जलवायु परिवर्तन र पृथ्वीको करुण क्रन्दन
तोमनाथ उप्रेती
सुन, पृथ्वीको हृदय रून्छ,
जब कार्बनको कालो वसन्त ओइरिन्छ आकाशमा,
जब सिमेन्टका पर्खालले हरियालीको श्वास च्यात्छ,
जब नदिका आँसु बाढी भएर पोखिन्छन् बस्तीहरूमा।
पृथ्वी—आमाको स्पर्श पोल्छ अब,
त्यो पोलाई हिमालको चिहानमा बिलाउँछ,
हिमतालका छाती च्यातिन्छन्,
र अविरल बग्छन् पीडाका आँसु,
रोल्पा, थ्यान्बो, अनि तामाकोसीको किनारमा।
सुन,
हावाका पखेटामा रडार जस्तै घुम्छ
मोबाइल टावरको निस्सासिएको विकिरण,
तिमीले उड्न खोज्दा, तिमी भँगेरा,
आकाशमा तिमी हराउँछौ।
सुन,
मनसुनको तालिका पागल भयो,
पहिले जुन समय वर्षिन्थ्यो, अब त त्यो समय आगो वर्षिन्छ,
पहिले जुन समयमा सिँचाइ हुन्थ्यो, अब सुख्खा लहर आउँछ,
रित्तिएको पोखरीमा जलझीलका माछाहरूले आकाश हेर्छन्,
मृत्यु भन्दा अघि अन्तिम आकाश देख्न, बाँचुञ्जेल बाँच्न।
सुन,
यो कार्बनको कुण्डमा डुब्दै गरेको हाम्रो पृथ्वी,
कसरी बाँच्ने भनी रोइरहेको छ,
मानव तिमीलाई सोध्दै छ—
के तिमीले सुन्दै छौ यसको करुण क्रन्दन?
पृथ्वीले तिमीलाई प्रश्न गर्दैछ,
कहाँ छ तिम्रो हरित विज्ञान?
कहाँ छ तिम्रो धैर्य, वृक्षारोपण गर्ने हात?
कहाँ छ तिम्रो आत्मा जसले जलवायु न्याय माग्न सक्छ?
स्मरण गर,
पृथ्वीले तिमीलाई पिउनका लागि पानी,
सास फेर्न वायु, बाँच्नका लागि माटो दिएकी छ।
अब तिमीले तिनको रक्षा गर्नुपर्ने समय आएको छ।
अब पनि नसुनेर,
यदि तिमीले कार्बनको कफन ओढायौ पृथ्वीलाई,
सम्झ,
संसारको आकाश कालो हुनेछ,
र तिमी आफैं आफ्नो मृत्युको गीत गाउँनेछौ।
तर,
यदि तिमीले हरियालीको गीत गाइदियौ,
वृक्षारोपणका साना बीजहरू रोपिदियौ,
नवीकरणीय ऊर्जाको बाँसुरी बजाइदियौ,
कार्बनको ऋणलाई क्षमामा बदलिदियौ,
त्यो दिन,
पृथ्वीले पुनः हरियालीका आँशु पोख्नेछ,
हावामा फूलको सुगन्ध फैलिनेछ,
र आकाशमा इन्द्रेणी साक्षी बन्नेछ—
पृथ्वी र मानवबीच पुनः सन्धि भएको,
पृथ्वी फेरि जीवन दिने ‘आमा’ भएको।
प्रतिक्रिया