logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • विश्व मानव कल्याण र सेवाका प्रणेता गुरुजी श्री मंगलदास महाराज

    विश्व मानव कल्याण र सेवाका प्रणेता गुरुजी श्री मंगलदास महाराज

     

     

     

                                                                            तोमनाथ उप्रेती

    गुरुजी श्री मंगलदास महाराज एक यस्ता आध्यात्मिक विभूति हुन्, जसले मानवता, सेवा र करुणाको मार्गदर्शन गर्दै विश्वभरि नै शान्ति र कल्याणको सन्देश फैलाउनुभएको छ। उहाँको जीवन स्वयं एक प्रेरणा हो—जहाँ स्वार्थभन्दा माथि उठेर परमार्थको भावनाले जीवन व्यतीत गरिएको छ। उहाँले “सेवा नै धर्म हो” भन्ने विचारलाई व्यवहारमा उतार्नुभयो।गुरूजीले जात, धर्म, सम्प्रदायभन्दा पर मानवीय मूल्य र नैतिकताको संरक्षण गर्दै समाजमा सदाचार, सहिष्णुता र सद्भावको बीज रोप्नुभयो। उहाँका प्रवचनहरूमा आध्यात्मिक गहिराइ मात्र होइन, व्यावहारिक जीवनका लागि अमूल्य मार्गनिर्देशन पाइन्छ।

    ससारमा समय समयमा मानव कल्याण र न्यायका प्रतिमुर्तिहरु जन्मने गर्दछन् ।गुरुजी श्री मंगलदास महाराजको जन्म वि.सं गुरुजी श्री १०८ मंगलदासजी महाराज विसं १९५३ साल (१८९६ ई.) मा नेपालको पूर्वी जिल्ला इलाम मेलबोटेमा माता नरमदा बाई र पिता कल्याण दास सापकोटा को पहिलो सन्तानको रूपमा जन्मनुभएको थियो। उहाँ सामान्य परिवारको पृष्ठभूमिबाट आएका थिए, तर उहाँको धार्मिक, समाजिक र साहित्यिक योगदान अत्यन्तै असाधारण रहेको छ।                                                                                   Shree Mangal Dash Guruji

    तिनताका नेपाल र भारतका विभिन्न भागमा प्रणामी धर्मको प्रचारहुँदै थियो । यस्ता प्रचारकमा श्री पीताम्बरदास महाराज, श्रीदयालदास महाराज, श्री रंगीदास महाराज आदि अग्रगण्य विद्वान्हुनुहुन्थ्यो । काठमाडौँ भइँमालका पं. गोवर्धन सञ्जेल पनि धर्मप्रचारमा सम्मिलित हुनुहुन्थ्यो । गुरुजीको उमेर डेढ वर्षको भएपछि कल्याणदासजी नेपालबाट बसाइँ सरेर सपरिवार आसाम पुग्नुभयो। त्यहाँ गुरु पीताम्बरदासजीसँग भेट भयो। आसाम रांशालीमागुरुजी सपरिवार निजानन्द धर्ममा दीक्षित हुनुभयो ।त्यसपछि थप शिक्षा लिन भारतको विभिन्न स्थलहरूमा अध्ययन गर्नुभयो। भारतका प्रमुख तीर्थस्थलहरूमा पदयात्रा  गरेपछि उहाँ हरिद्वार पुग्नु भयो र गंगा नदीको किनारामा ध्यान गरेर ब्रह्मज्ञान प्राप्त गर्नुभयो। उहाँको ध्यान र साधनाले उहाँलाई आत्मज्ञान र प्रेरणा प्राप्त गरायो र त्यसपछि उहाँ नेपाल फर्केर जनचेतना फैलाउन र समाज सेवा गर्न थाल्नु भयो ।

    महामती प्रणनाथजी द्वारा प्रतिपादित धार्मिक समन्वय, अहिंसा, करुणा र अन्य धार्मिक सेवाका सिद्धान्तलाई अनुशरण गर्दै गुरुजी मंगलदासजीले “सेवा नै धर्म हो“ भन्ने भनाइलाई व्यावहारिक रुपमा वास्तविकता बनाएर अनाथाश्रम, वृद्धाश्रम, अस्पताल, विद्यालय, औषधि पसलहरू स्थापना गर्नुभयो। उहाँले साहित्यिक लेखन र प्रकाशनका विभिन्न कार्यहरू पनि सम्पन्न गर्नुभयो। गुरुजी मंगलदासजीले पश्चिम बंगालको दार्जिलिङ, कालिम्पोङ, सिलिगुरी, सिक्किम र नेपालका पूर्वी भागमा कार्य गरे। उहाँ ८९ वर्षको उमेरमा विसं २०४२ साल (१९८५ ई.) मा दिवंगत हुनुभयो। भारतको कालिम्पोङमा मंगल स्मृति मङ्गलधामको स्थापना भएको छ, जुन अहिले पर्यटकीय स्थलको रूपमा प्रख्यात छ ।

     

    गुरुजी श्री मंगलदास महाराजको बाल्यकाल अत्यन्त साधनशील र आध्यात्मिक मार्गप्रति समर्पित रह्यो। पाँच वर्षको उमेरमा अक्षरारम्भ भएपछि सात वर्षमा यज्ञोपवित संस्कार सम्पन्न भयो। पिता कल्याणदासको वि.सं. १९५८ मा निधनपछि परिवारले कठिन समयको सामना गर्दै पन्ना धाम पुग्यो।

    १२ वर्षको उमेरमा श्री रंगीदास महाराजसँग पद्मवतीपुरी धाम गइ वैराग्य व्रत लिनुभयो। त्यसपछि मेहेर्दास, पीताम्बरदास, धनिदास, सुखलालजस्ता महान् गुरुहरूसँग तारतम वाणी र आध्यात्मिक शिक्षाको गहिरो अध्ययन गर्नुभयो।

    १५ देखि ३९ वर्षसम्म विभिन्न तीर्थयात्रा, मन्दिर सेवा, र ब्रह्मज्ञान साधनामा लागिरहनुभयो। विशेष रूपमा नागौर, मेटा, बहावलनगर, अंबाला, वालसाद आदि स्थानमा मन्दिरको जीर्णोद्धार र सेवा गर्नुभयो।

    चारधाम यात्राबाट फर्किएपछि हरिद्वारको गंगातटमा ब्रह्मज्ञान प्राप्त गर्नुभयो। ४० वर्षको उमेरमा नेपाल आइ इच्छे शिवालयमा विजय प्राप्त गर्दै धर्मको प्रचार गर्न थाल्नुभयो।

    १९४० ई. मा ४४ वर्षको उमेरमा कालिम्पोङ बजारमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरेर जनचेतना अभियान सुरु गर्नुभयो। जीवनभर धार्मिक सेवा, वाणी प्रचार, संस्थागत विकास, र समाज upliftment मा समर्पित रहनुभयो।

    सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि  माताजीसँगै ब्रह्मचारी मंगलदास मातृ भूमि नेपालमा फर्किनुभयो । केही समय नेपालमा रहेर कालिम्पोङ् इच्छे वस्तीमा माताजी राजबाईलाई भेट्न जानुभयो । पुनः सूरत फर्केर गणदेवी, वलसाड, अंबाला, बहावलनगर, नागौर आदि नगरका प्रणामी मन्दिरमा पुजारीको रूपमा रहनुभयो । पछि मेडतामा पुगेर वि.सं. १७३१ देखि रेखदेख नगरिएको मन्दिरको जीर्णोद्धार गर्नुभयो । त्यहाँबाट ब्रह्यचारी मंगलले बनारस र चारै धामको पैदल यात्रा गर्नुभयो । हरिद्वार पुगेर गंगा किनारमा दिगम्बर वेशमा रहनुभयो । त्यहाँ रहँदा उहाँलाई भारतको पूर्वोत्तर दिशामा गएर जागनी गराउने प्रेरणा मिल्यो । हरिद्वारमै उहाँकी माताजीसँग भेट भयो । त्यहाँबाट दुवैजना पन्ना धाम जानुभयो । पन्नाबाट नेपाल हुँदै उहाँहरू कालिम्पोङको इच्छे वस्ती पुगो र कृष्ण प्रणामी मन्दिर सम्हाल्नु भयो ।

    मंगलदास गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। उहाँले दार्जीलिङ, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर धर्म प्रचार गर्नुभयो । कालिम्पोङ् बजारमा मन्दिर स्थापना गर्नुभयो । मंगल गुरुजीले अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले वि.सं. २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिर’को स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्य हेतु भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालि’ र ‘आत्म सोपान’ नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।

