राष्ट्रको मेरुदण्डमाथि मेला
तोमनाथ उप्रेती
कागजका खरानीहरू बोकेर,
कर्मचारीको कुर्सीले घमण्ड गर्छ—
“म गणतन्त्रको गजेन्द्र हुँ,”
तर त्यो गजेन्द्र आज दलका दलदलमा फँस्छ।
फाइलको फूलमालाले घेरिएको टेबल,
रजत–रजत चम्कने सरकारी स्टाम्प,
सिंहदरबारको सिँढीमा चाप्लुसीको छाँया लामो छ,
घूसको गन्धमा भीरबाट लडिरहेको संविधानको नाम छ।
हे! शासकहरूको साह्रदिक सन्देश,
श्रमिकको पसिना तिमीले चुस्यौ, तर भाषण गर्यौ—
“जनताका लागि छ यो प्रशासन,
नयाँ नेपालको अभिमान।”
तर त्यो अभिमान, हेर!
दस्तावेजको ढेरीमा कुहिएर मर्दै छ,
‘गेट नम्बर दुई’को गन्धमा हराउँदै छ,
र लोकसेवा पास गरेर आएका युवाहरू,
भ्रष्टाचारको बेताल नाचमा रमाउँदै छन्।
फाइलका फिर्का–फिर्कामा फस्दै
कर्मचारीको कलमको इन्कलाब कहाँ हरायो?
आयोगको अनुमति नआएसम्म,
चोरलाई पक्रन नमिल्ने न्याय कहाँ गयो?
तिमीहरूको हाँसो हेर, उद्घाटनको फोटोमा,
तर कात्तिकमा खाद्यान्न बोक्ने आमाको पापी पिठ्यूँमा छैन त्यो हाँसो।
साइबर सुशासनको स्लोगन छ तर,
फोटो खिच्ने क्यामेरामा, ‘लन्च’मा, ‘भोज’मा, ‘सिट’मा मात्र छ।
हे कर्म! तिमी सेवाको सुगन्ध हौ,
तर घूसको गन्धले तिमीलाई मारीरहेको छ।
हे नीति! तिमी निष्ठाको नक्षत्र हौ,
तर नातावादको रातले तिमीलाई निलेको छ।
कर्मचारी! तिमी तटस्थताको तेज हौ,
तर राजनीतिक चम्चागिरीको चन्द्रवदन भएर बाँच्दैछौ।
राष्ट्रसेवा तिम्रो धर्म हो,
तर निजी लाभको लोभमा तिमी धर्मच्युत भएका छौ।
गणतन्त्रको गौरव भनिन्छ,
तर सिंहदरबारको गेटमा ‘सेटिङ’ बिना फाइल चल्दैन।
लोकसेवाको मञ्चमा भाषण हुन्छ— “उत्तरदायी हुनुपर्छ,”
तर जागिरेको जागरमा जागिरे स्वयं बेइमान हुन्छ।
डिजिटल नेपाल भन्ने भाषामा,
कागजको जाम र दस्तावेजको बाढी छ।
इस्टोनिया डिजिटलाइज्ड भएछ,
हामी अझै कागजको प्वाँख खोजिरहेका छौं।
हे राष्ट्रका सेवकहरू!
सेवा होइन, सत्ताको सत्तारूढमा रमाउनु तिमीहरूको पाप हो।
हेर! जब प्रशासन मर्छ,
राष्ट्रको मेरुदण्ड भाँचिन्छ।
हे कर्मचारी! तिमी त हिम्मतको होल्डर हौ,
तर लाचारीको लोलीपप चुस्दैछौ।
आफ्नो पदीय प्रतिष्ठालाई चाकरीको चौतारो नबनाऊ,
र राष्ट्रसेवक बन्ने धर्मलाई बिर्सेर दलाल नबन।
प्रशासन भनेको सेवा हो, शक्ति होइन,
जनताको आँशुलाई पुछ्ने हात हो, टेबुलमा थप्किने घुँडा होइन।
जब तिमी घूस लिन्छौ,
त्यसबेला राष्ट्रको करुण क्रन्दन सुन!
जब तिमी ढिला गर्छौ,
त्यसबेला गरिबको गहुँको बाली बर्वाद हुन्छ।
जब तिमी सेटिङ गर्छौ,
त्यसबेला बाढीमा घर बगाउँछ।
शासनको शृङ्गारमा चिल्लो भाषण फिजाउनेहरू,
तिमीहरूकै कारण गरिबले नून र तेलसँग आँसु मिसाउँछ।
लोकतन्त्रको नाममा लुटतन्त्रको लैला नाचिरहेको छ,
र प्रशासन भनेको आज हँसाउने जोकरको झैं मञ्चमा उभिएको छ।
तर याद राख,
‘ह्याच एक्ट’को कठोर अनुशासन आउनेछ,
र तिमीले बुझ्नेछौ—
लोकसेवा राजनीतिक कार्यकर्ता बन्ने ठाउँ होइन।
जब जनताको पसिना बर्बाद हुन्छ,
त्यसदिन प्रशासनको साख मर्दछ।
जब करदाता रुँदै घूस दिनुपर्छ,
त्यसदिन संविधानको आत्मा बिदा हुन्छ।
हे कर्मचारी!
तिमी सेवक हौ, मालिक होइन।
तिमी शान्ति हौ, पाप होइन।
सेवा र सत्य नै तिम्रो कर्तव्य हो,
त्यसैबाट नयाँ नेपालको शुभारम्भ हुनेछ।
त्यो दिन उद्घाटन र शिलान्यासको फोटो होइन,
सेवा लिने आमाको मुहारमा हाँसो फर्किन्छ।
त्यो दिन डिजिटल कागज होइन,
कृषकको खेतमा पानी पुग्छ।
त्यो दिन राष्ट्रले पुनर्जागरण पाउँछ,
त्यो दिन— ‘प्रशासन’ फेरि राष्ट्रको मेरुदण्ड बन्छ।
प्रतिक्रिया