मोरङको माटोको मौनता
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
मोरङको माटोमा टाँसिएको
एउटा पसिनाको थोपा,
केवल नुनिलो पानी होइन,
त्यो सृष्टिको बीउ हो,
जहाँ श्रमको स्पन्दनले
पृथ्वीलाई गर्भवती बनाउँछ।
हरेक बीउ रोप्नु भनेको
आत्मालाई पृथ्वीमा रोप्नु हो,
हरेक हिलो छोइ हातमा लिँदा
तिमी ब्रह्माण्डका ताराहरू समाउँदै छौं,
हरेक हलको डम्म आवाज
ऋषिहरूको ध्यानजस्तै गूढ मन्त्र हो।
जब बिहानको कुहिरो च्यात्दै
हलो खेतमा पस्छ,
त्यो क्षण कुनै युगको आरम्भ जस्तो हुन्छ,
जहाँ अन्धकारलाई चिरेर
सृजनाको सूर्योदय उदाउँछ,
माटो शान्त छ, तर मौनताभित्र
सम्पूर्ण ब्रह्माण्डका ध्वनिहरू गुञ्जिरहेका छन्।
मोरङको बाढी आएर
माटोलाई पखाल्न खोज्छ,
तर आत्मालाई पखाल्न सक्दैन।
किनकि आत्मा भनेको
पानीभन्दा पनि तरल,
र माटोभन्दा पनि गहिरो हुन्छ।
संघर्ष मोरङको श्वासमा मिसिएको छ,
तर त्यो संघर्ष कुनै बोझ होइन,
यो त साधनाको सीढी हो,
जहाँ प्रत्येक आँसुको थोपा
आकाशतर्फ फर्किएको जलपुष्प हो,
र प्रत्येक पसिनाको बूँद
कर्मयोगको मन्त्र हो।
मोरङको फाँटमा उम्रिएको सानो बिरुवा
जब आँधी र घाम सहेर रूख बन्छ,
त्यसले हामीलाई सिकाउँछ—
“परिवर्तन अँगाल्दा मात्र आत्मा बाँच्दछ,
किनकि स्थिरता मृत्यु हो,
र परिवर्तन नै जीवन।”
मोरङको हावा भनेको केवल वायुप्रवाह होइन,
त्यो माटोको मौनता र आत्माको आवाज हो,
जहाँ प्रत्येक सास
ब्रह्माण्डको धड्कनसँग ताल मिलाउँछ,
र प्रत्येक सास फेर्दा
एक नयाँ आशाको कली फक्रन्छ।
विराटनगरका उद्योगहरूमा उठेको धुँवा
साधारण धुवाँ होइन,
त्यो त सपनाहरूको धूप हो,
जसले आकाशमा
सृजनाको गन्ध मिसाउँछ।
साँझ पर्न लाग्दा,
जब मोरङका खेतहरूमा सुनौलो प्रकाश पोखिन्छ,
त्यो सुनौलोपना केवल घाम होइन,
त्यो त आत्माको उज्यालो हो,
जसले भित्रको अन्धकार पगाल्छ।
मोरङले भन्छ—
“जीवनको सार संघर्षमा छैन,
त्यस संघर्षलाई प्रेमले अँगाल्नमा छ।
जीवनको सार कर्ममा छैन,
त्यो कर्मलाई साधनामा रूपान्तरण गर्नमा छ।
जीवनको सार परिवर्तनमा छैन,
त्यो परिवर्तनलाई चेतनाको उज्यालोमा बदल्नमा छ।”
मोरङको माटो भनेको
संसारका सम्पूर्ण पवित्र ग्रन्थहरूको मौन पृष्ठ हो,
जहाँ पसिनाले लेखिएको
कर्मको श्लोक छ,
र संघर्षले उत्कीर्ण गरिएको
स्वतन्त्रताको मन्त्र छ।
कोशीको छालले जस्तै
जुन दिन तिमी आफ्नो आत्मालाई बग्न दिनेछौ,
त्यो दिन तिमी अहंकारको किनारामा रहेको बालुवा हो,
तर जुन दिन तिमी आत्मालाई
माटोमा गाडेर वृक्ष बनाउँछौ,
त्यो दिन तिमी ब्रह्माण्डको चेतनासँग एक हुन्छौ।
जब मोरङका बच्चाहरू खेतमा खेल्छन्,
उनीहरूको हाँसोमा ब्रह्माण्ड हाँस्छ,
जब किसान माटोलाई छुँछ,
त्यस हातमा केवल माटो मात्र अडिँदैन,
सम्पूर्ण सृष्टिको स्पर्श बस्छ।
हे साधक!
मोरङको आकाशलाई हेरेर थाहा पाउ—
तिमी सीमित छैनौं।
मोरङको माटोलाई छुँदा सम्झ–
तिमी पृथ्वीका सन्तान हौं।
र मोरङको हावा सुँघ्दा बुझ–
तिमी अनन्त यात्रामा हिडिरहेका छौ।
मोरङको माटोको मौनता
र आत्माको आवाज एउटै छन्।
मौनताको गहिराइमा प्रवेश गर्दा
तिमी आफ्नै आत्माको आवाज सुन्छौ,
र त्यो आवाज भन्छ—
“जाग, कर्म गर, प्रेम गर,
आत्मालाई उज्यालो बनाउ,
किनकि यही हो जीवन,
यही हो मोरङको शिक्षा।”
प्रतिक्रिया