logo
  • २०८२ मंसिर १४ | Sun, 30 Nov 2025
  • हेमसागर पोखरेलको “प्रिय हिमाल” : हाइकु संग्रहमा हिमालयको आत्मा, राष्ट्रको पहिचान र मानवीय विवेक

    हेमसागर पोखरेलको “प्रिय हिमाल” : हाइकु संग्रहमा हिमालयको आत्मा, राष्ट्रको पहिचान र मानवीय विवेक

    हेमसागर पोखरेलको प्रिय हिमाल” : हाइकु संग्रहमा हिमालयको आत्मा, राष्ट्रको पहिचान र मानवीय विवेक

     

                                            

                         तोमनाथ उप्रेती

    बिषय प्रवेश

    नेपाली साहित्यमा हाइकु विधा कुनै नयाँ प्रयोग होइन, तर स्वाभाविक, मौलिक र गहिरो आत्मानुभूतिको स्तरमा पुगेर सिर्जना गर्नु दुर्लभ कुरा हो। त्यस दुर्लभताको उदाहरण हो— हेमसागर पोखरेलको हाइकु संग्रह “प्रिय हिमाल” (२०६८, वाणी प्रकाशन)। खोटाङमा २०२८ सालमा जन्मिएका पोखरेल शिक्षाले स्नातक भए पनि चेतनाले उनी धेरै ठूलो “दार्शनिक कवि” हुन्। उनका हाइकुहरू हिमाल, राष्ट्र, शान्ति, मानवता र अस्तित्वको सानोतिनो महाकाव्य जस्तै लाग्छन्।

    हाइकु, जसको मूल संरचना तीन पंक्तिमा आधारित हुन्छ, नेपाली साहित्यमा पोखरेलले यस संग्रहमा त्यसको सर्वोत्कृष्ट प्रयोग गरेका छन्। यस संग्रहमा जम्मा ३४१ वटा हाइकु समावेश छन्, जुन भावनात्मक, आध्यात्मिक र वैचारिक गहिराइको स्पष्ट सूचक पनि हो। प्रत्येक हाइकुमा जीवन, प्रकृति, समाज, राजनीति र मानव अवस्थाका विभिन्न तहहरू सूक्ष्म तर प्रभावशाली रूपमा अभिव्यक्त भएका छन्। “प्रिय हिमाल” शीर्षक आफैंमा अत्यन्त प्रतीकात्मक छ। यहाँ हिमाल भौगोलिक संरचना मात्र होइन; यो स्मृति, श्रद्धा, तपस्या, गौरव, पीडा, संघर्ष र अन्ततः शान्तिको मूर्त रूप हो। हिमाल कविको दृष्टिमा राष्ट्र–आत्मा र चेतनाको उचाइ बनेको छ।

    विषयवस्तु: हिमाल, राष्ट्र, मानवता र समय

    यस संग्रहको केन्द्रीय विषय हिमाल  हो, तर यहाँको हिमाल नेपाली चेतना, राष्ट्रिय पहिचान र अस्तित्वको मेरुदण्ड हो। हिमालको स्थायित्व, शान्ति र उचाइ कविले नेपाली आत्माको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। हिमालले भौगोलिक उचाइ मात्र नभई, मानवीय चेतना र आध्यात्मिक स्थिरताको सन्देश पनि दिन्छ।

    उदाहरणस्वरूप,

    “गुराँस फुल्दा
    डाँफे चरी फुरुंग
    जगतै मख्ख”

    यस हाइकुमा कविले प्रकृति–राष्ट्र–आनन्दको त्रिकोणात्मक सम्बन्ध देखाएका छन्। गुराँस र डाँफे, नेपालको राष्ट्रिय फूल र पक्षी, प्राकृतिक दृश्यको वर्णन मात्र होइन, राष्ट्रिय गौरवको लघु–महाकाव्य बनेका छन्। “जगतै मख्ख” भन्नाले नेपाली जनताको आनन्द र गौरवको सामूहिक अनुभूति प्रकट हुन्छ। यहाँ कविले प्रतीकात्मक भाषाको सुन्दर प्रयोग गरेका छन्। गुराँसको रङ्गीन फुल र डाँफेको मुक्त उडानले राष्ट्रिय स्वाधीनता र सौन्दर्यको संकेत दिन्छ। यो हाइकु जीवन र राष्ट्रप्रेमको अनुभवात्मक प्रतिबिम्ब बनेको छ।

    त्यस्तै,

    “हिउँको ढिस्को
    अथक आरोहणमा
    तेन्जिङ शेर्पा”

    तेन्जिङ शेर्पाको ऐतिहासिक आरोहणलाई तीन पंक्तिमा समेटेर कविले सम्पूर्ण नेपाललाई विश्वचेतनामा उभ्याएका छन्। यहाँ “अथक आरोहण” भौतिक चढाइ मात्र होइन; यो मानव साहस, अटूट इच्छाशक्ति र राष्ट्रिय स्वाभिमानको प्रतीक हो। यस हाइकुले नेपाली जनताको आत्मबल र पहिचानलाई उच्च शिखरमा उभ्याएको छ। ‘हिउँको ढिस्को’ भनेको चुनौती र प्रतिकूल परिस्थितिको प्रतीक हो, र ‘अथक आरोहण’ले कठिनाईलाई पार गरेर प्राप्त गरिएको गौरवलाई सूचित गर्दछ। यस हाइकुले सगरमाथाको विजयको कथा मात्र होइन, नेपाली जनताको समर्पण, परिश्रम र ऐतिहासिक गर्वको गहिरो अनुभूति दिन्छ।

    संग्रहका अन्य हाइकुहरू समाज, जीवन र मानव अवस्थाप्रति सजग छन्।

    “उँडे पुतली / धमिराका देवल / विजय चुम्न”

    सपना र आकांक्षाको प्रतीक ‘पुतली’ मार्फत लक्ष्यप्रतिको लगाव र उत्साह देखाइन्छ। यहाँ पुतलीले स्वतन्त्रता, लक्ष्यप्रतिको आकांक्षा र सृजनशील उडानको प्रतीक प्रस्तुत गरेको छ। ‘धमिराका देवल’ले स्थिरता, चुनौती र लक्ष्यसम्म पुग्ने मार्गको कठिनाइलाई दर्शाउँछ। ‘विजय चुम्न’ले यथार्थमा सफलता र आत्मसन्तोषको अनुभूति प्रकट गर्दछ।

    “चिसो बतास / आप्रवासी भ्रमण / बिरानो यात्री”

    विदेशिएको मानवको एक्लोपन, पीडा र वैराग्य रस प्रकट हुन्छ। यहाँ ‘चिसो बतास’ले कठिन परिस्थिति र एकान्तको अनुभूति दिन्छ, ‘आप्रवासी भ्रमण’ले मजबुरी र बाध्यताले विदेशिनु परेको जीवनको संकेत गर्छ। ‘बिरानो यात्री’ भन्नाले यथार्थमा केवल भौगोलिक दूरी नभई, आत्मिक र सांस्कृतिक विस्थापनलाई पनि देखाउँछ। यसरी यो हाइकुले समाजको यथार्थ र वैयक्तिक पीडाको सूक्ष्म चित्रण गरेको छ।

    “पीपल छाँया / हुण्डरीको आवेग / वियोगी धुन”

    सामाजिक जीवन र व्यक्तिगत पीडा, प्रेम र वियोगको सूक्ष्म चित्रण देखिन्छ। पीपलको छाँया, जो संरक्षण र स्थिरताको प्रतीक हो, यथार्थ जीवनमा सुरक्षा र आशाको प्रतिनिधित्व गर्छ। हुण्डरीको आवेगले मानव आकांक्षा, संघर्ष र उथल–पुथललाई जनाउँछ। ‘वियोगी धुन’ले सम्पूर्ण भावनात्मक अनुभवलाई संक्षेपमा प्रकट गर्दछ।

    “सुन्दर डाँफे / आफ्नै रनबनमा / अधिक प्यार”

    राष्ट्रप्रेम र प्राकृतिक सौन्दर्यको सजीव चित्र प्रस्तुत हुन्छ। डाँफेको सुन्दरता, स्वतन्त्र उडान र आफ्नो क्षेत्रमा आनन्दले राष्ट्रिय गौरवको अनुभूति दिलाउँछ।

    “कुहेको स्याउ / रातारात बेचेर / रुगण् सपना”

    सामाजिक यथार्थ, संघर्ष र मेहनतको परिणाम व्यक्त गरिएको छ। यसले सामान्य मानव जीवनको कठिनाइ, परिश्रम र अप्रत्यक्ष पीडा देखाउँछ।

    “शीतल हावा / भौतारिए सपना / शून्य विपना”

