logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • कुर्सी (निबन्ध)

    कुर्सी (निबन्ध)

     

     

                                                                         कुर्सी (निबन्ध)

     

    तोमनाथ उप्रेती

     

    कुर्सी — एउटा सामान्य शब्द, तर असामान्य प्रभाव। यसको चारवटा खुट्टा भए पनि, देश हल्लाउने शक्ति हुन्छ यसमा। विशेषगरी नेपालजस्तो मुलुकमा त कुर्सी केवल बस्नका लागि होइन, शासन गर्न, निर्देशन दिन, लाभ उठाउन र कहिलेकाहीँ त लाज लुकाउनकै लागि पनि प्रयोग हुन्छ।

    कुर्सी आफैंले त केही गर्दैन, तर जसले यसमा बस्छ, उसले देशको दिशा बदल्न सक्छ – या बिनास तर्फ मोड्न पनि सक्छ। हामीले विगतमा देख्यौं, कुर्सीमा बसेका केही महानुभावले विकासको सपना बाँडे, आश्वासनको मुस्कान छरपस्ट पारे, तर काम भने केवल भाषण र हस्ताक्षरमा सीमित रह्यो।

    नेपालको राजनीति कुर्सीको अद्भुत लीलाभूमि हो । यहाँ कुर्सी त शासनको प्रतीक हैन, शानको प्रतीक हो । मन्त्री बस्ने कुर्सीमा बस्न पाउँदा ज्ञान, योग्यता, निष्ठा या जनताको भावना चाहिँदैन – चाहिन्छ त केवल गठबन्धनको अंकगणित, भागबण्डाको समीकरण र नेतृत्वको चाप्लुसीको प्रमाणपत्र । यहाँ कुर्सी केवल बस्नको साधन होइन, सत्ताको प्रतीक, सौदाबाजीको केन्द्र र स्वार्थको सिंहासन बनेको छ । कुर्सी प्राप्त गर्न नेताहरू सिद्धान्त, आदर्श र गठबन्धन सबै बेच्न तयार हुन्छन् । जनताको मतबाट होइन, चलाखी, गठजोड र चाकरीबाट कुर्सी जितिन्छ । कुर्सीमा बसेपछि त नेताहरू जनतालाई बिर्सन्छन् र आफ्ना निकटका मान्छेहरूलाई लाभ दिन व्यस्त हुन्छन् । यहाँ कुर्सी स्थिर छैन, घुमिरहन्छ । कुर्सी पाउने होडमा नीति होइन, नाटक र नाफाको राजनीति चल्छ ।

    यो कुर्सी आफैँमा महान् छ – किनभने यसले त काम नगर्नेहरूमार्फत नीति निर्माण गराउँछ । एक दिन कृषि मन्त्री बनेर खेतबारीको नास गर्ने योजना बनाइन्छ, अर्को दिन शिक्षा मन्त्री बनेर कागजका थोपा-थोपा अक्षरहरूमा भ्रष्टाचार पोखिन्छ । कुर्सीको योग्यता भनेकै विभागको विषयबारे जति थोरै थाहा, त्यति धेरै सम्भावना !

    नेपालको राजनीतिक कुर्सी अझै रोचक छ – यसले स्थायित्व मन पराउँदैन। हिजोको सत्ता आज विपक्षमा हुन्छ, र विपक्ष हिजोको सरकार बन्छ। कुर्सी यहाँ घडीको काँटा झैँ घुमिरहन्छ – कहिले नबुझिने गतिमा। कुर्सी प्राप्त गर्न यहाँ सिद्धान्त भन्दा पनि गठबन्धनको अंकगणित, चलाखी र चाकरी चाहिन्छ।

    कुर्सीमा बस्नेहरूका लागि कुर्सी “जनताको सेवा” गर्ने अवसर होइन, “अपनत्वको पुरस्कार” हुन्छ। उनीहरू कुर्सीमा बस्नासाथ जनता बिर्सन्छन्, आन्दोलनलाई ‘अराजकता’ भन्छन्, अनि आलोचकलाई ‘देशद्रोही’ । मन्त्रीहरूका कुर्सीमा कुर्सी मात्र होइन, बिर्सने बानी पनि गाडिएको हुन्छ – बाचा, संकल्प र घोषणाहरू सबै कुर्सीको गद्दाभित्रै हराउँछन्।यथार्थ के हो भने, कुर्सी स्वयं दोषी छैन। दोष त उसमा बस्नेहरूको नियत, दृष्टिकोण र इमानदारीको हो। कुर्सीलाई सेवा गर्ने थलो बनाउने कि स्वार्थको साधन बनाउने, त्यो निर्णय नेताहरूको चरित्रमा भर पर्छ।

    यदि कुर्सी जनताको विश्वासमा टिकेको हो भने त्यसले सदैव लोकहितको सेवा गर्नुपर्छ। तर जब कुर्सी सत्तालोलुपताको औजार बन्छ, तब त्यही कुर्सी जनताको शत्रु बनिदिन्छ।

