रक्तसुगन्धको हावा(कविता)
तोमनाथ उप्रेती
स्वेइदाका गल्लीहरूमा बारुदको गन्ध छ,
लासका छायामा उभिएका नांग्रा चिम्लिएका हात,
माटो भिजेको छ रगतले,
मृत शिशुहरूको चिहान बनेको छ सडक।।
बेदुइनको चीत्कार, ड्रुजको हृदयविदारक आर्तनाद,
गोलीका आवाजहरू, टुटेका सपनाहरू,
हावा बहन्छ रातको, रक्तसुगन्ध बोकेर,
शान्तिको कथा हराएको छ गन्धकिलो पोका भित्र।।
नेता बोल्छन् – ‘एकता चाहिन्छ, शान्ति चाहिन्छ’,
तर सेनाका बुटहरू अझै घस्रिरहेका छन्,
हावामा गुन्जिन्छ चिच्याउने आमाहरूको स्वर,
बालुवामा टुप्लुक्क पोखिन्छन् सपना झैं आँसुहरू।।
शान्तिको गीत सुन्न आतुर छन् यतिखेर,
बेदुइनका युवा, ड्रुजका बाबु, साना छोराहरू,
तर हातमा हतियार, आँखामा भयको धागो,
मुस्कान लुटिएको छ बारुदको चिहानमा।।
इजरायलको हावा उडिरहेको छ गगनमा,
अमेरिकी सन्धि कागजमा शान्ति लेखेको छ,
तर स्वेइदाका गल्लीहरूमा मृत्युको चिहानहरू,
फूल झैं छरिएका छन् रक्तरञ्जित लासहरू।।
अल्लाह, प्रभु, इश्वर, जो भए पनि,
तिमीले शान्तिको भाषा सिकाऊ यी बन्दुकधारीहरूलाई,
मृत्युको व्यापार नगरोस् उनीहरूले,
माटो सुगन्धित होस् रक्तसुगन्ध होइन।।
आमाहरूको चिहानमा जून झुल्कियोस्,
बालबालिकाको हासो फिर्ता होस् गल्लीहरूमा,
बारुदका सट्टा किताब बाँडियोस्,
रक्तपातको सट्टा प्रेम फिजियोस् आकाशमा।।
हे, स्वेइदाका मृत्युका साक्षी बनेका ती तारा हो,
शान्ति ल्याउनु अब तिमीहरूको जिम्मा हो,
रगतको खोला बन्द गर,
र नयाँ बिहान ल्याइदेऊ।।
प्रतिक्रिया