युद्धको बिहान( कविता)
तोमनाथ उप्रेती,
सहर ओडेसामा बिहानीको घाम होइन,
ड्रोनको आवाजले बच्चा उठ्छ,
उनको नुनिलो आँसुले ब्रेडको स्वाद बदलिन्छ।
“ममी, यो क्यान्डी हो?”
आफूभन्दा सानो भाइलाई दिन खोज्छ,
तर त्यो क्यान्डी होइन—
यो युद्धको टुक्रिएको बमको टुक्रा हो।
एउटी आमा, ग्यास सिलिन्डरको छेउमा बस्छिन्,
र आँसु लुकाउँछिन् धुवाँको ओढारभित्र।
उनको कोखमा जीवन थिएन, अब सपना पनि छैन।
भगवानसँग कराउँछिन्:
“के तपाईंको पनि आकाश छ र?
त्यो आकाशमा किन यति धेरै ड्रोन उड्छन्?”
युद्धले भीख माग्दै हिँड्छ—
“शान्ति किन्ने हो?”
भन्छ—
‘डिस्काउन्टमा बेचिदिन्छु,
तर यसको कर रुसी र अमेरिकाले उठाउँछन्।’
मस्जिदमा शान्ति मागिन्छ,
मन्दिरमा शान्ति मागिन्छ,
गिरजाघरमा शान्ति मागिन्छ,
तर ड्रोनको आवाजले प्रार्थनालाई पन्छाउँछ,
मन्त्र र मेसिनगन एउटै लयमा गुन्जिन्छ।
शान्ति माग्दा बुलेटको चिठी आउँछ,
“आज शान्ति विदामा गइन्।”
सहरमा आगोको रङ छर्छ,
सेतो कपडा रातो हुन्छ,
बच्चाहरूका खेलौना अब चिता बन्न पुगे।
एउटी आमाको काखमा छोरी शीतल हुन्छ,
आमा रुँदैनन्, हाँस्छन्—
किनकि युद्धले आँसुको कर लिन्छ।
यो व्यङ्ग्य हो कि वेदना?
आमाले युद्धलाई हाँसोले तिरस्कार गर्छिन्।
युद्ध आफैं हाँस्छ—
“मानिसहरू मलाई किन रोक्न खोज्छन्?
म त उनकै घृणा र स्वार्थको सन्तान हुँ।”
त्यो हाँसोले हड्डी गिजोल्छ,
त्यसपछि युद्ध कफी खान जान्छ,
र अर्को ड्रोन पठाउँछ।
यसरी युद्ध, ब्रेकफास्टमा मृत्यु खाउँछ।
भगवद्गीता सम्झन्छु:
“अहिंसा परम धर्म।”
तर युद्ध हाँस्दै भन्छ:
“तर धर्मको नाममा त म जन्मेको।”
ईसा सम्झन्छु:
“प्यार गर्नूछ शत्रुलाई।”
तर ड्रोन भन्छ:
“हेर, तिमीलाई पनि म प्यार गर्छु।”
बुद्ध सम्झन्छु:
“क्रोध ज्वालामुखी हो।”
तर युद्ध भन्छ:
“म त आगोको व्यापार गर्छु।”
हे युद्ध,
एउटा आमाको दूधमा बारुद मिसाइदेऊ भनेर माग नगर।
एउटा बच्चाको निद्रामा मिसाइल ल्याइदेऊ भनेर माग नगर।
एउटा वृद्धको साँसलाई धुँवामा बदलिदेऊ भनेर माग नगर।
तिमीलाई रोक्ने कुनै गोडा छैन,
तर हात अझै प्रार्थनामा उठ्छ।
युद्धपछि,शहर उजाड छ,
बच्चाको कापीमा अक्षर होइन, रगतको छाप छ।
आमाको मुखमा गित छैन,
फगत चिहानको शान्ति छ।
र भगवान?
उनी मौन छन्।
किनकि युद्धको आवाजले प्रार्थना सुन्न सक्दैन।
प्रतिक्रिया