logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • प्रेरणा ( लघु कथा)

    प्रेरणा ( लघु कथा)

    प्रेरणा ( लघु कथा)

    तोमनाथ उप्रेती

     

    सहरको बिहान सधैं नयाँ आशा बोकेर आउँथ्यो। धूलोले भरिएको त्यो सडक, भीडले गुञ्जिने चोकहरूमा दीपक ध्यानसाथ आफ्नो किताब खोलिरहेको थियो। सपना ठूलो थियो—निजामती सेवाको उपसचिव बन्ने। त्यो सपना केवल पद, सत्ता वा मानको लागि थिएन। त्यो जनताको सेवा गर्ने, समाजमा योगदान दिने उत्साह थियो।

    दीपकको यात्रा सरल थिएन—तर त्यो उसको दृढ संकल्पको अग्निपरीक्षा थियो। गाउँको सानो कुना, जहाँ साँझपख चराहरूको चिरबिर मात्र सुनिन्थ्यो, जहाँ रातको अँध्यारोले बत्ति विहीन आँगन रित्तो पार्थ्यो, त्यहाँबाट ऊ निस्किएको थियो। त्यो अँध्यारो दृष्य छोडेर काठमाडौंको चहलपहल भरी सडकमा आइपुग्दा, झलझली चम्किला बत्तीहरू, टेम्पोका हर्न, मानिसहरूको हतारो, अनि अनगिन्ती आवाजहरूबीच ऊ आफ्नै सानो सासमा हराउँदै गयो। भीडमा ऊ केवल एउटा अनुहार थियो, अनि एउटा सपना थियो—सरकारी जागिरको सपना।

    पहिलो पटक लोकसेवा परीक्षा असफल भएपछि उसको मनमा निराशा जस्तै गाढा बादल कुहिरोझैँ घेरियो। प्रश्नपत्रका प्रश्नहरू उसको आँखामा तैरिए, अनि उसले लेखेको उत्तरहरू, परीक्षा हलमा बगेको पसिना र घडीको सुईसँगै बढेको मुटुको गति, सबै सम्झँदा उसको हिम्मत कमजोर भयो। तर, त्यो बादलले उसलाई घेरिरहँदा पनि दीपकले मन जित्न सक्यो। निराशाले होइन, निरन्तर अभ्यास र सही सोचले जीवनको बाटो सजाउने पथ प्रदर्शक बने।

    उसले आफ्नो कोठामा झुण्ड्याएको पोस्टर हेर्यो, जहाँ लेखिएको थियो: “सपना देख, तर जागेर।” यही वाक्यले उसलाई हरेक बिहान उठाउँथ्यो। ऊ बिहान चार बजे नै उठ्थ्यो, चिया उम्लँदै गर्दा उसले किताब पल्टाइसकेको हुन्थ्यो। किताबहरू उसको हातमा पुराना थिए, पाना पहेँलिएका थिए, तर त्यसमा लेखिएका अक्षरहरू उसको आँखामा सुनका अक्षर झैँ चम्किन्थे। उसले पढ्दा हावा चल्थ्यो, झ्यालका पर्दाहरू हल्लिन्थे, अनि त्यो क्षणमा उसलाई लाग्थ्यो—जुन कुराको लागि ऊ बाँचिरहेको छ, त्यो हो—ज्ञान, अभ्यास, र आफ्नै सपनालाई पक्रने आँट।

    दीपकले तालिका बनायो। बिहान संविधान र नीति पढ्ने, दिउँसो विश्लेषणात्मक लेख पढ्ने, बेलुका विगतका प्रश्नपत्र हल गर्ने। उसले थाहा पायो—सपना केवल किताबको अक्षरहरूसम्म सीमित रहेन। सपनालाई हरेक दिनको अभ्यासमा जिउनु थियो। उसले किताबमा कलमले आकाशको चित्र बनायो, किनकि उसलाई थाहा थियो, ऊ आकाश छुने यात्रामा थियो।

    पढाइमा ऊ घोकिन्थ्यो, तर घोक्दैनथ्यो। उसले पढेका कुरा लेख्थ्यो, टाँस्ने कागजहरूमा बुँदागत टिप्थ्यो, आफूले लेखेका नोटहरू रातमा सुस्ताएको सहरमा घाम लागेझैँ उज्यालो पार्थ्यो। कहिले-काहीं ऊ थाक्थ्यो, शरीर कमजोर हुन्थ्यो, आँखा पोल्थ्यो, तर त्यो क्षणमा पनि ऊ कागजमा लेखिरहन्थ्यो—‘म हार्दिन।’

