रगतको सागरमा आँशुका फूलहरू
तोमनाथ उप्रेती
रगतको सागरमा आँशुका फूलहरू उम्रन्छन्,
हतियारका आवाजबीच पनि कुनै हृदय धड्किन्छ,
भोकका सुँगुरहरूले रोटी चोरिरहेका छन्,
तर आत्माहरू अझै शान्तिको रोटी खाँदैछन्।
मेरो शरीर एउटा भिखारी बनेर उभिएको छ,
रगत दान गर्न खोज्दा अस्वीकारिएको मेरो सपना,
एक थान रोटीको महँगो मूल्यमा
मेरो हेमोग्लोबिन क्रसिफिक्समा झुण्डिएको छ।
भोक यहाँ युद्धभन्दा बलियो हतियार हो,
कुपोषित शिशुहरू हावा नचाहिने युद्धमा
तुरुन्तै पराजित हुन्छन्,
र मृत शिशुहरूको आँखामा देखिन्छन्
यी विश्वका सबै अधर्मीहरूको प्रतिबिम्ब।
कुनै बम विस्फोट नभएको क्षणमा पनि,
हाम्रो आत्मा भत्काइन्छ, हाम्रो चेतना लुटिन्छ,
यी बारुदका बादलभन्दा घना छन्
भोक र भेदभावका कालो बादलहरू।
तर, आत्मा कहिल्यै हराउँदैन,
हामी भोकले मर्छौं, तर मानवता
हाम्रो रगतका कणमा अझै घन्किरहेको हुन्छ,
र हरेक रगतको थोपा एउटा बीज हो,
जसबाट कुनै दिन मुक्ति फुल्नेछ।
जब म हात उठाउँछु र रगत दिन खोज्छु,
म आफ्ना साना हातहरू परमात्मासँग जोड्छु,
“हे आकाशका धर्ती, यी शिशुहरूको बाँच्ने अधिकार
तपाईंका तारा जस्तै अटल रहोस्” भनेर।
शरीरको भोकमा पनि आत्मा भोजन गर्छ,
पीडामा पनि आत्मा प्रेम गर्छ,
हतियारको छायाँमा पनि आत्मा गीत गाउने गर्छ,
र मृत्यूको गर्भबाट पनि आशाको सूर्य उदाउँछ।
यो युद्ध, यो नाकाबन्दी,
यी सन्धिहरू, यी झूट, यी गोलाबारी,
यी सबै हाम्रो आत्मालाई छुन सक्दैन,
किनकि हामी एकअर्कामा विश्वास गर्छौं,
र विश्वास नै परम स्वतन्त्रता हो।
रगत अब त गाजामा स्वस्थ छैन,
तर ऐक्यबद्धताको रगत अझै जीवित छ,
अझै बहिरहेको छ—
काँडाहरूबाट पनि फुलहरू फुल्नेछन्,
र यी युद्धका मरुभूमिबाट पनि
मानवताको हरियो बगैँचा उम्रनेछ।
प्रतिक्रिया