रक्तसिंचित सूर्यास्त (युद्ध कविता)
तोमनाथ उप्रेती
सिंहासनको भीरबाट खस्दैछ रक्तसूर्य,
जहाँ बन्दुकको धुवाँ र क्रन्दन मिसिन्छ,
अदृश्य चित्कारहरू आकाशको सिउँदोमा बलेका छन्,
युद्धको भिख माग्दै कोलाहलमा सहर झुकेको छ।
यहाँ बन्दुकहरू फूलको टुप्पामा उम्रेका छन्,
बालबालिकाको निद्रा फुट्ने बेलामा बारुदको गन्ध छर्छ,
शान्तिका पंखहरू जलाइन्छन्,
गोलाबारुदमा नुहाएको समयको तालमा।
सागरको किनारमा बगिरहेको छ लोहित तारा,
जहाँ आमा आफ्नो काखको गर्मी खोज्दैछिन्,
जहाँ बाबुको आँसु सुकेको जमिनमा झर्छ,
र युद्ध–ज्वरले पोल्दैछ आत्माहरूलाई।
तर युद्ध, तिमी के हौ?
के तिमी ईश्वरको क्रोधको एउटा परछाई हौ?
के तिमी मानवको अहंकारको अन्धकार हौ?
के तिमी स्वर्ग र नर्कको सीमामा नाच्ने एउटा खँडहर हौ?
युद्ध भनेको केबल रक्तको उत्सव मात्र होइन,
यो त आत्माहरूको बन्दीगृह हो,
आशाहरूको वधस्थल हो,
हामीले आफैंले बनाएको पिंजडामा बन्धक बनाउने शाप हो।
फिरंगी आकाशको तल युद्धको बादल मडारिन्छ,
हवामा सल्केको बारुदले पुर्याउँछ भविष्यको शिशुलाई,
र हामी ‘शान्ति’ का प्रार्थना गच्छौं–
तर युद्धका देवता हाँस्छन्, तीर्थका मन्दिरहरू भत्काउँछन्।
हे युद्ध,
हामीलाई निःशब्द कर,
हामीलाई सहृदयी बनाऊ,
हामीलाई आफ्नै भयसँग साक्षात्कार गराऊ,
हामीलाई सिँच जहाँ शान्तिको बीउ उम्रन्छ।
शत्रुता,
तिमी त छायामा हिड्ने बाघजस्तै भयकम्पित छौ,
मानव हृदयमा डेरा जमाएर युद्ध जन्माउँछौ,
र छाती च्यातेर निक्लिन्छौं,
हतियारका आवाजहरूमा आफूलाई पुष्टि गर्छौं।
तर म भन्न चाहन्छु,
युद्ध, तिमी पनि मर्नुपर्छ,
तिमीलाई पनि कफन चाहिन्छ,
तिमीलाई पनि चिहान चाहिन्छ,
ताकि पृथ्वीको आत्माले सास फेर्न सकोस्।
तिमी युद्ध,
तिमी बालकको हाँसो खोस्ने चोर हौ,
तिमी मायाको स्पर्श च्यात्ने खन्जर हौ,
तिमी तारा झार्ने कसमहरु तोड्ने चिसो आँधी हौ।
तर हामी,
हामी तिनै आमा हौं जसले मृत छोरालाई अँगालो हालेर रुन्छौं,
हामी तिनै बाबा हौं जसले सन्तानको सपनामा शान्तिको आकृति खोज्छौं,
हामी तिनै युवा हौं जसले रगतले लेखिन्छ स्वतन्त्रता गीत।
युद्ध, तिमी समाप्त हुनुपर्छ,
तिमी सहिष्णुता, प्रेम र करुणाको हातमा आत्मसमर्पण गर्नुपर्छ,
तिमी आँसुमा पखालिनुपर्छ,
तिमी पाखुरामा चुम्बन हुनुपर्छ,
तिमी फूलको सुगन्धमा पग्लिनुपर्छ।
हामी शान्तिका तीर्थ यात्री,
बारुदको गन्धलाई शीतल वायुमा परिवर्तन गर्ने ती योगी,
हामी युद्धको बाखला खोलेर स्वर्गको ढोका खोल्ने ती कवि,
हामी मृत्युको माटोमा पुनर्जन्मको बीउ रोप्ने ती किसान।
अहिले पनि,
इजरायलका रूखहरू युद्धको आर्तनाद सुन्दैछन्,
प्यालेस्टिनका आकाशमा ड्याङड्याङ गर्दै हेलिकप्टर उडिरहेका छन्,
नेपाली बन्धक बनेर भूमिगत बंकरमा आँसु पुछिरहेका छन्,
तर युद्धका बीचमा पनि एक सूर्य छ, जसले उषा ल्याउँछ।
शान्तिका ती सूर्यकिरणहरू,
आमाको काखमा फर्कने बालकको मुस्कान हुन्,
जसले बंकरको अन्धकारलाई छेड्दै उज्यालो गर्छ,
र भन्न सक्छ— युद्ध, तिमी गइसक्यौ।
हे युद्ध,
हामी तिमीलाई माफ गर्छौं,
तर तिमीलाई बिर्सदैनौं,
तिमी हामीलाई सिकाउँछौं कि शान्ति सस्तो छैन,
शान्ति त रक्तसिंचित सपना हो, जसलाई सजग आत्माहरूले रक्षा गर्छन्।
तिमी हाम्रो आँगनमा नफर्क,
नफर्क यो पृथ्वीमा,
नफर्क तिमी शिशुको निद्रामा,
नफर्क तिमी प्रेमीका चुम्बनहरूमा।
हामी युद्धको छायामा शान्तिको दिव्य दीप जलाउने छौं,
हामी मृत्युलाई पार गर्दै जीवनको जयगान गाउने छौं,
हामी रक्तबाट फुलाउँछौं शान्तिको रातो फूल,
र पृथ्वीलाई फेरि जीवनको स्वर्ग बनाउने छौं।
(रतुवामाई ५ , गोविन्दपुर, मोरङ)
प्रतिक्रिया