समावेशीताको सन्देश र विडम्बनाको विहानी(कविता)
तोमनाथ उप्रेती
जातको जङ्गलमा जिन्दगीको ज्योति हराइरहन्छ,
थरको तर्साउने तागतले तारा टेक्ने सपना टुक्रिन्छ।
कर्मको किनारमा उभिएको एउटा बालक भन्छ—
“मेरो पितृका थरले होइन,
मेरो पाखुराले खेत जोत्ने स्वाभिमानले चिन्नू मलाई।”
तर विडम्बनाको विहानमा,
फर्म भर्नुपर्दा ‘जात’को कोठामा टिक्स लगाउनु पर्छ,
“समानता”को नारा उचाल्नेहरूकै कलमले
जातको जेल बनाउँछन्— कानुनी प्रक्रिया भनी।
जातको झिल्काले न्यायको नाटक रचिन्छ,
थरको थुम्कामा समता चिप्लन्छ,
शासनको शिविरमा घाम झुल्किँदैन,
समावेशीताको सन्देश कागजमै कुहिन्छ।
हे! सत्यको सन्देश बेच्नेहरूले,
कसरी बेच्ने गर्छौ ‘समता’का सपना,
जब तिमी नै आफैं “जात–थर”को ट्याग झुन्ड्याएर
अपमानका अपार गाथा लेख्छौ?
तर सुन! गाउको एउटा किशोरी बिहानै उठ्छ,
पुस्तकको पानामा आफ्नो भाग्य लेख्छ,
खेतको डिलमा उभिएर,
ज्ञानको गीत गाउँछ— कर्मशीलताको।
उ उसको जात थर केही पनि हैन,
उसको थर भनेको ‘ज्ञान’ हो, जात भनेको ‘श्रम’ हो।
तर सहरका कागजका पखेटा फुकाउनेहरू भन्छन्—
“पहिला जात लेख, अनि मात्रै अवसर देउ।”
हे! सिंहदरबारका सजावटको सन्देश लेख्ने हो भने,
“समावेशीता”को सुगन्ध राखेर राखौँ,
तर नबिर्सौँ— त्यसका ढोकामा उभिनेहरूको नाम
जातको अक्षरले छुट्याइएको छ।
एकातिर “समता, न्याय र विकास”का नाराहरू उफ्रिन्छन्,
अर्कातिर कर्पोरेट भ्रष्टाचारका कपटी कन्कालहरू
कमिशनका कथामा थर्कमान हुन्छन्।
तर “शान्ति” भन्न जान्ने,
“सत्ता” लिन कुशल,
“सत्य” बोल्न डराउनेहरूकै शासनमा छौं हामी।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।)
प्रतिक्रिया