गणतन्त्रको गोरेटो र गगनचुम्बी गर्जना
तोमनाथ उप्रेती
राष्ट्रिय झण्डाहरू फर्फराइरहेका छन्,
तर जनता तिर छन् ती झण्डाका छायाँहरू ?
सिंहदरबारका सिँढीमा नेताका निधारमा पसिना छैन,
तर किसानको खल्तीमा नुन किन्ने पैसा छैन।
“गणतन्त्र!” भन्छन्,
शब्द सुनाउँदा मख्ख पर्छन्,
तर ती शब्दहरूमा घुसको गन्ध मिसिएका छन्,
कमिसनको कारुणिक कथा सुनाउन नेताहरूलाई फुर्सद छैन।
“जनताको शासन” भनिन्छ,
तर सत्ताका शृङ्खलाहरूमा जनताको हाँसो कहिले बज्दैन,
भोट माग्दा जनता राजा हुन्छन्,
भोट दिएपछि जनता ‘सेवाग्राही’ होइन ‘सोध्न नपाउने श्रमिक’ बन्न बाध्य हुन्छन्।
हे गणतन्त्र!
तिमी जन्मिएका थियौ बलिदानी सपना लिएर,
तर आज तिम्रो आत्मा दलदलमा डुबिरहेको छ,
विकासका नाममा लिइने ऋण,
कमिसनका कलङ्कमा हराइरहेको छ।
विद्यालयका पर्खालहरूमा “शिक्षा नीतिः सबैका लागि” लेखिएको छ,
तर सधैँजस्तो शिक्षकको तलब ढिलो हुन्छ,
स्वास्थ्यका शपथहरू ‘स्वास्थ्य पर्यटन’मा परिणत भएका छन्,
अस्पतालको शय्यामा मर्नेहरूको चिहानको सूची लम्बिँदैछ।
नेताहरूको भाषणहरू बाढीका झैँ बग्छन्,
तर खेतमा सिँचाइको पानी छैन,
मञ्चमा “आत्मनिर्भरता”का मन्त्रहरू गुन्जिन्छन्,
तर मुलुकबाट मान्छे र मजदुरी पलायन भइरहेछ।
हे आत्मा! हे चेतना!
के यसरी गणतन्त्रको गोरेटोमा गन्तव्य भेटिन्छ?
जहाँ न्याय निलो आकाश होइन, नीलो नोटसँग साटिन्छ,
जहाँ संवैधानिक अंगहरू “स्वतन्त्र” भनेर लेखिन्छ,
तर नियुक्तिमा भागबन्डाको ब्ल्याकमार्केट लाग्छ।
गणतन्त्रका ‘गुरुहरू’ जनता सँग मिल्न डराउँछन्,
गुण्डाहरूको म्यानिफेस्टोमा विकासको ‘डमी’ राखेर,
भोटका भीख माग्न आउँछन्।
र जनताले पनि फेरि–फेरि बिर्सन्छन्,
भोटपछि नेताले गरेको वाचा टुक्रिन्छ,
तर जनताले आँसु पुछेर फेरि “जय!” भन्छन्।
हे गणतन्त्रका गजुरधारी नेताहरू,
तिम्रो कुर्सीको जंग लागेको फलामले
जनताको सपना खिया लगाएको छ,
तिम्रो घोषणापत्रको सुनौलो अक्षरमा
जनताको भोकको रङ्ग लुकेको छ।
अब!
यो गणतन्त्रको गोलघरमा घुमिरहने घडी रोक्नु पर्छ,
निष्ठा र न्यायको नाडी छाम्नु पर्छ,
कमिसनका कलङ्कहरू धुनु पर्छ,
र गणतन्त्रलाई “उत्सव” होइन, “उत्तरदायित्व” बनाउनु पर्छ।
जब नेताहरूको मस्तिष्कमा सत्ता होइन,
सेवा बस्न थाल्छ,
जब मन्त्रीहरूको सवारी होइन,
किसानको काखमा अन्न बस्न थाल्छ,
जब अदालतको कुर्सीमा मूल्य होइन,
न्याय बस्न थाल्छ,
त्यस दिन गणतन्त्रको गगनचुम्बी गर्जना हुनेछ।
हे युवाहरू! हे श्रमिकहरू! हे शिक्षकहरू!
अब गणतन्त्रलाई चियापसलको चर्चा होइन,
चेतनाको चाल बनाउनुपर्छ।
भ्रष्टाचारको बिलौना होइन,
सक्षम नागरिक बन्नुपर्छ।
ढिलासुस्तीको गुनासो होइन,
आफ्नो क्षेत्रमा कर्मशीलताको क्रान्ति ल्याउनु पर्छ।
नेता बोल्दा राष्ट्र बन्छ भने,
कर्म गर्दा स्वाभिमान बन्छ।
नेताले भाषण गर्दा विकास हुँदैन,
किसानले हाँसो गर्दा अन्न उब्जिन्छ।
त्यसैले अब गणतन्त्रलाई ध्रुवतारा बनाऔं,
जहाँ हरेक नागरिकको सम्मान स्वाभाविक हुन्छ।
गणतन्त्र!
तिमी राजा होइनौ, तिमी नेता पनि होइनौ,
तिमी जनता हौ,
तिम्रा आत्मा किसानको हलोमा,
मजदुरको पसिनामा,
शिक्षकको कलममा,
स्वास्थ्यकर्मीको सेवा भावमा बस्छ।
तिमीलाई सुरक्षा चाहिएको छ भने,
नेताहरू होइन, जनताको निष्ठामा भरोसा गर।
तिमीलाई भविष्य चाहिएको छ भने,
भ्रष्टाचारको चिहान खन्नु पर्छ।
तिमीलाई उज्यालो चाहिएको छ भने,
सत्ताको होइन, सेवाको दीप जलाउनु पर्छ।
त्यसपछि मात्र,
गणतन्त्र गगनचुम्बी गर्जनासहित हाँस्नेछ,
नागरिक हर्षित हुनेछ,
र राष्ट्र समृद्धिको शिखर चुम्नेछ।
प्रतिक्रिया