    उसले बजारमा पाइने पुस्तकमात्र होइन, मन्त्रालयका वार्षिक प्रतिवेदन, राष्ट्रिय नीति दस्तावेज, संवैधानिक आयोगका लेखहरू समेत अध्ययनमा ल्यायो। उसले युट्युबका शैक्षिक भिडियोहरू हेर्न थाल्यो, सरकारी निर्णयहरू, न्यायालयका फैसलाहरू, राष्ट्र बैंकका मौद्रिक नीतिहरू, योजना आयोगका दस्तावेजहरू उसको दिमागमा रंगीन चित्र भएर घुम्थे।

    कहिले चिया पसलको कुनामा बस्दा ऊ कानले वरपरको आवाज सुनिरहेको हुन्थ्यो, तर मनमा प्रश्नहरूको उत्तर लेखिरहेको हुन्थ्यो। उसको साथीहरू रमाइलो गर्दै हाँसिरहेका हुन्थे, तर दीपकको हाँसो उसको किताबको पानामा मात्र खित्का थियो। कहिले-काहीं ऊ आकाश हेर्थ्यो, कालो बादल हेर्थ्यो, अनि भन्थ्यो—“आकाश ढाक्न तिम्रो क्षमता छैन।”

    दोस्रो प्रयासको परीक्षा दिनुअघि उसले आफ्नो आमाको हात समातेर भनेको थियो—“आमा, म यसपटक हार्ने छैन।” आमाको आँखामा आँसु झुल्किएको थियो। त्यो आँसुमा बगिरहेको थियो उसको संघर्ष, उसको पीडा, उसको दृढता।

    परीक्षाको दिन बिहान ऊ छिटो उठ्यो, स्नान गर्यो, चिया पियो। उसले आफ्नो पेन, प्रवेशपत्र, अनि पुस्तकमा लेखेको एक पाना जसमा उसको सपनाको ‘मन्त्र’ लेखिएको थियो, त्यो बोकेर परीक्षा हलतिर लाग्यो। भीड थियो, सबैका आँखा सपनाले भरिएका थिए। उसको पनि थियो।

    प्रश्नपत्र आयो। उसले सास फेर्यो। कलम चलायो। उसका अक्षरहरू साना थिए, तर अर्थमा विशाल थिए। उसले बुँदागत लेख्यो। तथ्य र तर्क जोड्यो। समयको हरेक सेकेन्ड उसले गन्दै लेख्यो। प्रश्नको पृष्ठभूमि, मुख्य भाग र निष्कर्ष सबैलाई अन्तरसम्बन्धित राखेर लेख्यो।

    परीक्षा सकियो। ऊ निस्कियो। मनमा शून्यता थियो। तर त्यो शून्यतामा पनि आशा थियो। ‘म सकेँ’ भन्ने सानो आवाज उसको मनको गहिराइबाट उठिरहेको थियो।

    नतिजा आयो। उसको नाम पहिलो नम्बरमा थियो। ऊ मुस्कुरायो। उसले किताब उठायो। पुस्तकका पाना पल्टायो। किनकि उसले थाहा पाइसकेको थियो—सपना पूरा हुनु भनेको यात्रा सकिनु होइन, नयाँ यात्राको सुरुवात हुनु हो।

    दीपकको यात्रा अब समाज सेवा तर्फ मोडिएको थियो। ऊ उपसचिवको कुर्सीमा बसेर काम गर्न थालेको थियो, तर उसको बानी उही थियो—बिहान चाँडो उठ्ने, नयाँ नीति पढ्ने, नयाँ कुरा सिक्ने। उसको कलम अझै पनि डायरीमा बुँदागत टिपिरहेका हुन्थे। किनकि उसले थाहा पाएको थियो—सपना कुनै गन्तव्य होइन, त्यो त हरेक दिनको कर्ममा लुकेको हुन्छ।

    र सहर फेरि उज्यालो हुन्थ्यो। भीड बढ्थ्यो। तर अब त्यो भीडमा दीपकको अनुहार फरक देखिन्थ्यो—आत्मविश्वास, निडरता र समाजको लागि केही गर्ने प्रतिबद्धता बोकेको अनुहार।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ६, सोमबार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP