logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • आधुनिक सोच र परम्परा बीचको टकराव: पशुबलि प्रथा

    आधुनिक सोच र परम्परा बीचको टकराव: पशुबलि प्रथा

    तोमनाथ उप्रेती: पशुबलि प्रथा नेपाल तथा दक्षिण एसियाका विभिन्न भागहरूमा पुरातनकालदेखि प्रचलित धार्मिक संस्कारको हिस्सा हो। विशेष गरी हिन्दू धर्ममा देवी-देवताहरुलाई रिझाउन बाख्रा, राँगो, कुखुरा आदि जनावरहरूको बलि दिइन्छ। धार्मिक विश्वास अनुसार यस्तो बलिदानले देवीलाई प्रसन्न पार्ने विश्वास गरिन्छ। तर, आधुनिक सोच र वैज्ञानिक दृष्टिकोणले यसलाई अन्धविश्वास, क्रूरता र अमानवीय व्यवहारको रूपमा लिन्छ। पशुबलि प्रथा नेपालको केही धार्मिक र सांस्कृतिक परम्परामा जरा गाडेको परम्परा हो। विशेष गरी दुर्गा पूजा, गढीमाई मेला जस्ता पर्वहरूमा देवीलाई खुसी पार्नका लागि जनावरहरू—बाख्रा, राँगो, कुखुरा आदि—बलि दिइने चलन छ। यो प्रथा कतिपयले श्रद्धा र परम्पराको प्रतीक माने पनि, आजको सन्दर्भमा यसलाई अन्धविश्वास र क्रूर परम्पराको रूपमा हेर्न थालिएको छ।

    आजको शिक्षित पुस्ता, विशेष गरी युवाहरूले पशुबलिको विरोध गर्न थालेका छन्। उनीहरूको धारणा छ कि साँचो धर्मले हिंसा होइन, अहिंसा, प्रेम र करुणालाई प्राथमिकता दिनुपर्छ। पशुबलि जस्ता प्रथाले धर्मको सही मर्मलाई ओझेलमा पार्छ र हिंसालाई वैधता दिन्छ। साथै, बालबालिकामा हिंसात्मक दृश्यले नकारात्मक मानसिक प्रभाव पार्न सक्छ।

    परम्परालाई पूर्ण रूपमा अस्वीकार गर्नु आवश्यक छैन, तर समय अनुसार सुधार र परिष्कार चाहिन्छ। धर्म संस्कार हो, तर संस्कारले सदाचार सिकाउनुपर्छ। केही मन्दिरहरूले बलिप्रथा हटाउने निर्णय लिएका छन्, जुन सकारात्मक परिवर्तनको संकेत हो।साँचो धार्मिकता करुणा, सद्भाव र विवेकमा आधारित हुनुपर्छ, न कि रगत र पीडामा। पशुबलिको विकल्पमा फलफूल, नाडा, पुष्प वा प्रतीकात्मक अर्पण जस्ता वैकल्पिक अभ्यासहरूलाई प्रोत्साहन दिनु आजको समयको आवश्यकता हो।धर्मको नाममा निर्दोष जनावरको हत्या गर्नु मानवता र करुणाविरुद्धको कार्य हो। कुनै पनि देवी-देवताले हिंसा होइन, प्रेम र अहिंसालाई महत्व दिने कुरा धर्मग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। पशुबलि जस्ता हिंसात्मक प्रथाहरूले साँचो धर्मको मर्मलाई बुझ्न नदिई अन्धविश्वास फैलाउँछ।शिक्षा, चेतना र वैज्ञानिक सोचको विकाससँगै समाजमा यस्ता प्रथाहरूको आलोचना बढ्दो छ। केही मन्दिरहरूले बलिप्रथा बन्द पनि गरेका छन्, जुन सकारात्मक संकेत हो। धर्म र संस्कृति समयअनुसार परिष्कृत हुनुपर्छ, जसले करुणा, शान्ति र सदाचारलाई बढावा देओस्, न कि हिंसा र भयलाई।

    धर्म, आचार, विचार र संस्कारको समग्र रूप हो जसले मानिसको जीवनको दिशा निर्धारण गर्दछ। धर्म केवल विश्वास र आस्थाको मात्र विषय होइन, यसले मानव जीवनलाई सही मार्गमा लैजानका लागि आचार, विचार र व्यवहारका नियमहरू प्रस्तुत गर्दछ। प्रत्येक धर्मको आफ्नै विशेषताहरू छन् जसले समाजमा नैतिकता, सद्भाव र शान्तिको स्थापना गर्न मद्दत पुर्याउँछ।धर्मको आचार भनेको सही आचरण र व्यवहारको परिभाषा हो जसलाई समाजमा समर्पण र प्रेमको साथ पालन गर्नुपर्ने हुन्छ। विचार भनेको धर्मको सन्देश र शिक्षा हो जसले जीवनलाई अर्थपूर्ण बनाउँछ। संस्कार भनेको ती शिक्षाहरू र व्यवहारहरूको श्रृंखलाबद्ध अभ्यास हो जसले व्यक्ति र समाजलाई सद्गुण र नैतिकतामा उन्नति गराउँछ।

