शान्ति त पाठशाला हो
तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार
बमबारीको बर्बर बैँस चराउन पठाएछन्,
नेतन्याहूको नानीहरूको नयाँ नाटक निस्कियो,
‘शान्ति ल्याउने बम’ भन्दै लात हानेछन् आकाशमा—
आकाशले हाँसेर, उल्टै बादलको बम फ्याँकिदियो!
इरानको इरानी इरिटेशन,
इजरायलको इज्जतमाथि इन्भेस्टमेन्ट,
इन्फ्लुएन्सका इन्सुलेसनभित्र
“आणविक कार्यक्रम” नामको डाडुपन्यु रुझाउँदै।
सत्ताको सिँढी चढ्न बमको सर्पिल सिँढी बनाउँदै,
गाजाका घाउलाई गाजर देखाउँदै,
“विजय!” भनेर विजयघोष गरियो,
तर बिजुली नै गएपछि बास्स भएको ब्रेकफास्ट!
“सत्ता परिवर्तन”को सपना हान्दा,
जनता सडकमा “सत्ताकै लागि सत्तासँगै” जुलुसमा,
बन्दीगृहमा बमबारी गरेर
बन्दीलाई ‘मुक्ति’ दिन हान्दा,
बन्दी त भागे, बमलाई टाउकोमा बजाएर।
इजरायली इन्टरसेप्टर इन्टेस्टाइन झैं फुटे,
इरानी इन्कमिङ मिसाइलमा “इन्कमिङ” लेखेर पठाइयो,
इजरायलका ईश्वरलाई इनबक्समा ‘Read’ आएन,
जति कराए पनि, आकाश शान्त, तर धुवाँ मात्र हाँस्दै।
डुम्सडे क्लकलाई डोरीमा झुण्ड्याएर
“युद्धविरामको घडी आयो” भन्दै फोटो खिचे,
तर घडीको सुईले भन्न भ्यायो—
“ए, भाई, म त समय गन्ने,
युद्ध रोक्ने होइन नि!”
बमको बर्बर बिस्फोटमा
बच्चाका बेलुन फुटे, तर नेता हाँसे,
“हामीले सुरक्षा दियौँ” भन्दै,
सुरक्षाको सर्टिफिकेटमा सास मात्र बाँकी।
राम्रो काम गर्नुपर्ने हातहरू
रक्सी बोकेर राती सेल्फी खिच्दै,
युद्ध जितेको सर्टिफिकेटमा
रगतका रेखा कोरिरहेछन्।
ठूला बम, साना दिमाग,
शान्ति ल्याउने नाममा चिहानको व्यापार,
युद्धविरुद्ध बोल्ने जो कोहीलाई
“राष्ट्रद्रोही” भन्दै हिँडेका छन्!
तर सुन, नेतन्याहू र ट्रम्पका ताजधारी सेनापति!
शान्ति त बारुदको बोरामा राखेर बेचीदैन,
युद्ध त विजय होइन, बजारको सौदा होइन,
यो त बाँचेका छातीमा बलिरहेको आगो हो।
शान्ति त पाठशाला हो,
जहाँ बच्चाले चकमा सुनको अक्षर लेख्छ,
युद्ध त पटके बाजा हो,
जहाँ बच्चाको हाँसो बमको धुवाँले दबाउँछ।
हामी युद्ध जितेर होइन,
युद्ध जित्न नदिएर विजयी हुन्छौं।
प्रतिक्रिया