मिसन ८४ , फोटो र फेसबुकीय पोस्ट
तोमनाथ उप्रेती
फेरि आयो चुनावको चिच्याहट! देशका कुनामा कुनेरामा ब्यानरको बाँदर कुद्दै, भाषणको बाँसुरी बजाउँदै नेताहरूका नाटक नाँच्न थाले। “मिसन ८४” भन्दै माइकमार्फत मुन्टो हल्लाउँदै कराइरहेका छन्, जस्तै कुखुराको काँ.. काँ.. काँ.. बिहानै उठेर कराउँछ तर सूर्य त आफूले होइन, प्रकृतिले निकाल्छ।
हाम्रा नेताहरू “विकासको विराट वाचा” को वायुवाणी गर्छन्, तर गाउँको गाढा गल्लीमा गारो भत्केको घर र गाढा गरिबीका गन्ध उनीहरूको गुप्ते गाडीको सिसाबाट कहिल्यै देखिँदैन। बजेटमा उनीहरू “स्वदेशी स्मार्ट सिटी” र “सुपर हाइवे” का सपनाको सर्कस देखाउँछन्, तर गाउँकी गर्भवती आमाको पेटको कराह कागजमा केवल “कुर्चीको कथा” बन्न पुग्छ।
चुनाव नजिकिँदा पुराना पार्टीका पात्रहरू फ्रेस फेस पाउडर दल्दै फेसबुक फोटो हाल्छन्, “देश बनाउँछु” भनी टिकटकमा ताली बटुल्छन्, तर चुनाव सकिएपछि उनीहरूको “देशसेवा” निद्रामा पस्छ। “साक्षर समाज, सस्तो सेवा, स्वास्थ्यमा सुधार” भन्ने स्लोगन सस्तो स्याउजस्तो भुइँमा झर्छ, अनि भोट माग्ने बेला फेरि उठाएर माटो पुछेर चाट्छन्।
युवापुस्ता यन्त्रवत् यथार्थको यातनामा यत्रतत्र पलायन भइरहेका छन्। कामको खोजीमा विदेश जानेका हातहरूले विदेशमा बियर पुछ्छन्, तर देश फर्केर आफ्नो भाग्य पुछ्न समय पाइँदैन। “विदेशी मुद्रा पठाउने हातहरूलाई भोटाधिकार छैन” भन्ने कानूनी कमेडी देशमा अझै जारी छ। प्रवासी नेपालीहरू देशको अर्थतन्त्रको रक्तदान गर्ने, तर राजनीति गर्ने बेला “राम्रो बन्ने ह्याट” लगाउने नेताहरूको “नक्कली न्याय” को शिकार बन्ने।
नेताहरूले “जनताको शक्ति, परिवर्तनको प्रक्रिया, लोकतन्त्रको धरोहर” भनेर ठूला ठूला शब्दको शंख बजाउँछन्, तर जनताको जिन्दगीमा परिवर्तन होइन, मूल्यवृद्धिको मल्हम थपिदिन्छन्। “मिसन ८४” उनीहरूको लागि कुर्सीको कलर चेंज गर्ने चांस हो, जनताको लागि फेरि एकपल्ट ५ वर्षे पश्चातापको पोस्टर हो।
मिडियाले “मिसन ८४” लाई महाभारतको युद्धझैं कभरेज गर्छ, एंकरहरू उत्तिकै उत्तेजित हुँदै “देश बदल्ने क्षण” को घोषणा गर्छन्। टिकटकमा ट्रेन्ड चढाएर “देश बनाउने” नारा राखेर फिल्टर लागेको अनुहारले नाच्ने, डाइलग बोल्ने, नक्कली देशभक्ती देखाउने भिड बढ्छ। फेसबुकमा “मिसन८४” लेखेर समर्थनको सेल्फी खिचिन्छ। स्टोरीमा “भोट हालौं, देश बनाऔं” लेखिन्छ । कमेन्टमा हार्ट इमोजीको वर्षा हुन्छ। चिया पसलमा नेताका भाषणको व्याख्या गरिन्छ, कफी सपमा परिवर्तनको तर्क गरिन्छ, समूह च्याटमा “यो पटक नयाँ अनुहार ल्याउनुपर्छ” भनेर बहस गरिन्छ।
