logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • लाल सागरको रगत (कविता)

    लाल सागरको रगत (कविता)

    लाल सागरको रगत (कविता)

     

    तोमनाथ उप्रेती,

    लाल सागर,
    जहाँ सूर्यास्त सुनौलो हुन्थ्यो,
    आज तोपको छायाले रङ्गिएको छ।
    लाइबेरियाली झण्डा फर्फराउँदा
    समुन्द्रले शोक गाएजस्तै भयो।

    साना डुङ्गाहरू,
    रकेट-प्रोपेल्ड ग्रेनेडहरू बोकेर,
    लहरहरूमै सर्पझैं फनफनी घुमे,
    र शान्त सागरको छातीमा छेडेर
    इटरनिटीलाई अनन्त निद्रामा पठाए।

    जहाजका फलामका पर्खालहरू चिच्याए,
    नाविकका हातहरूले अन्तिम पटक
    रेडियोमा सहायता मागे,
    र समुद्र, मौन साक्षी बनेर
    लाल रङ्गका छालहरू फ्याक्दै गयो।

    सागरमा लासहरू,
    माछाहरूका लागि नयाँ प्रार्थना बने,
    र महासागरका हवाहरूमा
    फिलिपिन्सको कराह मिसियो,
    रुसी आँसुको नुनिलो गन्ध मिसियो।

    अपरिचित आक्रमणकारीहरू,
    नामविहीन, अनुहारविहीन,
    सागरको काखमा छाँया भएर आए,
    र रगतको स्याहीले युद्धको हस्ताक्षर गरे।

    “शान्त समुद्र” भन्ने पुस्तक
    फाटेर चिसो पानीमा भिज्यो,
    जहाजको नाम “इटरनिटी” थियो,
    तर मृत्युले उसलाई शाश्वत मौनता दियो।

    लाल सागर, लाल आँसु,
    लहरहरू प्रार्थनाका सन्देश बोकेर
    किनारसम्म पुर्याउँछन्,
    तर उत्तर कसैले दिन्न,
    के युद्ध कहिल्यै रोकिँदैन?

    शान्ति किन महँगो हुन्छ?
    रगत किन नयाँ सन्धिहरू लेख्छ?
    जहाजहरू किन चिहान बन्छन्?
    मानवता किन पानीमुनि डुब्छ?

    लाल सागरले अर्को लहर पठायो—
    सन्देश छ:

    “युद्ध तिमीलाई जहाज पनि खान्छ,
    मानिस पनि खान्छ,
    अन्तिममा तिमी आफैंलाई पनि खान्छौ।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार २१:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP