शान्तिको हरित यज्ञ
तोमनाथ उप्रेती
जब पृथ्वीको हृदयमा
पातहरूको सुस्केरा बज्छ,
शिशिरको चिस्यानमा एक हल्का ओस बगेर
हरियो सासको उज्यालो छर्छ,
त्यही बेला म महसुस गर्छु –
संसार निलो र सेतोको रंगीन आत्मा हो,
जसको अंग-प्रत्यङ्गमा हरियालीको मंत्र लेखिएको छ।
म पैतालाले हिउँ छामेर देख्छु,
त्यहाँ शीतलता मात्र छैन,
त्यहाँ हिमालयको ध्यान बसेको छ,
त्यहाँ सौन्दर्यको एकान्त साधना हुन्छ,
जहाँ प्रत्येक हिमकण मोक्षको बीउ बोकेर
हावामा उडिरहेको हुन्छ।
हे पृथ्वी!
तिमी कुनै बाजारको नाफा होइनौ,
तिमी त ध्यानको घण्टी हौ,
तिमी त सूर्यास्तमा पर्खालमा हिर्कने सुनौलो छायाँ हौ,
तिमी त मेरो श्वासको हरित संगीत हौ,
जहाँ म दिनभरको थकान र युद्धको रेखा पखाल्छु।
तर हे मानव!
तिमी किन थाक्दैनौ,
तिमी किन आफ्नै छायाँ काट्दै हिडिरहन्छौ,
तिमी किन विकासको नाममा विनाशको पोशाक ओढ्छौ,
किनकि तिमीले बिर्सियौ –
पृथ्वी कुनै कम्पनीको लगानी होइन,
यो त प्रत्येक आत्माको ऋण हो।
हे हावा!
तिमी कसरी बाँचिरहेछौ
जब निस्वासका सहरमा धुलोको घट्ट उडिरहेको छ,
हे पानी!
तिमी किन नरोउ
जब प्लास्टिकका छालले तिमीलाई लाजको कपडा ओढाइरहेछन्,
हे माटो!
तिमी किन चुर्लुम्म नबगौ
जब रासायनिक विषले तिमीलाई पखाल्दै छन्?
तर हे आत्मा!
तिमी त अझै बाँचिरहेछौ,
हरेक फुलको गन्धमा,
हरेक पातको पाताल हरियालीमा,
हरेक फोक्सोको मुस्कानमा,
हरेक बालकको अँगालोमा।
हरेक बिहान आकाश निलो हुन्छ
किनकि प्रकृतिले माफ गरिरहेको हुन्छ,
हरेक साँझ चन्द्रमा उदाउँछ
किनकि प्रकृतिले आशा देखाइरहेको हुन्छ,
हरेक वर्षाको थोपा पृथ्वीमा टल्किन्छ
किनकि प्रकृतिले प्रेमको भाषामा रोइरहेको हुन्छ।
तर हे मानव!
आफ्ना छोराछोरीका लागि एउटा सासिलो संसार राख,
तिनीहरूलाई प्लास्टिकको खेलौनाभन्दा
एक थोपा पानीको गहिरो स्वाद सिकाउ,
विकासको बहानामा पृथ्वीलाई मृत्युशैय्यामा नपुर्याउ,
नत्र एक दिन आकाश निलो देखिँदैन,
र चन्द्रमा छायाँमा बिलाउँछ।
म पवित्रताको बिउ छरिरहेको छु,
हरियालीको मन्त्र जपिरहेको छु,
शान्तिको नारा लेखिरहेको छु,
यस पवित्र पृथ्वीमा हरेक हाँसो साँचिराखिरहेको छु।
जङ्गल, पानी, हावा र पन्छीहरू
मानवको कठपुतली होइनन्,
यी त शून्यमा गुञ्जिने एक प्रकारको ध्यान हुन्,
जहाँ आत्माले आफूलाई भेट्छ,
जहाँ मुटुले शान्तिको तालमा नाच्छ।
मेरो सपना केवल सपना होइन,
यो त पृथ्वीको स्वास फिर्ता ल्याउने यज्ञ हो,
जहाँ म आफैँ बलिदान हुन तयार छु
प्रकृतिको पवित्रताको लागि।
यसैले, आउ हामी गाऔँ:
हरेक पौष्टिक माटो हाम्रो कसम हो,
हरेक शुद्ध हावा हाम्रो प्राण हो,
हरेक पिउन योग्य पानी हाम्रो धर्म हो,
हरेक हरित पात हाम्रो शान्ति हो।
प्रकृति साक्षी रहोस् –
हामीले अब
पृथ्वीको संरक्षणलाई पूजा ठान्नेछौं,
विकासलाई शान्तिको मार्ग बनाउनेछौं,
अस्तित्वलाई हरित आकाशमा लम्ब्याउनेछौं।
किनकि अन्ततः,
हरियाली नै मुक्ति हो,
शुद्धता नै क्रान्ति हो,
प्रकृतिसँगको समरसता नै साँचो आत्मज्ञान हो।
प्रतिक्रिया