नयाँ विचारको नौलो “विष–वास” (निबन्ध)
तोमनाथ उप्रेती
नयाँ विचारको भ्रूण हुर्काउँदै गर्दा समाजले “विग्रहको विष वमन” गर्छ, “विचारको विद्रोह”लाई विघटनकारी विस्फोट” भन्छ। नयाँ पुस्ताको परिकल्पनालाई “पागलपनको पन्चायत”मा पेश गरिन्छ, नयाँ चेतनालाई “सामाजिक सन्नाटाको साङ्लो”मा बाँधिन्छ।
“पुरानो पुस्ताको पिञ्जरामा परेपछि परेछ, नयाँ सोचको पखेटा काटिन्छ” भन्ने कर्कश कटाक्ष हाम्रो ऐतिहासिक अध्याय बन्न पुगेको छ।आफूलाई अखण्ड ठान्ने “पुराना पुस्ताका पण्डितहरू” आफ्ना जमिनका जरा जोगाउन नयाँ विचारलाई ‘अराजक अमर्यादित अपराध’को आरोपमा ओखती खान पठाउँछन्।
पृथ्वी गोलो छ भने पाइथागोरस पागल, समय देखाउने घडी बनाउँदा सिल्भेस्टर समाजको सुरताल भत्काउने, वेदको विकल्प दिँदा चार्वाक बर्बर, बुद्धले हिंसामा प्रश्न गर्दा बौद्धिक अपराधी, नित्सेले ‘ईश्वर मरे’ भन्दा नर्कको टिकट पाउने, माक्र्सले मजदुरको पक्ष लिँदा ‘तन्त्र तोड्ने तरबार’ भन्छन्। यही हो हाम्रो सामाजिक सर्कसको सत्य, जहाँ नयाँ विचार “विचारको भूत” बन्न विवश हुन्छ।
नयाँ विचारलाई “फेफ्राको फोक्सो नहुँदै फाँसी दिने”, “नवीन सोचको नवांकुरा नचिन्ने” पुरानो प्रवृत्ति, विचारको विष बुझेर मर्न नपर्ने तर त्यसलाई चलाउन नसक्ने पुरानो पुस्ताको पुरानो प्रपञ्च हो।
राणाकालको “क्रान्तिकारी क्रान्ति” बोकेका चार सपूत मृत्युदण्डको मुस्कानमा मिसिए।
बीपी, गणेशमान, किशुनजी जेलको जञ्जालमा जेलिएर देश फर्केर परिवर्तन गरे।
हरिभक्त, शेषकान्त, तोयानाथहरूले हलो जोते, ‘बाहुन हलो जोत्दैन’ भन्ने बहानावादी समाजले व्यंग्यात्मक गीत गाएर खिसी गरे।
लक्ष्मीप्रसादको ‘मूनपियन’ सोच पागलखानाले पायो।
बालकृष्ण समको ‘चिसो चुलो’मा दमाई नायक हुँदा कुलीनका पुरुषका पाउ खुट्टाए।
मुकारुङका “विषे नगर्ची” मा इतिहासको हिसाब माग्दा, ‘इतिहास विरोधी’ बनाइयो।
यो समाज नयाँ सोचलाई “काँचको कपमा करकचाउने कफ” झैं फ्याँकिदिन्छ, नयाँ पुस्तालाई “हावामा हल्लिएको हाँगो” भन्दै उखेल्न दौडिन्छ।
तर हेर्नू,
जुन सोचलाई समाजले जेलाउँछ, त्यसले नै “पुस्तान्तरणको पर्खाल फुटाउँछ।”
जुन विचारलाई समाजले विष ठान्छ, त्यसले नै “मानव चेतनाको मशाल” बलाउँछ।
जुन हिम्मतलाई पागल ठानिन्छ, त्यसले नै “नयाँ मानक र मार्ग” बनाउँछ।
हाम्रा हिम्मतिला हर्कतहरू, हाम्रो वैमनस्य चेतना, हाम्रो चेतनाको चिच्याहट र नयाँ दृष्टिकोण नै भविष्यको आधार हो।
नयाँ विचारलाई पुष्पित र पल्लवित गर्न, पुरानो पुस्ताको पर्खालमा धक्का दिनैपर्छ।
पुराना पुस्ताले सत्ताको स्वाद चाखे जस्तै, नयाँ पुस्ताले स्वतन्त्रताको स्वाद चाख्नुपर्छ।
विचारको खिया हटाउन, चेतनाको छिनालो बदल्न, सोचको सानो साँचो खोलेर ठूलो ढोका उघार्न,
हाम्रो पुस्ताले “विचारको विद्रोह” गर्नैपर्छ।
नत्र इतिहासले हाँस्दै धिक्कार्नेछ :
“हेर्नुस्, कागजका कमिज लगाएर कुर्सीको माला भिरेका नाटक हेर्ने मूकदर्शकहरू यिनै हुन्।”
, समयको सिन्दूर फेराउन हाम्रो पुस्ताले “विचारको विद्रोह” गर्नुपर्छ।
यसैले :“पुरानाको पिँजरो फुटाउन, नयाँ विचारको विष पिउन र सत्यको सूर्य उडाउन, नयाँ पुस्ताको नयाँ युद्ध जारी रहन्छ।”
प्रतिक्रिया