त्याग–यज्ञमा शान्ति–कुसुम
तोमनाथ उप्रेती
शान्ति कुनै वायुको स्पर्श होइन,
यो त आत्माका सागरमा गाढा नीलो मौन हो,
जहाँ लोभका छालहरू मरेर
ईर्ष्याका आँधीहरू शमित हुन्छन्,
र स्वार्थका चन्द्रवदनहरू अस्ताउँछन्।
स्वार्थ त काँचो धागो हो,
जुन आफ्नै आगोले जल्छ,
अहंकारको भट्टीमा डढेर
मनको पवित्र फाँटमा खरानी हुन्छ।
त्याग त सुवर्णको जल हो,
जसले हृदयका रौद्र–स्फुलिङ्गहरू निभाउँछ,
र आत्मामा शान्तिको शशाङ्क उदाउँछ।
हे आत्मा, तिमी किन स्वार्थको मृगतृष्णा पछ्याउँछौ?
संसारको रजतमृगलाई छुन खोज्दा
अलिकति स्वर्ग मरेर तिमीभित्र पग्लिन्छ।
त्याग नै साँचो मयूरपंख हो,
जसले तिमीलाई स्वर्गका पथमा उडाउँछ।
त्याग भनेको त
आत्माका अन्धकार कोठामा दीप प्रज्वलन गर्नु हो,
जहाँ लोभको शृङ्खला भाँचेर
ईर्ष्याका नील रेखाहरूलाई मेट्नु हो।
त्याग त अश्रु–मिश्रित मुस्कान हो,
जसले अरूको दुःखलाई आफ्नो काखमा राख्छ,
र करुणाका नदीहरू बगाउँछ।
त्याग भनेको
स्वार्थको छालमा क्षितिज हेरेर बस्नु होइन,
स्वयंलाई बन्धनका डोरीबाट खोलेर
जन–हितको आकाशमा उड्नु हो।
यो त्याग, वीरता हो,
यो त्याग, आत्म–सत्ता हो,
यो त्याग, महाशान्तिको शंखध्वनि हो।
शान्ति त त्यही बेला फुल्छ,
जब लोभका गह्राहरू विसर्जन हुन्छन्,
अहंकारका दरबारहरू भत्किन्छन्,
र हृदयको उषाले करुणाको कली फुलाउँछ।
शान्ति त लोभबाट मुक्ति पाएको एकान्त जप हो,
सत्य–कर्म–करुणाको समवेत राग हो,
आत्मा र ब्रह्मबीचको मौन संवाद हो।
जुन दिन शिक्षकले तलबभन्दा बढी
विद्यार्थीको भविष्यमा ध्यान दिन्छ,
त्यो दिन शिक्षामा तपस्याको सुवास आउँछ।
जुन दिन किसानले आफ्नो पसिनालाई मात्र नभई
भोकका अन्त्यमा समर्पण गर्छ,
त्यो दिन अन्नमा अमृत झर्छ।
जुन दिन एक व्यक्ति आफ्नो ‘म’ र ‘मेरो’ त्यागेर
समाजको आँसु पुछ्छ,
त्यो दिन राष्ट्रको आत्मा पवित्र हुन्छ।
त्याग बिना कुनै भीमकाय भवन शान्तिको मन्दिर बन्न सक्दैन।
त्याग बिना युद्धको अन्त्य निस्कर्ष मात्र रहन्छ,
समाधान होइन।
त्याग बिना सम्बन्धहरू काँचका पालाजस्ता हुन्छन्,
जुन स्पर्शमा नै चकनाचुर हुन्छन्।
त्याग भनेको फगत भौतिक सम्पत्ति छोड्नु मात्र होइन,
यो त ‘स्वार्थ’ भन्ने राक्षसलाई हृदयबाट निष्कासन गर्नु हो।
जुन क्षण व्यक्ति आफ्नो स्वार्थलाई जलाएर
समाजको रक्षाका लागि जिउँदो पुल बन्न जान्छ,
त्यही क्षण इतिहासमा आत्मत्यागको स्वर्णिम पत्र लेखिन्छ।
हे मानव,
त्यागलाई अपनाउ, किनकि त्यही शान्तिको द्वार हो।
करुणा बगाउ, किनकि त्यही सहअस्तित्वको राग हो।
स्वार्थ मेट, किनकि त्यही मोक्षको आरम्भ हो।
त्यागले मात्र हृदयलाई उज्यालो बनाउँछ,
त्यागले मात्र समाजलाई सन्तुलित बनाउँछ,
त्यागले मात्र राष्ट्रलाई समृद्ध बनाउँछ।
आओ,
त्याग–यज्ञमा आफ्नो स्वार्थको आहुति दिऊँ,
र शान्तिको कमललाई
हाम्रो आत्मामा खिल्न दिऊँ।
प्रतिक्रिया