धर्तीको जल–जात्रा
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
यो पृथ्वी,
एक अनन्त कुम्भ हो जलको,
जहाँ आँसु जस्ता नदीहरू बग्छन्,
जहाँ पर्वतका हृदयहरूबाट रिसिरहेको छ ओसिलो श्वास,
जहाँ हावामा उडिरहेका छन् तृष्णाका बूँदहरू
र पवित्र रजस्वला आकाशले बाँकी राखेको छ जीवनको रस।
कहिले बर्सिन्छ ओझेल भएर,
कहिले हराउँछ छायाँमा,
यो पानी—
कुनै ऋषिको मौन तपस्या जस्तै थरथराउँछ पोखरीमा,
कुनै आमाको हाँसो जस्तै झरी बनेर झर्छ खेतहरूमा,
कुनै योगीको श्वास बनेर
धरतीका मुटुमा मिसिन्छ जलरूपी मन्त्रजस्तो।
तर,
मानवको तृष्णाले चुसेर सुखाउँदैछ
पानीका सपनाहरू।
चुरेका गर्भाशयहरू चर्किरहेका छन्,
हिमनदीका कपालहरू झरिरहेका छन्,
सिमसारका आँखाहरू सुख्दैछन्।
यी नदीहरू–
देवताको केशबाट झरेका गङ्गाजल हुन्,
तर हाम्रो स्वार्थका औंलाहरूले
तिनको सिन्दूर खोसेर
प्लास्टिक र रसायनले
आफ्नै मुहारमा कालो पोतेका छौं।
पानी मात्र पानी होइन,
यो ब्रह्माण्डको चेतना हो,
जीवनको मौन मन्त्र हो,
पृथ्वीको कमलमा झुल्केको
सूर्यको अमृत हो।
जब हामी
नदीका छालहरूमा आफ्ना स्वार्थका पुलहरू बनाउँछौं,
त्यतिबेला नदीको करुण स्वर
पृथ्वीका आकाशमा सुनिन्छ,
तर हामी अन्धकारमा दीपक खोजिरहेका हुन्छौं।
खडेरीले दिएको संदेशले भन्छ—
पानीलाई मात्र माग्ने होइन,
पानीलाई पूजा गर्ने समय आएको छ।
पानीलाई शुद्धता जस्तै संरक्षण गर्नुपर्छ,
पानीलाई जीवनको गुरुकुलमा सम्मान गर्नुपर्छ।
आकाशका आँखाबाट झर्ने हरेक बूँद
ऋषिको आशीर्वाद हो,
धरतीको गर्भबाट निस्कने हरेक झरना
जननीको पवित्र स्तनदूध हो,
हामीले त्यसलाई अपवित्र गरिरहेका छौं।
मौन भएर नभई
आत्मासँग संवाद गर्दै
हामीले पानीसँग प्रतिज्ञा गर्नुपर्छ—
‘हामी तिमीलाई बचाउँछौं,
तिमी हाम्रो आत्मा हौ,
हामी तिमीलाई हरपल जगेर्ना गर्छौं।’
पानी नै आकाशको आँसु हो,
पानी नै पृथ्वीको हाँसो हो,
पानी नै आगोको शीतलता हो,
पानी नै हावाको नमी हो,
पानी नै हामी हौं—
आउनुहोस्, जलको यात्रालाई
आत्माको यात्रामा परिणत गरौं।
प्रतिक्रिया