logo
  • २०८३ असार ६ | Sat, 20 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

      

    तोमनाथ उप्रेती

     

    १.
    धर्मको नाममा
    रगत बग्ने पूजा
    करुणा रोयो।

    २.
    देवता चुप छन्
    मानिसले चिच्यायो
    छुरीको भाषा।

    ३.
    बलिको रातमा
    आँखा भिज्छन् मौनले
    धूप र रगत।

    ४.
    पशु काँपिरह्यो
    मानव हाँस्यो उता
    धर्म हरायो।

    ५.
    अहिंसा भन्यो
    शास्त्रले बारम्बार
    हामी बहिरा।

    ६.
    मन्दिरभित्र
    करुणा बाहिर रोयो
    कस्तो पूजा यो?

    ७.
    देवीलाई के
    रगत चाहिन्छ र?
    मन किन अन्धो?

    ८.
    संस्कार भन्दै
    हिंसाको पुनरावृत्ति
    अज्ञान गहिरो।

    ९.
    बालकले सोध्यो
    “किन मार्छौं पूजा?”
    उत्तर मौन।

    १०.
    रगतले भिज्यो
    धर्मको सेतो वस्त्र
    कलंक गहिरो।

    ११.
    भयको पूजा
    भक्तिको होइन यो
    अन्धविश्वास।

    १२.
    लोभ र क्रोधको
    बलि दिनु पर्ने थियो
    बोका किन मरे?

    १३.
    देवता करुणा
    मानव हिंस्र बन्यो
    विपर्यास यो।

    १४.
    बलि चढाउँदै
    आत्मा नै काटियो
    चेतना मर्छ।

    १५.
    परम्परा भन्दै
    क्रूरता जोगाइयो
    विवेक हरायो।

    १६.
    रगतको गन्ध
    धूपसँग मिसिँदा
    धर्म लजायो।

    १७.
    पशुका आँखा
    अन्तिम प्रश्न जस्तै
    मानव चुप।

    १८.
    संस्कार होइन,
    यो त मौन अपराध
    समाज दोषी।

    १९.
    करुणा मरेर
    कसरी धर्म बाँच्यो?
    प्रश्न अनुत्तर।

    २०.
    बलि अन्त्य गर
    मनभित्रको अन्धकार
    त्यही चढाऊ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार ६, शनिबार १८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP