कथाः हराएको आत्माको खोज
तोमनाथ उप्रेती
शिवम सिमेन्टको चम्किलो पोष्टरको ठीक तल, च्यातिएको, पेलिएको र वर्षाको थोपा सोसिसकेको एउटा कागज टाँसिएको छ। त्यसमा ठूलो अक्षरमा लेखिएको छ—“मानिस हराएको सूचना!” अनि छेउमै एक अनुहार—धुंधुलो, अस्पष्ट, तर कतै देखे-जस्तो। त्यो तस्बिर कुनै विशेष व्यक्तिको जस्तो छैन—नायक पनि होइन, अपराधी पनि होइन। त्यो तस्बिर ‘कोही’ होइन—तर ‘सबै’ हो।
त्यो अनुहारतिर हेर्दा लाग्छ, जस्तो हामी आफूलाई हेर्दै छौं—तर आफ्नै भुलिएको, बिर्सिएको अनुहार, जुन दर्पणमा होइन, स्मृतिमा देखिन्छ। त्यस कागजको अक्षरहरू झन् गहिरो लाग्छन् जब मनले प्रश्न गर्छ—तर त्यो मान्छे को हो?
मानिस शरीरको उपस्थिति मात्र हैन। ऊ आवाज हो, संवेदना हो, चेतनाको एउटा कम्पन हो। र जब त्यो कम्पन हराउँछ, संसारको कुनै कुनामा एउटा पोस्टर जन्मिन्छ। शरीर हराएको सूचना त केवल एउटा सतह हो; तर आत्मा हराएको संकेत गहिरो छ—अदृश्य, तर व्याप्त।
सहरको भिडमा, जहाँ हरेक अनुहार व्यस्त र अनिश्चित छ, त्यहाँ त्यो टाँसिएको कागज हाँक दिएझैं भन्छ—“कुनै मान्छे हराएको छ।” तर के साच्चिकै कोही मात्र हराएको हो? कि हामी सबै हरेक दिन अलिअलि हराइरहेका छौं?
कागजले चेतना झस्काउँछ। सायद त्यो सूचना कसैको हैन—हाम्रो आफ्नै हो।
हामी नै हौं त्यो हराएको मान्छे।
हामी नै हौं त्यो धुंधुलो अनुहार।
हामी नै हौं त्यो नाम, जुन कागजमा छैन तर समयको पृष्ठभित्र गुम्सिएको छ।
त्यो हराएको नाम खोज्ने यात्रा… यहीँबाट सुरु हुन्छ।
मानिस हराउँछ—शरीर होइन, आत्मा पनि। हराउनु भन्नाले हामीलाई के देखिन्छ? शारीरिक अनुपस्थिति? परिवारमा रुँदै गरेको आमा? प्रहरी चौकीमा दरखास्त? समाजिक सञ्जालमा भाइरल फोटो? तर के हराउनु त्यतिमा मात्र सिमित हुन्छ?
दर्शनले भन्छ—मानव अस्तित्व दुई भागमा बाँडिएको हुन्छ : देखिने र नदेखिने। देखिने शरीर हरायो भने सूचना पाटी टाँसिन्छ; तर नदेखिने चेतना हरायो भने सायद कहिल्यै खोजी हुँदैन। धेरैजसो मानिस यो दोस्रो प्रकारको हराइमा हुन्छन्।
कसैले आफ्नो बाल्यकाल हराएको अनुभव गर्छ; कसैले प्रेम; कसैले आस्था। अनि कोही त आफूभित्रको सम्पूर्ण अर्थ नै हराउँछन्।
एकदिनको कुरा हो—रामनाथ भनिने एक जना शिक्षक, घरबाट हिँडे। हरेक दिन झैं स्कूलतिर। तर त्यो दिन उनी स्कुल पुगेनन्। न त फेरि कहिल्यै घर फर्किए। छोरीले भनेकी थिई—”बुबा, तपाईं थकाइ लागे जस्तो देखिनुहुन्छ।” उनले मुस्कानसाथ जवाफ दिएका थिए, “थकान होइन, केवल शून्यता हो।”
यो संसारमा, हामीले अक्सर “हराउनु”लाई एक शोकको संकेतजस्तो हेर्छौं—एक अपूर्णताको छाया, एक टुटेको ध्वनि। तर गहिराइमा झरेर हेरियो भने, “हराउनु” स्वयम् एक खोजको आरम्भ हो। हराउनु भनेको गुमाउनु मात्र हैन, पुनः पत्ता लगाउने सम्भावनाको आँखा खोल्नु पनि हो। त्यसैले जब रामनाथ हराए, उनले संसार गुमाएनन्—उनी स्वयंको खोजमा निस्किए।
हामी कहिलेकाहीँ आफूलाई पनि गुमाउँछौं—तर त्यो गुमाउनु, त्यो हराउनु, एउटा मौन आग्रह हो : “फर्केर हेर, तिमीले कहाँ बिर्सियौ आफैंलाई?”
हाम्रो चेतनाको हराउने क्रम विस्तारै सुरु हुन्छ—पहिला हाम्रो निर्भीकता हराउँछ, अनि हाम्रो सपना, त्यसपछि हाम्रो संवेदनशीलता, अनि अन्ततः आत्मा। तर त्यो सम्पूर्ण हराउने कथा कहिल्यै ताजा खबर बन्दैन। समाजलाई “हराएको” कुरा त सुनिन्छ, देखिन्छ, टाँसिन्छ—तर “फेला परेको” खबर उसले मनन गर्न सक्दैन।
किन?
किनकि फेला पर्नु उज्यालो हो—र उज्यालोले नांग्याउँछ।
त्यो साँचो उज्यालो हो, जसले हामी भित्रका अध्यारोलाई छाम्न खोज्छ।
“हराउनु” पीडाको घोषणापत्र हो—त्यो करुणामय छ, साझा गर्न सहज छ। तर “फेला पर्नु”—त्यो त उत्तरदायित्व हो। त्यो खुशी हो जसले प्रश्न गर्छ—अब तिमी के गर्ने?
त्यसैले समाज पीडाबाट सहानुभूति दिन सिपालु छ, तर उत्सव बाँड्न डराउँछ। किनभने पीडामा हामी बराबरी हुन्छौं—तर खुशी बाँड्दा तुलना सुरु हुन्छ। पीडाले आँखामा आँसु ल्याउँछ; खुशीले मनमा आत्मबोधको डर।
हुन त साँचो दर्शन यही हो—खुशी पनि साट्न सकिने हो, यदि त्यो आत्मबोधबाट जन्मिएको हो भने।
तर हाम्रो समाज अझै त्यही च्यातिएको कागजको अक्षरमा अडिएको छ—जहाँ “हराएको सूचना” लेखिएको छ, तर “भेटिएको घोषणा” सधैँ ओझेलमा छ।
अनि हामी—अझै प्रतिक्षा गरिरहेका छौं, त्यो एकदिन… जब कोही चुपचाप आएर भित्तामा लेख्नेछ—
“भेटिएको सूचना : नाम—मानवता।
स्थान—तिमीभित्रै।
नोट—यसलाई अब कहिल्यै हराउन नदेऊ।”
यही मौनता समाजको चेतनाको दुर्बलता हो। जब कुनै मान्छे हराउँछ, त्यसको परिवार मात्र हैन, समाज पनि खण्डित हुन्छ। र जब त्यो मान्छे फेला पर्छ, त्यो पुनर्मिलन समाजका लागि पनि आत्म-पुनर्संयोजन हुन सक्छ।
रामनाथ त फेला परेनन्, तर उनको कथा फेला प-यो। उनले घर छाडेर कुनै पवित्र मठमा आश्रय लिएका रहेछन्। त्यहाँ उनी नामहीन, थरहीन जीवन बिताइरहेका थिए—”एक व्यक्ति होइन, एक आत्मा” भन्दै।
उनको लेखाजोखा अन्ततः उनका आफ्नै शब्दहरूमा भेटियो :
“म नाम हराएर बाँच्न चाहन्थेँ, जहाँ जिम्मेवारीको जन्जिर छैन, जहाँ म आफू हुँ।
म शरीर मात्र थिएन, म आत्मा थिएँ, म मुक्त हुनु चाहन्थेँ।”
उनको कथा सुनेर कसैले भन्यो—“यो त भगौडाको कथा हो।” तर एक साधुले उत्तर दिए—“भगौडा होइन, आत्मा खोज्न निस्किएको एक आत्मा हो।”