    नेपाल भगवान बुद्धको जन्मभूमि हो र अहिंसाको सन्देश दिन्छ, यहाँ धर्म र परम्पराको नाममा निर्दोष जनावरहरूको हत्या भइरहेको छ। हिन्दू धर्मका मूल शास्त्रहरूमा पशुबलिको समर्थन छैन र बलिप्रथा केवल दन्त्यकथामा आधारित छ। यस्ता कुरीतिहरू अन्धविश्वास र धर्मको गलत व्याख्याबाट उत्पन्न भएका हुन्। गढीमाई मेला, दशैंको बलि वा घर बनाउँदा दिइने बलि जस्ता प्रथाहरूलाई उदाहरण दिँदै लेखले संस्कार सुधारको आवश्यकता औंल्याएको छ। लेखले अहिंसा, करुणा, शाकाहार र योगमा आधारित जीवनलाई साँचो धार्मिकता मानेको छ र हिन्दू धर्मको नाममा फैलिएको भ्रम र कु–संस्कारलाई चुनौती दिएको छ।

    धर्मको साँचो अर्थ हिंसा, हत्या वा रगत चढाउनु होइन, बरु मन, वचन र कर्मबाट अहिंसा, दया, माया र आत्म–नियन्त्रण अभ्यास गर्नु हो। “बलि” को वास्तविक अर्थ हविष्यान्न, फलफूल आदि अर्पण गर्नु हो, न कि जनावरको वध। यद्यपि, समाजमा आज पनि देवदेवीको इच्छापूर्ति वा आशीर्वादका लागि पशुबलि दिने कुरीति प्रचलित छ, विशेष गरी दसैं, देवाली, र कुल पूजामा। अहिंसावादीहरूले फूलफूल अर्पण गरेर पूजा गर्छन्, तर बलिप्रथावादीहरूले परम्पराको नाममा निर्दोष जनावर मार्छन्, जसले धर्मको पवित्र मर्मलाई विगार्छ। यस्तो अभ्यास अमानवीय र असभ्य भएकोले यसको विरोध आवश्यक छ।

    बलि प्रथा समाजमा विद्यमान रहनुका मुख्य तीन कारण छन्। पहिलो कारण अन्धविश्वास हो, जसका अनुसार अवोध पशुको बलि दिँदा देवता खुशी हुन्छन् र इच्छाएँ पूरा हुन्छन्। यस अन्धविश्वासले कुप्रथाहरूको विकास र निरन्तरतामा योगदान पुर्याएको छ। दोस्रो कारण राज्यको प्रश्रय हो, जहाँ कुप्रथाहरूलाई परम्पराको नाममा समर्थन गरिन्छ। राज्यले बलि प्रथाको समाप्ति गर्ने सट्टा, विभिन्न शक्तिपीठहरूमा बलि चढाउनको लागि आर्थिक सहयोग दिन्छ, जसले कुप्रथालाई प्रोत्साहन गर्दछ। तेस्रो कारण धार्मिक व्यक्ति र संस्थाहरूको द्वन्द्व हो। केहि रुढिवादी धार्मिक व्यक्ति बलि प्रथालाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने आध्यात्मिक दृष्टिकोण राख्ने व्यक्तिहरू यसका विरोधमा उभिएका छन्। यसले समाजमा बलि प्रथाको अस्तित्वलाई थप जटिल बनाएको छ।अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र  कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ ,  हामिले श्रध्दा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामिलाई आशिरवाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्त्र र शक्ति साधना विस्वास  गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् । हो मासु खानैका लागि मात्र  मन्दिरमा लगेर परम्परा अनि श्रध्दा भक्तीका नाममा आडम्बरितामा बली पुजा गर्दै बोका काट्न लगायर मासु खानु   र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।

    हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो।

    तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ।

    सबै सन्दर्भको सार हो, हामी कमाउने नाउँमा, ज्यान हाल्ने नाममा, कतिपय ठाउँमा भगवानकै नाम लिएर प्राणीहत्या गरिरहेका छौँ र धर्मको खिल्लि उडाइरहेका छौँ। हामीलाई वर्षौँदेखी त्यस्तै चलन र स्वाद सिकाइयो। हामीलाई त्यही सही लाग्दै गयो। हामी स्वाद र चलनमा अल्मलिँदै गयौँ। तर थोरै प्रयास गर्ने हो भने हाम्रो सनातन करुण दर्शनको पालना हुनेछ। फेरि मासु नखाँदा शरीरलाई कुनै हानि छैन। विज्ञानले धेरै अघि प्रमाणित गरिसकेको छ कि वनस्पतिबाट प्रोटिन, भिटामिनलगायत आवश्यक तत्व वनस्पतिबाटै सम्भव छ।

    धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?

    पशुबलि प्रथा अन्त्य गर्न सांस्कृतिक पुनर्जागरण अभियान अत्यन्त आवश्यक छ। नेपालमा परम्पराको नाममा निर्दोष पशुको बलि दिइन्छ, जसले हिंसा, अमानवियता र संवेदनहीनता फैलाउँछ। जनचेतना अभिवृद्धि गरी धर्म र संस्कृतिको सही अर्थ बुझाउन विद्यालय, मठ–मन्दिर र समुदायमा धार्मिक शिक्षक, समाजसेवी र प्रबुद्ध व्यक्तिहरूको सहयोग आवश्यक छ। यो अभियानले अहिंसा, करुणा, र दया जस्ता मानवीय मूल्यहरूलाई प्रवर्द्धन गर्दै बलिप्रथा र अन्धविश्वास अन्त्यमा सहयोग पुर्‍याउनेछ। समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैको एकजुट प्रयास जरुरी छ। (उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख २५, बिहीबार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP