरेर करुणा गर्छन्।
ती रक्तरञ्जित रातहरूमा
जब म पोखरीमा हाम्फालेँ
पानीले शरीरको आगो निभायो
तर आत्माको आगो
अझै सरकारी कागजमा जलिरहेको छ।
धन, दण्ड, दरबार
सबै मौसमी बजेट हुन्
तर घाइतेका खतहरू
अमर संविधान हुन्।
यी खतहरूले कथा भन्छन्
कसरी युद्धले
शिशुहरूको हाँसो अपहरण गर्यो
आमाको मायालाई
राखको थैली बनायो
र न्यायको नाममा
अन्यायको महोत्सव मनाइयो।
म गौरीशंकर
न कान छ
न पूर्ण शान्ति
तर पीडाले आँखा पाएको छ
र न्यायको जूनलाई
घाउले हेर्दैछ।
समाजका सुप्त आत्मा
तिमी कहिले ब्युझिन्छौ?
कि अदालतले अलार्म नलगाएसम्म
तिमी पनि सुतिरहन्छौ?
जब अन्यायलाई
न्याय भनेर पास गरिन्छ
त्यतिबेला मेरा खतहरू
कानुनका पन्नाहरू च्यात्दै
हावामा फर्फराइरहेका हुन्छन्।
हे समयका सत्य साक्षी
म हाँसीरहेछु
व्यंग्य होइन
यो आत्मरक्षा हो।
किनकि युद्धका घाउ
निको हुन सक्छन्
तर अन्यायका घाउ
मलम होइन
उत्तर माग्छन्।
सत्यको
न्यायको
करुणाको
यसैले लेख्छु
खतहरू कविता हुन्
रगतका अक्षरमा।
हावा चलिरहेछ
शब्द धारिला भइरहेछन्
र यो घाउ–गीत
भविष्यलाई घोच्दै भन्छ
न्याय बिना शान्ति हुँदैन
शान्ति बिना समाज हुँदैन
र समाज बिना
देवताहरू पनि बेरोजगार हुन्छन्।
प्रतिक्रिया