तर मतदानको दिन चाहिँ बहाना बनाइन्छ, “आज त काम छ”, “लाइन लामो छ”, “भोली हेरौं” भन्दै घरभित्र लुकेर बसिन्छ। भोट हाल्नभन्दा फेसबुक स्क्रोल गर्नु सजिलो लाग्छ, टिकटक भिडियो बनाउन भ्याइन्छ, तर भोट हाल्न समय निकालिँदैन।
यही मौनताले “मिसन ८४” लाई स्टाटस र स्टोरीमै सीमित बनाउँछ। परिवर्तनको कुरा गर्न हामी माहिर छौं, तर परिवर्तनको बलिदान दिन डराउँछौं। जबसम्म हामी मतको मूल्य बुझ्दैनौं, “मिसन ८४” पनि फोटो र फेसबुकीय पोस्टमै हराउँदै जानेछ।
तर मतदानको दिन चाहिँ अनेक बहाना बनाइन्छ, “आज त पानी पर्यो”, “लाइन लामो छ”, “भोलि पर्याे काम” भन्दै लुकेर बसिन्छ। मतदानको लाइनभन्दा कफी सपको लाइन रोजिन्छ। देश बदल्ने कुरा कफीको कपमा राखेर सेल्फी खिचिन्छ।
चुनावी भाषणमा रमाउने, पोस्टरमा नारा पढेर मुड बनाउने, तर भोट हाल्ने जिम्मेवारीमा पाइलै नउठाउने बानीले हाम्रो पुस्तालाई फेसबुकको फोटाफोक पुस्ता बनाइरहेको छ। भाषण सुन्दै ताली बजाउँछौं, TikTok मा ट्रेन्ड बनाउँछौं, फिल्टर हालेर स्टोरीमा “देश बदलौं” लेख्छौं, तर भोट हाल्ने दिन चाहिँ मौनको मुखुण्डो लगाएर बस्छौं।
हामी सेल्फीको सेलाबमा डुबेर देशभक्तिको सस्तो स्टाटस लेख्नमा रमाउँछौं, तर मतदान केन्द्रसम्मको यात्रा गर्न भ्याउँदैनौं। चुनाव नजिकिँदा नेताका भाषणलाई “रियल हिरो” झैं सुनिन्छ, पोष्टरमा छापिएका शब्दमा परिवर्तनको परिकल्पना देख्छौं, तर भोट हाल्ने बेला “लाइन लामो छ”, “पानी पर्यो”, “काम छ” भन्दै घरभित्र कोठामा लुक्छौं।
यदि हामी यसरी चुप बस्यौं भने “मिसन ८४” पनि फोटो र फुसफुसमै हराउनेछ। देश बदल्ने अवसर हातमै भएर पनि हामी चुक्नेछौं। अनि चुनाव सकिएपछि पुनः पाँच वर्षसम्म फेसबुकमा “देश बिग्रियो” भन्दै गुनासोको गुनगुन मात्र गरिरहनेछौं।
अब समय स्टोरी होइन, मतदान गर्ने स्टेप चाल्ने हो। नत्र हाम्रो पुस्ता इतिहासको हास्यास्पद कार्टुन बन्नेछ।
यसचोटिको निर्वाचन नाटकमा “फेरि उही अनुहार आउने कि, फेरी उही अजम्बरी भाषण दोहोरिने?” भन्ने प्रश्न राम्रो रङ्गीन प्रश्न बनेर उड्छ, तर जवाफ दिन सक्ने जिम्मेवारी बिर्सन्छ।