    गुरुजी श्री मंगलदास महाराजले वि.सं. २०२२ मा सिलिगुडीमा मन्दिर स्थापना गरी धार्मिक मेला र सेवा कार्यको परम्परा सुरु गर्नुभयो। त्यहाँबाट अनाथ आश्रम, विद्यालय, धर्मशाला, अस्पताल, गौशाला लगायत सेवा कार्य विस्तार गर्दै समाज upliftment मा समर्पित रहनुभयो। वि.सं. २०२५ मा नेपालका पूर्वी भूभागहरूमा धर्म प्रचार गर्नुभयो।

    गुरुजीले हजारौँ शिष्यहरू तयार पार्नुभयो, जसमा पं. हिमकर शास्त्री, पं. भवानी शंकर, श्री माणिकदास आदि प्रमुख प्रचारक थिए। उहाँले प्रभावती बाई, वसन्त प्रभा, मीरा बाईजस्ता महिला प्रचारिकाहरूलाई व्यासासनमा स्थान दिँदै नारी सशक्तीकरणमा ठूलो योगदान गर्नुभयो।

    वि.सं. २०२९ मा गुरुजी प्रणामी मिसन ट्रष्ट स्थापना गरी “तुम प्रेम सेवासे पाओगे पार” सन्देशलाई समाजमा फैलाउनुभयो। वि.सं. २०३५ मा इटहरीमा श्रीकृष्ण प्रणामी मुक्ति धाम तथा भारतको पन्नामा धर्मशाला स्थापना गर्नुभयो। वि.सं. २०३८ मा १०८ पारायण गराइयो भने २०३९ मा ‘राजविद्या’ नामक पत्रिका सुरु गर्नुभयो।

    जातपात, छुवाछुत र पशुबलिको विरोध गर्दै समानता, सेवा र आध्यात्मिक शिक्षाको जग बसाउनुभयो। उहाँको जीवन मानव कल्याण, शिक्षा, धर्म प्रचार, सामाजिक सुधार र परोपकारको आदर्श उदाहरण हो।

    उहाँले आत्म सोपान, प्रार्थना पुष्पाञ्जली, अन्तर्दूष्टि, मंगलसुक्ति र अन्य धार्मिक कृतिहरूकोरचना गर्नुभएको छ। ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर निर्माण भएका छन् । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ। उहाँको यश युग युगसम्म फैलिरहनेछ । गुरुजी श्री मंगलदास महाराज सच्चा अर्थमा विश्व मानव कल्याण र सेवाका शुत्रधार हुनुहुन्छ, जसको शिक्षाले हामीलाई आत्मा, समाज र सम्पूर्ण सृष्टिको लागि केही दिने प्रेरणा दिन्छ।

    अन्त्यमा, नेपाल सरकार हुलाक सेवा विभागले गुरुजी मंगलदासजीको सम्मानमा समर्पित विशेष हुलाक टिकट समेत प्रकाशित गरी गुरुजीको योगदानको उच्च कदर  गरेको छ।महान विचारक , दार्शनिक, सुधारक, मानव कल्याण ,सेवा , प्रेम र न्यायका धरोहर गुरुजीको कालजयी जीवनपद्धतिबाट पाठ सिकेर अध्यात्मिक चेतनाको विजारेपणगरी जीवन मंगलमय बनाउन सकिन्छ । १२ बर्षको उमेरमा बैराग्य भेष, २० बर्षको उमेरबाट अन्न र नुन त्यागेर फलफुल, दुबोको रस जस्ता बनस्पति जन्य सात्विक आहार सेवन गरि नेपाल भारतमा गरेर बिसौं मन्दिरको स्थापना, अनाथालय, बृद्दाश्रम, आधा दर्जन शैक्षिक सँस्थान, अस्पताल, पुस्तकालय, गौशाला, धर्मशाला, अनेकौं साहित्य प्रकाशन, चारवटा अन्तराष्ट्रिय स्तरका आध्यात्मिक सँस्थाको स्थापना र सञ्चालन गर्दै करिव ८५ बर्षको सार्थक अनुकरणीय जीवनका प्रेरणाका श्रोत परमहंस ब्रह्मलिन १०८ गुरुजीको स्मृतिमा गुरुजी प्रति सादर नमन् प्रणाम ।।

    ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख २६, शुक्रबार २०:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP