काठको सडक (कविता)
तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार
काठको सडकमा हिँड्छ पीडितको पाइलो,
काठकै घरहरू, काठकै कुर्सी, काठकै कानहरू।
न्याय खोज्दै आएका घाउहरूले
यी काठका सडकमा कराउँछन्—
तर काठका कानहरूले सुन्दैनन्,
काठकै आँखाहरूले हेर्दैनन्,
काठकै हृदयहरूले धड्कँदैनन्।
काठको सडकमा आँसु झर्छ,
त्यो आँसुमा पनि धूलो टाँसिन्छ,
सहरको धूलो, बेवास्ताको धूलो,
मौनता र निराशाको धूलो,
र काठका सडकहरूमा हिँड्दा
चपक्क थिचिन्छ पीडाको पुकार,
र तिनै सडकले ध्वनिहरूलाई
आफ्नो खुट्टामुनि किचेर चोपिन्छ।
बमका छर्रा जति पैसाले बिर्साउन खोजे पनि,
घाउका खतहरू काठका सडकमा झल्झलाउँछन्,
हरेक पाइला काठको ठकठकमा घरीघरी भनिरहेछ—
“हे सहर, तिम्रा सडक त काठका छन्,
तर तिम्रो आत्मा अझै बाँसको होला कि?”
के तिमी अझै लोभी स्वरहरूमा सत्य सुनौँ भनी कुर्दैछौ,
कि तिमी आफ्नै मौनतासँग सम्झौता गरेर बस्छौ?
काठको सडकमा गाइहरू बसी सुत्छन्,
तर न्याय त जाग्दैन,
काठको सडकमा बिचरा सपना हिँड्छ,
तर सपना पूरा हुँदैन।
गाइहरूका चरणहरूमा समेत भिज्छ
सहरको उपेक्षा,
तर अदालतका ढोकामा अझै उभिएका छन्
काँचै घाउ र गुमेका कानहरूका कुरा।
काठका सडकहरूमा त असमान पाइला हुन्छ,
काठका सडकहरूमा त बेकारको हल्ला हुन्छ,
तर घाउका कथा त मौन हुन्छन्,
न्यायका देवता पनि लकले थुनिएका हुन्छन्।
हे काठका सडकहरू!
कहिले भिज्ने होस न्यायको वर्षामा?
कहिले सुन्ने होस युद्धका घाइतेहरूको आवाज?
कहिले बन्छौ लचिलो, र हृदयसँगै बग्ने?
कहिले बन्छौ यातनामा लस्किएका आत्माहरूको सुनुवाइ हुने बाटो?
हे काठका सडकहरू!
के तिमी साक्षी छौ ती पाइलाहरूका,
जसले आफ्ना कान हराए,
तर तिमीलाई आफ्नो कथा सुनाउन आइपुगे?
के तिमी सम्झन्छौ ती खतहरूलाई,
जसले तिमीलाई सिन्दुरे रङमा रंगाइदिएका थिए?
काठको सडक, तिमी बाँचिरहन्छौ,
तर पीडा हराउँदै जान्छ,
तिमी बाँचिरहन्छौ,
तर सहरका सपना सडेर जान्छन्,
तिमी बाँचिरहन्छौ,
तर न्यायका आवाजहरू
तिमीभित्रै थुनिन्छन्।
प्रतिक्रिया