तोमनाथ उप्रेती
शून्य आकाशमुनि,
चिच्याएको थिएन समुद्र—
तर गड्गडाहटभित्र
विलीन भएका थिए सपनाहरू,
डुङ्गामा चढेर भविष्य खोज्नेहरू
अब शान्त छन्—
अस्तित्वको उत्तरहीन छालमा ।।
यी को थिए ?
नाम थिएन उनीहरूसँग—
थिए केवल आँखामा थकित विश्वास,
छालसँग लड्न सक्ने
अहोरात्र श्रमको साहस ।।
इथियोपियाका सपनाहरू
अरबी तटमा पुरिन पुगे,
पेटको भोकभन्दा ठूलो थियो
जीवनलाई बदल्ने चाहना,
तर—
समुद्रको रहस्यभित्र
त्यो चाहना पनि डुब्यो ।।
अब्यानको बालुवामा
शवहरू मौन छन्—
शब्दविहीन नारा जस्तै,
तिनीहरू बोल्दैनन्,
तर पुकार्छन्:
“हामी कति सस्ता थियौं
विश्वको नजरमा?”
न त टेलिभिजन रोयो,
न त राजनीति थकित भयो,
एक विज्ञप्ति आयो—
एक वाक्य:
“५० भन्दा बढी आप्रवासी मरे।”
त्यसपछि मौनता।
त्यसपछि आँधी फेरि उठ्यो,
र अर्को डुङ्गा तयारीमा छ—
फेरि नयाँ सपना चढेर,
नयाँ मृत्युको पथमा ।।
आईओएम रोयो होला,
मानवता केही छटपटायो होला,
तर समुद्र,
जसले लाश चुमेको थियो—
उही पुरानै लयमा बगिरहेछ ।।
पल्टिएको थियो–
न्यायको तराजु,
जीवनको मूल्यांकन,
र सहानुभूतिको सन्तुलन ।।
यी कविता होइनन्
मात्र शवहरूको गन्ती होइन,
यी—
मौन संसारको साँचो प्रतिबिम्ब हुन्,
जहाँ प्रवासीको मृत्यु
एक समाचार हुन्छ,
र समवेदना—
एउटा क्षणिक अवस्था ।।
प्रतिक्रिया