युद्धको पर्दामा ‘लाइभ’ मृत्यु
तोमनाथ उप्रेती
पत्रकारको कलम,
अब ड्रोनको रडारमा परेको छ,
लिखिरहेको छ उसले युद्धका समाचार,
तर उसको क्यामेराको लेन्समा
आफ्नै रगतको बिन्दु जमेको छ!
‘ब्रेकिङ न्यूज’ लेख्दै गर्दा,
त्यो आफैं ब्रेक भयो,
रंगीन माइक्रोफोन,
रक्ताम्य भयो,
माइकको तारले रगत चुस्दै
कुइकुइ गरिरहेको छ,
र अन्तर्राष्ट्रिय अदालतले
फाइल खोलेको नाटक गरिरहेको छ।
लाइभ कभर गरिरहेको थियो,
गोलाबारीको आवाज,
र अचानक बुलेटले
‘लाइभ’लाई ‘डेड’ बनाइदियो,
अल–सवारा क्षेत्रको धुलोले
क्यामेरा रगतले धोयो।
ड्रोनको आवाजमा
बच्चाहरूको कराह,
र पत्रकारको अन्तिम चिच्याहट मिसियो,
इजरायली बारुदको ‘ब्रेकिङ न्यूज’,
प्यालेस्टाइनका आकाशमा
‘ब्लड रेड अलर्ट’ भएर घन्कियो।
कलम बनेको छ बारुद,
लिख्दै गर्दा, पानाहरूमा गोलाको छेद,
हेडलाइन लेखिँदै गर्दा,
अन्तिम हाँसोको सास छुट्दै छ।
फोटो खिचिरहेको,
आधा शरीर माटोमुनि,
आधा शरीर उठाएर
प्यालेस्टाइनको ध्वजाजस्तै
रगतको लहरोमा फरफराएको छ।
‘स्वतन्त्र प्रेस’ ले स्वतन्त्र मर्न पाउँदैन,स्वतन्त्र प्रेसलाई स्वात्त पारिन्छ,
मिडियाका टावरहरू,
बारुदको खरानी बनेर भत्किएका छन्,
रेडियोको आवाज,
आफ्नै कराहमा हराइरहेको छ।
र,
संयुक्त राष्ट्रसंघका महासचिव,
तिनको विशेष दूत,
सुरक्षा परिषद्का सदस्य,
सबैले
‘चिन्ता व्यक्त गरेका छन्’
तर गोलीको ट्रिगरमा
चिन्ता सुन्दै सुनिँदैन।
युद्धका समाचारहरू अब युद्धमै हराइरहेका छन्,
‘हेडलाइन’ हराउँदै,
पत्रकारका परिवारका आँसुमा
शब्दहरू बग्दै,
विज्ञप्तिहरू,
एउटा थप शवको समाचार बन्ने पर्खाइमा छन्।
‘हाम्रो आवाज सुन्नुस्!’
तर आकाशमा उडेको ड्रोनले
माइकको आवाज होइन,
उसको हृदयको धड्कनमा निशाना लगाउँछ।
पत्रकारिता,
अब पेन्सिल होइन,
एक इन्जेक्सन हो,
जहाँ मिडियाको हेडलाइनमा
‘मर्यो पत्रकार’
र अन्तिम वाक्य लेखिन्छ–
‘लाइभ कभर गर्न जाँदा लाइफ गुमायो।’
क्यामेरामा फोकस गर्दै,
रगतका फोहोर दाग मेट्दै,
संसारलाई देखाउन खोज्दै,
के भइरहेको छ गाजामा?
तर संसार भन्छ,
‘रक्तपात त कभर भयो,
ट्राफिक अपडेट पठाउनुहोस्,
कसरी सीमाबाट निस्कियो
आफ्नो रगत पुछ्दै रिपोर्टर?’
पत्रकार,
युद्धका बीचमा सत्य बोल्न खोज्दा,
त्यही सत्य उसको लाशमा टाँगिन्छ,
उसको माइकको आवाज
गाजाको आकाशमा विलीन हुन्छ,
अनि संसार
“शान्तिको बाटो खोज्नुपर्छ” भन्दै
गोलाबारीको धुवाँमा
कफी पिउँदै, स्टुडियोबाट डिबेट गर्छ।
प्रतिक्रिया