अश्रुधारा र बारुदबीच विलाप गर्दैछ आत्मा
तोमनाथ उप्रेती
ओ युद्ध !
तिमीले कुहिरो बनेर नीलो आकाश निल्यौ,
र सूर्यको सुनौलो किरणहरू
टुक्रिएर बारुदको धुँवामा विलीन भए ।
यहाँ,
भोकका आँशुहरू गोलाका आवाजसँग मिसिन्छन्,
कुपोषित शिशुहरूका रून नसक्ने ओठहरू,
मरुभूमिमा झरेका अन्तिम शिशिरजस्तै
मौन भएर झर्छन् ।
हेर,
दूधका लागि कराउने शिशुका स्वरहरू
क्याम्पमा टाँगिएका रगतले रङ्गिएका कपडाजस्तै
हावामा फर्फराउँछन्,
र तिनका आमाहरूका छाती
भोकको खरानीले पुरिएका छन् ।
हेर,
नेतन्याहूको जादूगरको हातले
आकाशबाट ‘क्वाडकप्टर’ झार्छ,
र बुलेट वर्षाउँछ,
ताकि रोटी खोज्न निस्किएका नानीहरू
रोटी होइन, मृत्यु बोकेर फर्किउन् ।
यो युद्ध,
देवताको कुनै युद्ध होइन,
यो त मानवताको मृत्युघण्टी हो,
जसको प्रत्येक घण्टीमा
माउका दूध र बालकका आँशुहरू
मिश्रित भएर घनघनाउँछन् ।
यहाँ,
नासेर अस्पतालको शल्यकक्ष
मन्दिर होइन,
यो रगतले भिजेको समाधि हो,
जहाँ प्रत्येक शल्यक्रिया
प्रार्थनामा परिणत हुन्छ,
र प्रत्येक सिलाइ
स्त्रीहरूको विलाप र बाबुको चिच्याहटमा हराउँछ ।
ओ मानवता,
तिम्रो अन्तिम सास फेर्दैछ गाजाको बालबालिकामा,
तिम्रा पवित्र सन्देशहरू
भोकले सुन्न नसक्ने कानमा गुञ्जिरहेका छन्,
तिम्रा शान्तिका सपना
मिसाइलका गर्जनमा च्यातिएका छन् ।
युद्ध तिमीले के जित्यौ ?
कुपोषित आमा ?
रित्तो बोतल ?
रोटीको बदलामा बम ?
गोलीको बदलामा आँशु ?
तर,
तिमीले हारेका छौ,
किनकि तिमी बालकका सपनाहरू जलाउन सक्दैनौ,
तिमी नानीको मुस्कानमा लुकेको
परमात्माको उज्यालोलाई
मेटाउन सक्दैनौ ।
शान्ति,
अब ओर्ल, ओ शान्ति !
यो बालकका पेटमा ओर्ल,
यो आमाको छातीमा ओर्ल,
यो अस्पतालका थाकेका हातमा ओर्ल,
ताकि भोकको साटो
दूधको सुवास फैलियोस् ।
हेर युद्ध,
हामी तिमीलाई अन्तिम चिट्ठी लेख्दैछौँ,
रगतको रंगमा होइन,
शान्तिका सपनामा लेख्दैछौँ,
ताकि इतिहासमा तिमी अपराधी लेखिईराख,
र हाम्रो मौनताले होइन,
हाम्रो क्रन्दनले तिमीलाई दोषी ठहर गरोस् ।
परमात्मा !
हाम्रो प्रार्थनालाई सुन्नू,
हामीलाई साहस देऊ,
शिशुको आँशु सुन्ने कान देऊ,
युद्धविरुद्ध बोल्ने हिम्मत देऊ,
शान्तिका बिउ बोकी हिड्ने पाइला देऊ,
र युद्धमा मरेको मानवतालाई फेरि बाँच्ने जीवन देऊ ।
(रतुवामाई ५, मोरङ)
प्रतिक्रिया