अबको मतदान महोत्सव हल्ला होइन, “हल्लाखोर नेताहरूको हावा फुकाइ” होइन, अबको मतदानमा चेतनाको चाङ बन्ने बेला हो। यदि हाम्रा प्रवासी दाजुभाइहरूले पनि छुट्टी लिइर, टिकट किनेर, अलिकति पेट समातेर भए पनि देश फर्केर मतदान गरेनन् भने, तपाईंहरू बाँचुञ्जेल “देशलाई सम्झनु” भनेजस्तो रमाइलो बनेर बस्नेछ।
मिसन ८४ सफल हुन्छ कि हार्छ भन्ने सवाल माइक समातेर भाषण गर्ने नेताको होइन, मत हाल्ने हातको हो। तर यदि फेरि पनि हामी चुप लागेर चिया पसलमा “नेताहरू चोर हुन्” भन्दै गफ हान्दै बस्यौं भने, अर्को पाँच वर्षको दुःखको दस्तावेजमा हस्ताक्षर गर्न तयार हुनुपर्छ।
अब “मिसन ८४” भन्नु फेसबुक स्टाटस होइन, टिकटक ट्रेन्ड होइन, चुनावको चिया कुराकानी होइन—अब यो माटोको मर्यादा बचाउने हाम्रो चेतनाको चुनौती हो। जागौँ, लेखौँ, भनौँ, फर्किऔँ, चेतना दिऔँ।
नत्र इतिहासले हाम्रो पुस्तालाई हाँस्दै धिक्कार्नेछ : “हेर्नुस्, कागजका कमिज लगाएर कुर्सीको माला भिरेका नाटक हेर्ने मूकदर्शकहरू यिनै हुन्।”
यदि हामी फेरि पनि भोटको भीरमा बसेर बर्बराउने मात्र भयौं भने, इतिहास हाम्रो पुस्तालाई हाँस्दै धिक्कार्नेछ। “हेर्नुस्, कागजका कमिज लगाएर कुर्सीको माला भिरेर नेताहरूको नाटक हेरेर ताली बजाउने त यिनै हुन्,” भन्दै विगतले हाँसोको हत्कडी लगाउनेछ।
हामी स्मार्टफोनमा स्क्रोल स्क्रोल खेल्दै, स्टाटस र स्टोरीमा “देश बनाउनु पर्छ” भन्दै स्टिकर टाँस्ने तर मतदानको दिन मख्ख निदाउने स्मार्ट सेल्फी पुस्ता बनेर बस्नेछौं। नेताहरूको भाषणको बिद्युतझैं ब्लिङ्क–ब्लिङ्क गर्ने बोली सुनेर जिउ हल्लाउने, तर पेट्रोलको पम्पमा भाउ बढ्दा तर्सिएर “देश बिग्रियो” भन्दै फेसबुकीय फुसफुस गर्ने फर्मुला फ्यान पुस्ता बन्नेछौं।
हामी माइकको मिठासमा मोहित भएर “मिसन ८४” को मिठो मिठाई चपाउने, तर करको कथर कडुवाहट आउँदा कराउने कलंकी पुस्ता भएर बाँच्छौं।
यदि यो पटक पनि चुप बस्यौं भने, चुनावी चाडमा चकलेट खोज्दै, चिया पसलमा चिन्ता चर्चा गर्दै, चार वर्षपछि पुन: पछुतोको पोस्टर टाँस्ने “फेरि पनि चुक्ने पुस्ता” का प्रतीक हामी नै हुनेछौं।
अब पनि उठेनौं भने, इतिहासले लेख्नेछ—
“यी नै हुन्, देश बिग्रियो भन्दै फेसबुकमा फेस बनाउने, तर परिवर्तनको पैदल यात्रा गर्न कहिल्यै ननिस्कने, बासी भातमा बस्ने पुस्ता!”
प्रतिक्रिया