    सपना र विपनाको द्वन्द्वले मानसिक, दार्शनिक र आध्यात्मिक विमर्श सृजना गरेको छ। यहाँ ‘शीतल हावा’ आशा र ताजगीको संकेत हो भने ‘भौतारिए सपना’ अस्थिर आकांक्षा र खोजको प्रतीक हो। ‘शून्य विपना’ले लक्ष्य वा यथार्थको अभावमा उत्पन्न शून्यताको अनुभूति दिन्छ।

    “मधुर हावा / अविराम प्रयास / मोहित धुन”

    मानव प्रयास, निरन्तर प्रयास र आनन्दको अनुभूति प्रकट हुन्छ। यहाँ निरन्तर प्रयासले उपलब्धि र आनन्दमा परिणत हुने प्रक्रियालाई जनाउँछ।

    काव्यशास्त्रीय दृष्टिले, यस संग्रहमा प्रमुख रूपले करुण, शान्त, वीर, अद्भुत र वैराग्य रस प्रष्फुटित छन्। प्रतीक, विम्ब र मौन भावको प्रयोगले हाइकु  पढिने नभई अनुभूत गरिने कृति बनेको छ। कविको भाषा सरल भए पनि प्रभावकारी छ; अनावश्यक अलंकार प्रयोग नगरी, आवश्यक ठाउँमा ध्वन्यात्मकता र लयात्मकता सिर्जना गरेका छन्।

    यस संग्रहको ठूलो विशेषता भनेको साना शब्दमा विशाल अर्थ र गहिरो अनुभूति व्यक्त गर्ने कला हो। प्रत्येक हाइकुमा जीवन, प्रकृति, राष्ट्र, मानव अवस्था र आध्यात्मिक चेतनाको दर्शन समेटिएको छ। “प्रिय हिमाल” हाइकु संग्रह केवल नेपाली साहित्यमा हाइकुको मौलिक प्रयोग मात्र होइन, राष्ट्रिय पहिचान र चेतनासँगको सम्बन्धलाई सशक्त बनाउने ग्रन्थ बनेको छ।

    यस संग्रहले नेपाली साहित्यमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ—जहाँ हिमाल, प्रकृति र मानव जीवनको सम्बन्ध, समाज र राष्ट्रप्रतिको चेतना, र व्यक्तिगत तथा सामूहिक अनुभूतिको गहिराइ तीन पंक्तिमा प्रस्तुत गरिएको छ। यसरी, “प्रिय हिमाल” हाइकु–संग्रह नेपाली साहित्यका लागि सांस्कृतिक, दार्शनिक र आध्यात्मिक दृष्टिले अमूल्य योगदान हो।

    शिल्प र संरचना

    हाइकु सामान्यतः ५–७–५ अक्षर संरचना अनुरूप लेखिन्छ, तर पोखरेलको हाइकु मात्र गणनात्मक नभई भावनात्मक र प्रतीकात्मक संरचनामा आधारित छ। उनले शब्दलाई कञ्जुस्याइँ गरेर भावलाई अझ विशाल बनाएका छन्। यही हाइकुको ठूलो शक्ति हो।

    जस्तै:

    “ढुंगा खोपेर
    निशानीको अक्षर
    बुद्धका मन्त्र”

    तीन मात्र पंक्तिले इतिहास, धर्म, दर्शन र शिलालेखीय सभ्यताको लामो यात्रालाई अत्यन्त संक्षिप्त तर गहिरो रूपमा प्रस्तुत गरेको छ। यहाँ ‘ढुंगा’ सभ्यताको आरम्भ र मानव विकासको पहिलो चिन्ह हो, ‘अक्षर’ चेतनाको विस्तार र ज्ञानको यात्रा हो, र ‘बुद्ध’ शान्ति, करुणा र आध्यात्मिक उन्नतिको सर्वोच्च प्रतीक बनेका छन्। यिनै तीन शब्दले हजारौँ वर्षको मानव सभ्यता, चिन्तन र विश्वास प्रणालीलाई समेट्छन्। कविले कम शब्दमा गहिरो अर्थ व्यक्त गर्ने कला प्रयोग गरेका छन्, जसलाई संकेतमूलक न्यूनतावाद भनिन्छ।

