हातकडीमा मानव अधिकार(कविता)
तोमनाथ उप्रेती
जय होस्! जय होस्!
तोप बोकेको शान्तिको,
हातकडी लगाएको लोकतन्त्रको,
तेलले नुहाएको मानव अधिकारको।
सभ्यताको सूट लगाएर
जंगलको नियम पढ्ने
विश्व प्रहरी आज फेरि
चोर समातेर सिंहासनमा बस्यो।
उसले भन्यो
“म तिमीलाई बचाउन आएको हुँ,”
र बचाइदियो
तेल, खनिज र नक्सा।
राष्ट्रपति
जनताले होइन,
हेलिकोप्टरले चुन्छ।
हामी पनि
टाढा उभिएर ताली बजायौँ
कहिले डरले,
कहिले चुप्पीको राष्ट्रवादले।
“वीरताभन्दा सावधानी बेस,”
भन्दै
सत्यलाई चुइँचुइँ
दूधमा घोलेर पियौँ।
अपनायक आयो
उसको छातीमा
देश टाँसिएको छ,
दिमागमा
मात्र ‘म’।
ऊ भन्छ
“म नै राष्ट्र हुँ,”
र राष्ट्र
माइक्रोफोन बन्छ।
उसका गल्ती
रणनीति कहलिन्छन्,
उसको अहंकार
दूरदृष्टि।
ऊ रिसाउँदा
सेना तयार,
ऊ डराउँदा
संविधान बिरामी।
नायक पूजा
धूप होइन,
यो त
बुद्धि जलाउने धुवाँ हो।
यहाँ
प्रश्न सोध्नु देशद्रोह,
मौन बस्नु देशभक्ति,
र जयजयकार
सबैभन्दा ठूलो नीति।
इतिहास
हातमा कागज बोकेर
मुस्कुराउँदै भन्छ
“तिमीहरू फेरि पनि
त्यही गल्ती गरिरहेछौ।”
साम्राज्य
धेरैपटक मर्छ,
तर
नयाँ नाममा
फेरि जन्मिन्छ।
हामी साना देशका नागरिक
डोरीमाथि हिँडिरहेका छौँ
एकातिर
तोपको हावा,
अर्कोतिर
चुपचाप ढलिरहेको विवेक।
तर सुन,
अपनायकहरू!
इतिहासको अदालतमा
हातकडी सुनको हुँदैन।
हरिणको चिच्याहटले
जंगलको आगो निभ्दैन रे
तर
चुप लागेका जनावरहरूले
आगो झन् छिटो फैलाउँछन्।
त्यसैले
भेनेजुएलाका लागि बोल्न
“बेला न कुबेला” होइन,
मानव हुनु नै
सबैभन्दा सही बेला हो।
प्रतिक्रिया