उपनिषद् भन्छ :
“आत्मानं विद्धि” — आफूलाई जान।
हामीले हराएको सूचना टाँस्दा नाम र ठेगाना लेख्छौं, तर दर्शन भन्छ—मानिस हराउँछ, जब ऊ आफूलाई चिन्दैन।
‘हराउनु’लाई दर्शनले एक अध्यात्मिक जागरणको संकेत मान्छ। जब मानिसको आत्मा समाजको कृत्रिम चोला च्यातेर बाहिर निस्कन्छ, त्यही क्षणलाई ‘हराएको’ भनिन्छ।
त्यो हराउनु एक प्रकारको पुनर्जन्म हो।
पोस्टर अझै त्यहीँ छ—विलिन हुँदै, पानीले बगाउँदै। तर मानौँ त्यसको अक्षर अझै हाम्रो चेतनामा बोलिरहेका छन्—
“हराएको मान्छे भेटियो। तर त्यो पोस्टर हटाइन। किनभने त्यो पोस्टर अब एउटै व्यक्तिको बारेमा थिएन—त्यो त हामी सबैको कथा बनिसकेको थियो।”
त्यो पोस्टर अहिले पनि सहरको कुना-कुना टाँसिएको छ—कतै भित्ताको चेपमा, कतै समयले मेटिँदै गएको छाँयामा। मानिसहरू हतारिँदै पास गर्छन्, एक छिन रोकिन्छन्, पढ्छन्, अनि बिर्सन्छन्।
तर, एउटै चिज सधैं बाँकी रहन्छ—त्यो अनुहार, जसलाई कसैले पूरा देखेको छैन। तस्बिर धुंधुलो छ, तर हेर्ने जो कोहीलाई लाग्छ—“कहीं यो म त होइन?” अनि उनी शंकाले भरिन्छन्, एक छिन घोत्लिन्छन्, अनि हिँड्छन्।
रात पर्छ। एकजना वृद्ध, थकित देखिने मानिस त्यो पोस्टरमुनि आएर उभिन्छन्। आँखा धेरै पढेका, तर अब बुझ्न बाँकी छ जस्ता। उनी कागजको कुनो समात्छन्, चुपचाप पढ्छन्—”हराएको सूचना।”
अनि अचानक, उनी खिस्स हाँस्छन्। मुनिको सन्देशमा आफ्नो नाम फेला पार्छन्। तर, त्यो नाम उनले वर्षौंअघि फ्यालिसकेका थिए—एक युद्ध, एक प्रेम, एक पीडाको कथासँगै।
“म त हराइसकेको थिएँ,” उनी बडबडाउँछन्, “तर यो पोस्टर त म अझै भेटिन बाँकी छु भनेर भन्छ।”
कसैले देख्दैन, त्यो वृद्ध त्यहीँ बसेर कलम निकाल्छन्, पोस्टरको छेउमा बिस्तारै लेख्छन्—
भेटिएको सूचना
नाम: एक पुरानो सपना
स्थान: मनको गहिराइमा
दशा: चुपचाप कुर्दै, फेरि टपक्क फुल्न
नोट: “मैले आफूलाई भेटें, भर्खर… साँझको मौनताभित्र…”
रात घनीभूत हुन्छ। शहर निदाउँछ। तर त्यो पोस्टर… त्यो पोस्टर अझै जागै हुन्छ—हराएको नामहरूमाथि ‘भेटिएको’ चेतनाको एउटा नयाँ हस्ताक्षर बनेर।
प्रतिक्रिया