कविताःउथलपुथलको प्राणप्रतिष्ठा
तोमनाथ उप्रेती
धूलो खान उभिएका वीरहरू,
धरहरा जस्तो उचाइका सपना बोकेर,
हातमा लोडसेडिङ मेटाउने लट्ठी लिई
जनताको घरछेउको बिजुलीका पोलमा टाँसिए,
तर सपनाहरू,
पानीमा तेलजस्तै तैरिए, घुल्न सकेनन्।
फूलले सुगन्ध गुमाउँदा बास्ना किन्ने भीड थियो,
गणतन्त्रका नारा,
सस्ता सेल्फीहरूको क्याप्सनमा सीमित हुँदा
राजनीति सेल्फी मुस्कानमा उथलपुथल देख्दै थियो,
तर जनता हाँस्दै थिए—
फेक आइडीको स्टाटसजस्तो माटोमा गाडिएका सपनाहरूमा।
जनयुद्धका पानाहरूमा रगतको दाग,
संसदका गल्लीमा स्पिकरको घण्टीमा बदलियो,
उथलपुथललाई पोका पारेर
चुनावको तागतमा बेचियो,
नारा लुटेर, प्राणप्रतिष्ठाको पूजा देखाए,
तर ईश्वर आएनन्—
मूर्ति मुस्काए मात्र।
गणतन्त्रका पाखुरा,
सामाजिक सञ्जालमा ह्यासट्याग बने,
फेडरालिजमले फिडमा ट्रेन्ड गरे,
तर संघीयताको प्राण,
ठेकेदारका कोठामा चिया पिउँदै निदाए,
उथलपुथलको हास्य बनेर,
पार्टीका भित्तामा पोष्टरजस्तै टाँसिए,
र जनताको पीडा—
लाइक र कमेन्ट बटुल्ने कुरा बन्यो।
सपना हेरिसकेका आँखाहरू,
अब क्रान्तिका पोस्टर हेर्दैनन्,
स्लोगनहरूको कविता पढ्दैनन्,
कार्टुनहरूको संसद हेर्छन्,
जहाँ चरा जस्तो उड्ने नेताहरू
लोकतन्त्रका काँढाहरूमा अड्किएका हुन्छन्,
र भन्छन्—
“यो हो, परिवर्तनको प्राणप्रतिष्ठा!”
प्रतिक्रिया