तीस हाइकुहरू
तोमनाथ उप्रेती
१.
रातमै अपहरण
राष्ट्रको निन्द्रा च्यातियो
सार्वभौम रोयो
२.
हातमा हतियार
कानुन निदाएको छ
शक्ति जागेको
३.
झन्डा अझै उभियो
जनता शरणार्थी
राष्ट्र खोक्रो भयो
४.
तेलको गन्धमा
लोकतन्त्र सडिरहे
न्याय मौन बस्यो
५.
निर्वाचनको छाया
मतपेटिकामा डर
आवाज हरायो
६.
शक्ति मुस्कुरायो
सानो राष्ट्रको छाती
रणभूमि बन्यो
७.
संयुक्त राष्ट्र भवन
भित्र भाषण गर्जियो
बाहिर रगत
८.
मानचित्रमा रेखा
माटोमा आँसु बग्छ
इतिहास लेख्छ
९.
अपहरणको नाम
“विश्व शान्ति” भनियो
व्यङ्ग्य हाँस्यो
१०.
कानुनको तराजु
एकातिर झुकेको
न्याय लड्खडायो
११.
शरणार्थी आँखा
राष्ट्रको परिभाषा
भोकले लेख्छ
१२.
खनिजको चमक
मानव जीवन सस्तो
शक्ति अन्धो
१३.
लोकतन्त्रको मुखौटा
हातमा बन्दुक
सत्य नाङ्गो
१४.
शान्तिको नारा
बमको छायाँ तल
बालक रोयो
१५.
राष्ट्रपतिको कुर्सी
जनताबिनाको सत्ता
एक्लो सिंहासन
१६.
सिनेट मौन छ
आकाशमा ड्रोन उड्छ
कानुन झर्छ
१७.
सीमाना उस्तै
मनभित्र देश छैन
त्रासको राज्य
१८.
पलायनको बाटो
मातृभूमि पछाडि
आँसु अघि
१९.
ध्रुवीकृत विश्व
सानो राष्ट्र चेसको मोहरा
चाल अरूको
२०.
जनताको पेट
राष्ट्रवादले भरिँदैन
भोक सत्य हो
२१.
अपहरणपछि
लोकतन्त्रको पाठ
मौनमा हरायो
२२.
शक्तिको व्याकरण
कानुनभन्दा माथि
न्याय लाचार
२३.
झन्डा फेरिन्छ
दुखको भाषा उस्तै
मानव उस्तै
२४.
सत्ताको केन्द्र
जनताबाट टाढा
राज्य असहाय
२५.
नोबेलको सपना
रगतको छायाँमुनि
शान्ति विडम्बना
२६.
भूराजनीतिक खेल
मान्छे मात्र हार्छ
नियम अमानवीय
२७.
खनिजको मोल
आमाको काखभन्दा
महँगो ठहरियो
२८.
राष्ट्रपतिको नाम
इतिहासमा बाँकी
पीडाको दाग
२९.
लोकतन्त्र बाँच्न
जनअपनत्व चाहिन्छ
नत्र भ्रम मात्र
३०.
सानो राष्ट्रले
एकता बचाएन भने
इतिहास दोहोरिन्छ
प्रतिक्रिया