    प्रतीक र विम्ब

    संग्रह प्रतीकहरूको दृष्टिले अत्यन्त समृद्ध र गहिरो छ। यसमा प्रयुक्त प्रत्येक वस्तु र दृश्यले साधारण अर्थभन्दा धेरै भिन्न र व्यापक भाव बोकेको छ। ‘हिमाल’ प्राकृतिक पर्वत नभई आत्मा, स्थायित्व र निरन्तर संघर्षको प्रतीक बनेको छ भने ‘डाँफे’ स्वतन्त्रता र सौन्दर्यको प्रतिनिधि हो। त्यस्तै ‘बुद्ध’ शान्ति र विवेकको प्रतिमूर्ति हुन् भने ‘छाल’ समयको अस्थिरता र भ्रमको संकेत हो। ‘धुलो’ अज्ञान र विघटनको प्रतीक बनेर समाजको अन्धकार पक्षलाई उजागर गर्छ भने ‘शीतल हावा’ आशा र नवजीवनको अनुभूति दिन्छ। ‘रीत्तो बगैँचा’ विफलता र निराशाको अवस्था दर्शाउँछ भने ‘पुतली’ सपना र स्वतन्त्रताको कोमल प्रतीक हो। यी सबै प्रतीकहरूले हाइकुलाई सौन्दर्यपूर्ण मात्र नभई गहिरो वैचारिक बनाएका छन्। उदाहरणस्वरूप, “रीत्तो बगैँचा / शिशिरको आँगन / उग्लियो बाँस” भन्ने हाइकुमा मौनता र आशाबीचको संघर्ष देखिन्छ। उजाड र शुष्क वातावरणको बीचमा बाँस उग्नु भनेको प्रतिकूल परिस्थितिमा पनि जीवन र सम्भावनाको अन्त्य नभएको सशक्त सन्देश हो।

     

    सामाजिक, राजनीतिक र दार्शनिक चेतना

    संग्रहमा पोखरेल प्रकृतिको सौन्दर्यमा मात्र हराएका छैनन्, उनी समयको नाडी समातेझैँ समाजका गहिरा पीडाहरू, अन्याय र विसङ्गतिप्रति पनि अत्यन्त सजग देखिन्छन्। उनका हाइकुहरू सौन्दर्यको प्रशंसा मात्र होइन, सशक्त सामाजिक चेतना बोकेका सूक्ष्म प्रतिरोधका स्वरहरू हुन्। “धमिलो फुल / अत्याचारी शासक / नुनिलो आँसु” भन्ने हाइकुमा ‘धमिलो फुल’ सुन्दर देखिने तर भित्री रूपमा कुहिएको भ्रष्ट सत्ताको प्रतीक बनेको छ भने ‘नुनिलो आँसु’ पीडित जनताको मौन क्रन्दन र सहनशीलताको कथा हो। तीन हरफमा कविले शासक–जनता सम्बन्धको विषमता, अन्याय र त्यसको परिणामस्वरूप बग्ने आँसुको तिक्तता चित्रण गरेका छन्। यो हाइकु राजनीतिक प्रतिरोधको अत्यन्त सूक्ष्म तर धारिलो आवाज हो।

    त्यस्तै, “धुलो उडायौ / झ्यालढोका फोरेर / बिझाए आँखा” हाइकुमा धुलो केवल भौतिक फोहोर मात्र होइन, चेतनामा जमेको अज्ञान, लोभ र अविवेकको प्रतीक हो। जब समाज आफैंले आफ्नै घरका झ्यालढोका तोड्छ, तब उज्यालो छिर्ने बाटो पनि बन्द हुन्छ। यहाँ मानिस स्वयं आफ्ना समस्या र पीडाको सिर्जनाकार बनेको गहिरो सन्देश छ। यो नैतिक अधोपतनमाथिको स्पष्ट व्यङ्ग्य हो।

    त्यसैगरी, “छाल गनेर / मृगतृष्णा जीवन / विदेशी बास” भन्ने हाइकु आजका लाखौँ युवाको पीडालाई सजीव बनाउँछ। ‘छाल गनेर’ अर्थात् जोखिमपूर्ण यात्रामा जीवन तौलिनु, ‘मृगतृष्णा’ जस्तो भ्रमित सपना पछ्याउनु र अन्ततः ‘विदेशी बास’ रोज्नुपरेको बाध्यता— यी सबैले देशभित्र अवसरको अभाव, असमान विकास र युवा पलायनको यथार्थलाई उजागर गर्छन्। तीन पंक्तिमा समेटिएको यो पीडा व्यक्तिगत मात्र होइन, राष्ट्रिय संकटको अभिलेख हो। यो सामाजिक चेतना, विरोध र करुणाको काव्यिक दस्तावेज बनेको छ।

     

    रस र भाव

    काव्यशास्त्रीय दृष्टिले हेर्दा संग्रहमा विविध रसहरूको सन्तुलित अभिव्यक्ति देखिन्छ। विशेषतः करुण, शान्त, वीर, अद्भुत र वैराग्य रस यहाँ प्रमुख रूपमा प्रष्फुटित भएका छन्। कविले हरेक हाइकुमा सङ्क्षिप्त संरचना भित्रै तीव्र अनुभूति र भावनाको गहिरो झिल्को दिन सफल भएका छन्। “चिसो बतास / आप्रवासी भ्रमण / बिरानो यात्री” भन्ने हाइकुमा करुण र वैराग्य रसको अत्यन्त मार्मिक संयोजन देखिन्छ। यहाँ ‘चिसो बतास’ले भावनात्मक रिक्तता र एक्लोपनाको अनुभूति जगाउँछ, ‘आप्रवासी भ्रमण’ले बाध्यताले जन्माएको परदेश जीवन देखाउँछ र ‘बिरानो यात्री’ले पहिचान गुम्दै गएको मानवीय अवस्थाको चित्र दिन्छ। देश छाडेर गएको व्यक्ति भौगोलिक रूपमा मात्र टाढा हुँदैन, ऊ आफ्नै अस्तित्वसँग पनि टाढिन थाल्छ। यहाँ पीडा केवल भौतिक कठिनाइमा सीमित छैन; यो आत्मिक, सांस्कृतिक र भावनात्मक विस्थापनको पीडा हो। पंक्तिले शरणार्थीझैँ बनेको मानव अवस्थालाई अत्यन्त सशक्त रूपमा उजागर गर्छ। एकातिर गहिरो करुणा प्रधान छ भने अर्कोतिर संसारप्रतिको विरक्ति र शून्यताको अनुभूति—वैराग्य रस—समेत प्रकट भएको छ। संग्रह मानव आत्माको सूक्ष्म व्यथा र चेतनाको अभिलेख बनेको छ।

    भाषा र सौन्दर्य

    पोखरेलको भाषाशैली सरल देखिए पनि भित्र गहिरो अर्थ र अत्यन्त प्रभावशाली भाव लुकेको हुन्छ। उनी अनावश्यक अलंकार, जटिल शब्द र कृत्रिम सौन्दर्यतामा अल्झिँदैनन्; बरु न्यून शब्द प्रयोग गरी तीव्र अनुभूति उत्पन्न गर्ने क्षमताले उनका हाइकुहरू सशक्त बनेका छन्। जहाँ आवश्यक हुन्छ, त्यहाँ उनले अत्यन्त सूक्ष्म तर सुन्दर ध्वन्यात्मकता सिर्जना गर्छन्, जसले कविता पढ्दा मात्रै होइन, अनुभूति गर्दा पनि मनभित्र गुञ्जिरहन्छ।

    “शीतल हावा / भौतारिए सपना / शून्य विपना” भन्ने हाइकु यसको उत्कृष्ट उदाहरण हो। यहाँ ‘शीतल हावा’ शान्ति र ताजगीको सूचक भए पनि भित्र कतै खोक्रोपन र अनिश्चितताको संकेत पनि छ। ‘भौतारिए सपना’ वाक्यले अस्थिर मनस्थितिलाई स्पष्ट गर्छ, जहाँ आकांक्षा कुनै ठोस आधार बिना दिशाविहीन हुँदै गइरहेका छन्। त्यसपछि आउने ‘शून्य विपना’ अत्यन्त गहिरो दार्शनिक अर्थ बोकेको छ। सपना र विपनाको भिन्नता नै हराएर जीवन शून्यतामा विलीन हुँदै गएको अनुभूति यहाँ प्रस्ट हुन्छ। ‘सपना’ र ‘विपना’ बीचको द्वन्द्वले मानसिक, दार्शनिक र आध्यात्मिक विमर्शलाई जन्म दिन्छ। यसरी तीन पंक्तिको सानो संरचनाभित्र कविले जीवनको अनिश्चितता, अस्तित्वको प्रश्न र चेतनाको द्वन्द्वलाई गहिरोसँग प्रस्तुत गरेका छन्।

     

    समग्र मूल्याङ्कन

    पोखरेलको “प्रिय हिमाल” हाइकु–संग्रह राष्ट्र, आत्मा, मानवता र दर्शनको सघन र सानोतिनो ग्रन्थजस्तै हो । यस संग्रहले पाठकको दृष्टि परिवर्तन गरिदिन्छ । यहाँ हिमाल हिउँले ढाकिएको भौगोलिक संरचना होइन; यो चेतनाको शिखर, आत्मबलको प्रतिरूप र अध्यात्मिक उचाइको प्रतीक बनेर उभिन्छ । डाँफे रङ्गीन पङ्ख फर्फराउने चरा नभइ,  राष्ट्रिय पहिचानको मुस्कान हो, स्वाधीनताको गीत हो र सौन्दर्यको जीवन्त प्रतीक हो । बुद्ध पनि यहाँ करुणा, सहिष्णुता, विवेक र सम्पूर्ण मानवताको अन्तिम आशाको दीप बनेर प्रकट हुन्छन् ।

    यस संग्रहको सबैभन्दा ठूलो शक्ति भनेको अत्यन्त साना र सरल शब्दहरू प्रयोग गरेर विशाल अनुभूति, गहिरो दर्शन र दीर्घ जीवन–अनुभवलाई अभिव्यक्त गर्ने कविको क्षमता हो । तीन पंक्तिमा उनले कहिले राष्ट्रप्रेम बोल्छन्, कहिले मानव पीडा, कहिले शान्ति र कहिले विद्रोह । उनका हाइकुहरू पढ्दा सौन्दर्यबोध मात्रै हुँदैन, मनभित्र प्रश्न उठ्छ, आत्मचिन्तनको ढोका खुल्छ र चेतना गहिरिन्छ । यद्यपि कतिपय स्थानमा विषयवस्तु दोहोरिएजस्तो अनुभूति हुन सक्छ, तर त्यो कमजोरी होइन; बरु हिमालजस्तै स्थायित्व, निरन्तरता र प्रतिध्वनिको परिणाम हो । हिमाल जति हेरे पनि नयाँ लागेझैँ, यी हाइकुहरू पनि पुनःपाठ गर्दा अझ गहिरा अर्थसँग भेटिन्छन् । यसरी “प्रिय हिमाल” नेपाली हाइकु परम्परामा एक गम्भीर, अर्थपूर्ण र स्मरणीय योगदान बनेको छ ।

     

    निष्कर्ष

    “प्रिय हिमाल” नेपाली हाइकु साहित्यको एक गम्भीर, चेतनाशील र उल्लेखनीय उपलब्धि हो। हेमसागर पोखरेलका हाइकुहरू मौन, अनुभूति र गहिरो चिन्तनको भाषा हुन्। यस संग्रहको समीक्षाले स्पष्ट प्रमाणित गर्छ कि साँचो हाइकु त्यहाँ छोडिएको मौन, तिनको बीचको खालीपन र पाठकको मनमा उठ्ने तरंगमा बोल्छ। पोखरेलका हाइकुहरू पनि यसै मौन शक्तिका वाहक हुन्—जसरी हिमाल आफैं मौन हुन्छ तर उसका मौनतामा हजारौँ वर्षको इतिहास, तपस्या, पीडा र शान्तिको आवाज लुकेको हुन्छ।

    संग्रहमा प्रकृति, राष्ट्र, जीवन, दर्शन र आध्यात्मिक चेतना एक–अर्कामा घुलमिल भएर प्रस्तुत भएका छन्। कविले हाइकुको सानो संरचनाभित्रै विशाल भावभूमि सिर्जना गरेका छन्, जहाँ शब्दहरूभन्दा अर्थ बोल्छ, दृश्यभन्दा अनुभूति गहिरो हुन्छ। पाठक यहाँ कविता पढ्दैन; ऊ हिमालको चेतनासँग संवाद गर्छ, आफ्नै आत्मासँग प्रश्न सोध्छ र जीवनतत्त्वको झिल्को देख्छ।

    यदि नेपाली साहित्यलाई हिमाली दृष्टिकोण, संवेदना र चेतनाबाट बुझ्न चाहने हो भने “प्रिय हिमाल” निश्चय पनि पढ्नैपर्ने कृति हो। यो संग्रह पढिने मात्र होइन, अनुभूत गरिने कृति हो—जो दीर्घकालसम्म मनमा प्रतिध्वनित भइरहन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर १४, आईतवार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP