पिक्सेल युग
`
पिक्सेलका पाखुरामा
संसारको साँचो समातेर बस्छौ भन्छौ,
तर थाहा छ ?
त्यही पिक्सेलका पर्दामा
तिमी आफ्नो अनुहार हराउँछौ।
छापाखानाको इङ्क
कागजमा भिज्दा
कुनै दिन सत्यका हुंकारहरू हुन्थे,
आज एल्गोरिदमका आँखा चिम्लेर
‘स्क्रोल’ को लाशमाथि लाइक बटुल्छौ।
रेडियोका आवाजहरू
पहिले गाउँको बगर कटेर आउँथे,
अहिले बफरिङको प्वालमा अड्किएर
पोडकास्टमा बाँच्न माग्छन्।
टेलिभिजनका पर्दाहरूमा
कहिल्यै नथाक्ने नाच,
नेपाली समाचारकै अघिल्तिर
युट्युबका एडहरू टिम्पानी बजाउँछन्।
ओ पिक्सेल युग !
तिम्रा आँखामा ‘क्लिकबेट’ को सपना छ,
सत्यको खाजा खान
सनसनीको मसला खोज्नेहरू,
क्लाउडमा फोटो राखेर आत्मा हराएका छन्।
मलाई थाहा छ,
सामाजिक सञ्जालमा तिमी बाँच्ने गर्छौ,
तर सत्यको शंख बजाउने आवाजहरू
त्यहाँ म्युट छन्।
हिजोका खल्तीमा पत्रिका राख्ने बाबुहरू,
अब मोबाइलका ‘नोटिफिकेसन’ बाट
विश्व राजनीति बुझ्छन् रे,
तर त्यो राजनीति ‘रिल’ को हाँसोमै हराउँछ।
पिक्सेल युग !
तिमी बाँच,
तिमीले सूचना पुगोस्
तर भूल नकर,
सूचनाको गहिराइ आँक्न
तिमीलाई हिजोका पत्रपत्रिका,
रेडियोका बूढा तर अडिग स्वरहरू,
टेलिभिजनका अनुसन्धानले बाँचाएका छन्।
एउटा दिन आउँछ,
जब पिक्सेलका पर्दामा
फेरि सत्यको अक्षर टल्किनेछ,
सनसनीभन्दा माथि उठेर
सत्यको गीत गाउँनेछौं हामी,
पिक्सेल युगमा पनि
अक्षरहरूको धर्म युद्ध लडिरहनेछौं हामी।
(रतुवामाई ५ मोरङ)
प्रतिक्रिया