logo
  • २०८२ चैत्र ३ | Tue, 17 Mar 2026
  • युद्धभूमिका फूलहरू

    युद्धभूमिका फूलहरू

    युद्धभूमिका फूलहरू
      तोमनाथ उप्रेती(उप सचिव) 

    धूलोले ब्यूँझिएको घाम जस्तो
    पृथ्वीको रेखामा झुल्केका छन् ती—
    नारीहरू, जो अब आँसु होइन,
    बारुद बोकेर बगिरहेका छन्।

    यी हुन्—
    शान्तिको गहना भिरेका वज्रगर्भा,
    आकाशलाई आँचल बनाइ ढाक्ने धर्तीकी छोरीहरू,
    जो अब गंगा होइनन्—
    ड्रोनका टक्करमा बहने सिन्दुर हुन्।

    उनीहरू युद्धमा छन्—
    र यो युद्ध केवल बारुदको होइन,
    यो युद्ध हो स्वतन्त्रताको, अस्तित्वको,
    आत्माको जागरणको—

    मातृत्वले दिएको हृदयमा अब
    तोपको धड्कन गुञ्जन्छ—
    र ती नारीहरूले आफ्ना छातिमा
    देशको नक्सा कुँदेका छन्,
    गोलीहरूलाई फूल बनाइ अर्पण गर्न।

    एक आमा—
    एक सिपाही—
    एक प्रज्ञा,
    र एक क्रान्ति बनिन्।
    युद्ध जब पुरुषको एकालो अधिकार थियो,
    तब नैतिकता र निष्ठा युधिष्ठिरको हातमा थिए।
    तर आज—
    अर्जुनले धनुष फ्याँकेको छ,
    र द्रौपदी आफैं युद्धको रथमा छिन्।

    धर्मको परिभाषा फेरिएको छ—
    अब अधर्मसँग लड्नु धर्म हो।
    र स्त्री—
    अब रक्षिता होइन, रक्षिका बनेकी छ।
    उनको प्रत्येक युद्धप्रयाण
    एक यज्ञ हो—
    जहाँ उनले अहंकार, डर र पीडा होमिन्।
    र त्यो यज्ञको धुँवा
    स्वर्गको द्वार हुँदै
    शान्तिका देवतासम्म पुग्छ।

    शिवको ताण्डव अब केवल नृत्य होइन,
    ती नारीहरूको पदचाप हो,
    जो अब मसान डाँडामा चियापसल होइन,
    आत्माको उदयस्थल बनाइरहेकी छिन्।

    ओ मायालु पृथ्वी !
    तिमीलाई सन्तानले
    यसरी कहिल्यै प्रेम गरेनन्—
    जसरी यी महिलाहरूले तिमीलाई
    रगतको अक्षरले प्रेमपत्र लेखेका छन्।

    तिनको काखमा अब ममताले होइन,
    मृत्युसँगको मुस्कानले निदाउँछ जीवन।
    र त्यो जीवन—
    संगीत होइन,
    एक अन्त्य र एक आरम्भको वीणा हो।
    उनीहरूको औंलाहरू—तोपका मन्दिर हुन्।
    पसीनाको गन्ध अब फूलको होइन, बारुदको सुगन्ध हो।
    टङ्किएको सिन्दुर—हामीले हेर्ने सौन्दर्य होइन, राष्ट्रका घाउमा टाँसिएको चेतना हो।

    नारी अब केवल लाज होइन,
    संस्कारको शस्त्र पनि हुन्।
    उनीहरूलाई कमजोर देख्नेहरू
    इतिहास पढ्दैनन्,
    न त भविष्य देख्छन्।

    जसरी
    बुद्धले युद्धलाई जितेर शान्ति ल्याए,
    त्यस्तै आज यी महिलाहरू
    युद्ध गरेर शान्तिको बीज रोप्दैछन्।

    शान्ति—
    जसको मूल्य उनीहरूको निद्रामा हो।
    शान्ति—
    जसको रंग अब रातो मात्र होइन,
    सुनको हो—
    प्रकाशको हो—
    अभिषेकको हो।
    जब अर्जुनले युद्ध छोड्ने संकल्प गरे,
    श्रीकृष्णले गीता दिए।
    आज—
    जब समाजले नारीलाई युद्धमा असक्षम ठाने,
    ईश्वरले उसैको कर-कपाल सिँगारी
    युद्धभूमिमा पठाए।

    र यो महिलाहरूको युद्ध
    सिर्फ राष्ट्रको लागि होइन,
    मानवताको लागि हो—
    ताकि भविष्यका बच्चाहरूले युद्ध
    पाठ्यपुस्तकमा मात्र पढून्।

    सपना देख्ने आँखा—
    अब लाजले झुकेका छैनन्।
    उनीहरूको नजरमा
    विस्तारै उदाउँदैछ एक नयाँ स्वर्ग—
    जहाँ कुनै पनि धर्म, लिङ्ग, जातले होइन,
    कर्मले मापन हुन्छ वीरता।

    यो कविता—
    एक वीरगाथा हो,
    एक आत्मबोध हो,
    एक नारीको देहभित्र लुकेको ईश्वरत्वको उद्घाटन हो।
    जहाँ काली पनि छिन्, लक्ष्मी पनि छिन्—
    तर आज दुर्गा बनेर खड्ग उचालेकी छिन्।

    अन्तिम शब्दहरू
    मृत्यु अब उनलाई डर लाग्दैन—
    किनकि उनले आत्मालाई बाँच्न सिकाएकी छिन्।
    र त्यो आत्मा
    आज टोलीमा अगाडि बढ्छ—
    ड्रोनका साथ, तोपका साथ, तर पनि सत्यका साथ।

    र जब यो युद्ध सकिन्छ—
    उनीहरू शान्तिका मूर्ति होइन,
    त्यस शान्तिका निर्माता ठहरिन्छन्।
    उनीहरू ‘इनभिजिबल बटालियन’ होइनन्—
    ईश्वरका दृश्य प्रतिरूप हुन्,
    जसले घोडामा होइन, गहन आत्मविश्वासमा चढेर
    युद्धको मैदान जिते।

    शान्तिको रङ उनकै रगतबाट चढ्नेछ—
    तर त्यो रगत घृणाको होइन,
    मानवताको अर्पण हुनेछ।
    र जब कुनै बालकले ‘म आर्मी बन्नेछु’ भन्छ,
    त्यसको प्रेरणा अब बाबु मात्र होइन—
    एक आमाको बन्दुक हुनेछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १९, सोमबार २०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP