भगवान् बुद्ध र उहाँको शिक्षा
तोमनाथ उप्रेती
भगवान् बुद्ध, जसलाई गौतम बुद्ध पनि भनिन्छ, विश्व शान्तिका अग्रदूत तथा मानव कल्याणका महान् शिक्षक हुनुहुन्छ। उहाँको जन्म इसा पूर्व ५६३ मा लुम्बिनी, नेपालमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा भएको हो। सिद्धार्थ गौतमको नामले परिचित बालकले युवावस्थासम्म दरबारको विलासी जीवन बिताए तापनि उहाँको मनमा सधैं जीवनको सत्य र दुःखको कारण खोज्ने चासो जागिरहेको थियो।
एकदिन उनले वृद्ध, रोगी, मृत शरीर र सन्यासीको दृश्य देखेपछि संसारको दुःखको कारण बुझ्ने चाहना जाग्यो। त्यसपछि २९ वर्षको उमेरमा उहाँले आफ्नो परिवार, राजसिंहासन र विलासिता छाडेर सत्यको खोजीमा घर त्याग गर्नुभयो। उहाँले बोधगयाको बोधिवृक्ष मुनी ६ वर्षसम्म कठिन तपस्या गरी अन्ततः वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गर्नुभयो। त्यसपछि सिद्धार्थ ‘बुद्ध’ कहलिनुभयो।
बुद्धले जीवनभर मानवताका लागि उपदेश दिनुभयो। उहाँको शिक्षाको मूल आधार शान्ति, अहिंसा, करुणा, मैत्री, धैर्य, क्षमा र आत्मअनुशासनमा आधारित छ। उहाँले संसारका सबै दुःखको कारण अज्ञान र तृष्णा हो भनेर बताउनुभयो। ती दुःखबाट मुक्ति पाउनका लागि चार आर्य सत्य (दुःख, दुःखको कारण, दुःख निवारण, र दुःखनिवारणको मार्ग) र आर्य अष्टाङ्गिक मार्ग (सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि) अपनाउनु पर्ने बताउनुभयो।
बुद्धको शिक्षा व्यवहारमै आधारित थियो। उहाँले कुनै पनि देवीदेवता वा यज्ञपूजामा विश्वास नगरी आत्मविकास, नैतिक आचरण र ध्यानमार्फत मुक्ति सम्भव छ भन्नुभयो। उहाँको शिक्षामा पञ्चशील (हत्या नगर्नु, चोरि नगर्नु, असत्य बोल्न नहुने, व्यभिचार नगर्नु र मादक पदार्थ सेवन नगर्नु) अत्यन्त महत्वपूर्ण मानिन्छ।
बुद्धले आफ्नो ज्ञान प्रचार गर्न ४५ वर्ष यात्रा गर्नुभयो र हजारौं मानिसहरूलाई सत्यमार्गमा लगाउनुभयो। उहाँको मृत्यु ८० वर्षको उमेरमा कुशीनगरमा वैशाख पूर्णिमाकै दिन भएको मानिन्छ, जसलाई महापरिनिर्वाण भनिन्छ।
आज पनि बुद्धका उपदेशहरू विश्वभर प्रासंगिक छन्। धर्म, जात, लिंग, वर्ग आदि भेदभावभन्दा माथि उठेर सबैलाई समान दृष्टिले हेर्ने शिक्षाले आजको सामाजिक सद्भाव र विश्वशान्तिको मार्ग देखाउँछ। उहाँको शिक्षाबाट हामीले सहिष्णुता, आत्मसंयम, र दया जस्ता गुण सिक्न सक्छौं। बुद्धको शिक्षा केवल दर्शन होइन, यो एक व्यावहारिक मार्ग हो, जसले मानव जीवनमा साँचो सुख र मुक्ति दिन सक्छ। बुद्धका उपदेश आज पनि आधुनिक समाजमा शान्ति, सद्भाव र नैतिक जीवनका लागि अत्यन्त सान्दर्भिक छन्। बुद्ध दर्शन व्यवहारमै लागू गर्न सक्दा मात्र यसको पूर्ण सार्थकता हुन्छ।
प्रतिक्रिया