भूराजनीतिक मुस्कान
तोमनाथ उप्रेती
रुसको सामरिक बाजा बजिरहेको छ,
युक्रेनको प्रार्थनामा बारुदको गन्ध छ,
अमेरिकाको आकाशमा डलरका बाजगाजा उड्छन्,
नेटोले उडाउँछ,
‘शान्ति’ नामको कागजको विमान,
जसको पखेटामा तेलको दाग छ।
चीनले बेल्ट र रोड बिछ्याइरहेको छ,
मन्दारको फूल झैँ, अफ्रिका र एशियामा
सपना रोप्दै छ, ऋणका बिरुवा,
भारतले रक्षा गर्दछ सीमामा,
चिया चुस्दै, अमेरिकी कफीसँग प्रतिद्वन्द्विता गर्दै,
“हामी लोकतन्त्रका पुराना प्रेमी हौं,” भन्दै।
नेपाल?
एउटा सानो बुद्धको थाल,
जहाँ चीनको हाँसो र भारतको खोकाइ
संगीत जस्तै मिसिन्छ,
कहिले मित्रताको माला,
कहिले सन्देहको छायाँ।
हे आत्मा!
भूराजनीति भनेको के हो?
ऋषिहरूको दृष्टिमा
यो मृगतृष्णाको व्यापार हो,
जहाँ शक्तिका सौदागरहरूले
शान्तिका फूल किन्छन्,
र युद्धका काँडा बेच्दछन्।
कसैले भन्यो:
“रुसले युक्रेनमा छाती खोल्यो,”
“पश्चिमले प्रतिबन्धको वर्षा गर्यो,”
“तेलको सन्तुलन टेढो भयो,”
तर भगवान् भने मुस्काइरहे,
“मनुष्यको अहंकार त अझै स्थिर छ।”
चीनको व्यापार बृक्षहरू हल्लिदा,
भारतले आफ्नो ‘आत्मनिर्भरता’ को झन्डा फहरायो,
अमेरिकाले सैन्य सम्झौताका कागजहरूमा
लोकतन्त्रका आँसु झार्यो।
तर भित्रभित्रै सबैले बुझ्थे—
शक्तिको खेलमा,
शान्ति एक ‘सस्तो ह्याशट्याग’ मात्र हो।
नेपालको चिया पसलमा बुद्ध बसिरहे,
हातमा गाउँले स्टीलको गिलास,
आकाशतिर हेर्दै भन्नुभयोः
“रुसको राइफल र चीनको ऋणभन्दा भारी,
अमेरिकी हाँसोभन्दा तेज,
भारतको प्राथमिकताभन्दा उच्च—
करुणा हो, मानवता हो।”
“आर्थिक ब्लकहरू बदलिन्छन्,
सैन्य गठबन्धनहरू बनिन्छन् र भत्किन्छन्,
तेलका दामहरू चढ्छन् र झर्छन्,
तर आत्मा?
त्यो त अझै भोकै छ,
करुणाका केही अन्नका दानाहरू खोज्दै।”
र म मुस्काएँ,
नेपालको भात–दालमा संसारको नक्सा खिच्दै,
चिनियाँ लगानीमा चिया उमार्दै,
भारतीय सन्देशहरूमा मिठास हाल्दै,
अमेरिकी शब्दहरूमा स्वतन्त्रताको मसलाले
स्वाद थप्दै।
र अन्ततः जब युद्ध थाक्छ,
शक्ति सुत्छ,
र बस्तुहरूको मूल्य घट्छ,
त्यसपछि शान्तिको आवाज आउनेछ—
खरानीको गन्धमा पनि फुल्ने,
युद्धको अन्त्यमा पनि हाँस्ने।
त्यो नै हुनेछ—
साँचो भूराजनीति,
जहाँ सीमाहरू भन्दा ठूलो हुन्छ आत्मा,
जहाँ शक्ति भन्दा ठूलो हुन्छ करुणा,
र जहाँ हामी सबै,
बुद्धको थालमा भात खान आउँछौं,
र चिया पसलमा शान्तिको चुस्की लिन्छौं।
प्रतिक्रिया