    कुर्सी केवल एक सवारी हो – यात्रुको गन्तव्य भर पर्छ यात्रुको नियतमा। यदि कुर्सीमा बस्नेले देश र जनताको भलो सोच्यो भने त्यो कुर्सी देशको समृद्धिको सिँढी बन्न सक्छ। तर सत्ताको लालचले अन्धा बनेका नेताहरूका हातमा परेको कुर्सी भने देशलाई अन्धकारमै धकेल्छ।

    कुर्सीको रमाइलो कुरा के छ भने, यसले मानिसको बोली मात्र बदल्दैन, पूरा व्यक्तित्व नै रूपान्तरण गर्छ । जो मन्त्री होइन, ऊ “देश बदल्नुपर्छ” भन्दै भाषण गर्छ; तर कुर्सीमा बस्नेबित्तिकै “सब ठीकै छ” भन्ने मन्त्रजप सुरु हुन्छ । हिजो भोलि सुतेर उठ्न नसक्ने नेताजीहरू कुर्सीमा बस्नासाथ “व्यस्त” भएर जनताको फोन उठाउने समयसम्म निकाल्दैनन् ।

    अर्को कुरा, कुर्सी भनेको स्थिर वस्तु हो, तर नेपालमा यो चलायमान हुन्छ – ६ महिनामा घुम्छ, कहिले आफ्नै दलमा त कहिले विपक्षी गठबन्धनमा पुग्छ । नेपालको राजनीतिक कुर्सीमा टिक्न स्याल जस्तै चतुर हुनु आवश्यक छ । केवल जनताको समर्थनले पुग्दैन, रणनीति, छलकपट, र अवसरको सटीक प्रयोग गर्न सक्नुपर्छ । यहाँ आफन्त, मित्र वा सहकर्मी भनेर चिनिएका व्यक्तिहरू नै प्रतिस्पर्धी हुन्छन्, जसलाई हटाएर अगाडि बढ्ने कलाले मात्र कुर्सी जोगाउन सकिन्छ । कहिलेकाहीँ आफ्नै भनिएकाको खुट्टा तान्नुपर्छ, कहिलेकाहीँ त सत्ताको भलो भन्दै गठबन्धन बदल्नुपर्छ । सत्यभन्दा चालाकी बढी काम लाग्छ । मन्त्री बन्ने सपना देख्नेहरूलाई राजनीति कम, ‘कुर्सीतन्त्र’ बढी बुझ्नुपर्छ । कुर्सी भनेको सेवा होइन, ‘स्ट्र्याटेजिक गेम’ बनेको छ — जहाँ जीत्नेले नै सबै पाउँछ, हार्ने बिर्सिन्छ ।कुर्सीको अर्को विशेषता – कुर्सी सधैं “जनताको सेवा” का लागि चाहिन्छ भन्छन् मन्त्रीज्यूहरू, तर सेवा भने घर–परिवार र दलका कार्यकर्तालाई मात्रै पुग्छ । मन्त्रीको सचिवालयमा सेवा लिन जाँदा नागरिकले होइन, चाकडी गर्न जान्ने कार्यकर्ताले प्राथमिकता पाउँछ ।

    हाम्रो संविधानले मन्त्रीहरूलाई “जनताको प्रतिनिधि” भने पनि कुर्सीले उनीहरूलाई “ठेकेदारहरूको प्रतिनिधि” बनाएको छ । योजना पास गराउने कुर्सी, बजेट बाँड्ने कुर्सी, अस्थायी नियुक्ति दिने कुर्सी – कुर्सीको शक्तिको कुनै सीमा छैन । जनताले सडकमा चिच्याए पनि, कुर्सीमा बसेपछि त्यो आवाज सुनिँदैन, किनकि कुर्सीका कान चुइँकेको हुन्छ !

    कुर्सी मात्र दोषी छैन, यसमा बस्नेहरूको नैतिकता, इमान र दृष्टिकोणले नै कुर्सीलाई धिक्कारको पात्र बनाएको हो । कुर्सीको मोहमा देश बेच्नेहरूले जनताको सपना चकनाचुर बनाएका छन् ।

    तर देशको दुर्भाग्य के छ भने, मन्त्री बदलिन्छन्, सरकार बदलिन्छ, तर कुर्सीको चाल–चलन, चरित्र र चाटुकारिताको संस्कार कहिल्यै बदलिँदैन ।

    जनताले सडकमा चिच्याए पनि कुर्सीमा बसेपछि त्यो आवाज सुन्न सकिँदैन, किनकि कुर्सीका कान चुइँकेको हुन्छ । जनताले भोक, बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यको अभावमा कराए पनि मन्त्रीज्यूहरूलाई त्यो चिच्याहट “विकासको चर्चा” लाग्छ । उनीहरू वातानुकूलित कोठाबाट न निस्कने, न जनताको दु:ख बुझ्ने । कुर्सीमा बसेपछि त आलोचना “षड्यन्त्र” हुन्छ र चिच्याउने जनता “देशको विरोधी” घोषित हुन्छन् । जनताको आँसुलाई सुक्खा र क्रन्दनलाई कोलाहल ठान्ने नेताहरूको कुर्सी प्रेम यति प्रगाढ छ कि जनताको चिच्याहट पनि कुर्सीका लागि एक किसिमको पृष्ठभूमि संगीतजस्तो लाग्छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख २९, सोमबार १२:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP