राष्ट्रसेवक र कर्तव्यका काँडा
तोमनाथ उप्रेती
घामजस्तै चम्केको कुर्सीमा,
राष्ट्रसेवक बस्छन्—
‘निष्कलंक’ को नकाबमा,
घुसको गन्धमा घाम ताप्दै।
रुपैयाँका रेखाहरूमा रमाउने
राष्ट्रसेवकको रङ्गीन रहर,
‘जनताको सेवक’ को वाक्यांशको वल्कनबाट
‘झोलामा झरेको झुट’ को जयजयकार।
कुरा त एउटा अडियोको मात्र हो—
तर स्वरहरू सर्पझैँ सर्छन्,
टेपको ट्याङ–ट्याङले
टेबुलमुनि लुकेको त्रासलाई तातो पार्छ।
राष्ट्रसेवकज्यू भन्छन्—
“यो मेरो स्वर होइन,”
तर नोटहरूका बन्डलहरूले हाँस्छन्,
पंखाले हल्लिएका पर्दाहरू
‘पारदर्शिता’को पर्दा च्यात्छन्।
अदालतमा होइन,
क्यामेराको काखमा खिचिएका मुद्रा,
र नेताको मुस्कानमा लुकेका
‘कर्तव्यका काँडा।’
घाममा सुकाइएको झुटझैं,
राष्ट्रसेवकको मुखबाट निस्किन्छ निर्दोषताको रस,
तर कोठाका कुनाहरूले बोलेको सुन्छ—
कसरी घुसको घाममा गन्ध फैलियो।
प्रधान पुरोहितज्यू बालुवाटार फर्कन पर्खिन्छन्,
नोटहरूको गन्ध र मतहरूको गणनाबीच
नेताहरू ‘न्याय’को नाटक खेल्छन्,
र जनताका आँखामा धुलो हाली हाँस्छन्।
यसैबीच,
जनताको भातको भाँडामा उबल्छ
सपना र तितो सत्य,
जहाँ रुपैयाँका राक्षसहरू नाच्छन्,
र न्यायका यज्ञ कुण्डमा हाँसोको हवन हुन्छ।
“मेरा हात सफा छन्” भनिन्छ,
तर कुर्सीका काठहरूले कुहिएको बासना छोड्दछन्,
र मुखका शब्दहरू ‘सफाइ’ भन्दै गर्दा
नोटका गन्धहरूले उनलाई धोइदिन्छ।
हे जनता!
यो नाटक घमण्डको ‘ग्रान्ड फिनाले’ हो,
जहाँ राष्ट्रसेवकको मुस्कान ‘मौन’को मुखौटा हो,
र भ्रष्टाचारको बाजा बज्छ,
बिहानीको चियामा डुबेको अखबारसँगै।
किनकि जब अन्तिम प्रेस विज्ञप्ति बन्छ,
अडियोको आवाज ओझेलमा जान्छ,
त्यसपछि पनि राष्ट्रसेवक कुर्सीमा बसिरहन्छन्—
रुपैयाँ गन्दै,
जनताको सपना मास्दै,
र न्यायको नाममा नाटक दोहोर्याउँदै।
प्रतिक्रिया