logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • आफ्नै हृदयमा रहेका पशुता चढाउ

    आफ्नै हृदयमा रहेका पशुता चढाउ

    आफ्नै हृदयमा रहेका पशुता चढाउ

     

    तोमनाथ उप्रेती

    पखेटा नै नभएका परेवालाई,
    उड्ने सपना बेचेर, आकाशको टल्किलो गगनमा चढाउने नाममा
    घाँटी रेट्छन्—
    ‘देवता रिसाउलान्’ भन्ने तर्कमा।

    पिँजडाको सञ्जालमै बाँचिरहेका ती बोकाहरू,
    देवीका थानमा सपनाहरू लुटेर,
    रगतका छालहरूमा नुहाउँछन्—
    धर्मको आडमा।

    ‘अहिंसा परमो धर्मः’ भनेर सस्तो स्टाटस हाल्नेहरू,
    बली दिने फोटोमा हाँसो देखाएर
    फेसबुकको ‘लाइक’ जम्मा गर्छन्।
    देवी प्रसन्न हुन्छिन् कि,
    गृहिणीका भाँडा बजाएरै थाहा पाइन्छ—
    मासु उम्लेको बास्नामा।

    देवता कहिले प्यासी भए र?
    रगत पिएर खुशी हुने देवी कहाँ छन् र?
    शिवको गालामा अश्रु चिट्ट परेको छ,
    ‘म रगत पिउँदिनँ’ भनेर,
    तर पुजारीले बोकाको कानमा फुक्दै छन्—
    ‘तिमी त भाग्यशाली हौ, स्वर्ग जानेछौ।’

    त्यो बोकाको सपनामा पनि बाच्ने रहर थियो,
    बाख्रा बनेर घाँस चर्ने रहर थियो,
    तर नाडी काटेर स्वर्ग बेचिदिए,
    बापतमा ‘धर्म’ लेखिएको बिल।

    बली नदिए अनिष्ट हुन्छ रे—
    धेरै त अनिष्ट यस्तै बोकाहरूको सपना मार्दा भएको छ,
    तर कहिले शिर उठाएर थाहा पायौं र?
    गढीमाईका मेला त रगतको होली हो,
    तर होलीमा रंग लगाउँदा पनि,
    कोही त हाँस्नै बिर्सिए।

    देवीको खुशी रक्तदान हो र?
    यदि हो भने,
    मानवको नाडी रेटेर किन नचढाउने?
    देवी रिसाउँछिन् रे,
    ‘मासु नचढाए’ भन्दै—
    तर कहिल्यै प्रसन्न भएको अनुहार देखिएको छैन,
    देवीका मूर्तिहरू त मौन छन्,
    रगतको खोलीसँगै।

    पुष्पको गन्धभन्दा,
    रगतको बास्ना चढाउँदा ‘पुण्य’ रे—
    त्यो पुण्यको घडेरी,
    कसरी फूल्ने हो?
    कसरी फुल्ने हो शान्तिको फूल,
    जब खुकुरीले काटिएको स्वर गुञ्जिरहेको हुन्छ मन्दिरको आँगनमा।

    देवता त टाढा छन्,
    मन्दिर नजिकैको भिखारीलाई ‘खसीको मासु बाँड्दै’
    पुण्य कमाउनेहरूको ताँती छ,
    तर बोकाले त प्रश्न गर्छ—
    “मेरो जीवनको मूल्य धर्मले तोकेको हो कि तिमीहरूको भोकले?”

    रगतको होलीमा नाच्नेहरूलाई,
    शिवको डमरुको आवाज सुनिदिँदैन,
    ‘अहिंसा परमो धर्मः’ भन्दै गुन्जिरहेको।
    किनकि खसीको रगतले नै कान बन्द पारेको हुन्छ,
    रगतले आँखा रातो बनाएको हुन्छ।

    त्यसैले,
    जब बली चढाउने बलवान बन्न खोज्छौ,
    देवता होइन,
    आफ्नै हृदयमा रहेका पशुता चढाउ—
    त्यो नै हो,
    साँचो बलि।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार २१:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP