logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • रमानाथ भट्टराई : शिक्षा, समाज र समयसँग लडेका एक उज्यालो चेतना

    रमानाथ भट्टराई : शिक्षा, समाज र समयसँग लडेका एक उज्यालो चेतना

    रमानाथ भट्टराई : शिक्षा, समाज र समयसँग लडेका एक उज्यालो चेतना

                  तोमनाथ उप्रेती

     

    कुनै व्यक्तिको जीवन समयसँग निरन्तर संवाद गर्ने चेतनशील यात्रा हो। यस यात्रामा अधिकांश मानिसहरू समयका सहयात्री मात्र बन्छन्, तर केही विशिष्ट व्यक्तित्वहरू समयलाई दिशा दिने मार्गदर्शक स्तम्भका रूपमा उभिन्छन्। उनीहरूको जीवनले समाजलाई प्रश्न गर्छ, चुनौती दिन्छ र अन्ततः रूपान्तरणतर्फ डोर्याउँछ। रमानाथ भट्टराई त्यस्तै दुर्लभ व्यक्तित्व हुन्—जो शिक्षाको उज्यालो बोकेर समाजका अँध्यारा कुनामा दीप बनेर उभिनुभयो।

    शिक्षा उहाँका लागि जीवनदर्शन थियो। व्यक्तिगत सुख–सुविधाभन्दा सामूहिक चेतना र भविष्य निर्माणलाई प्राथमिकता दिने उहाँको दृष्टिले ग्रामीण भेगमा शिक्षा, अनुशासन र नैतिक मूल्यहरूको बीउ रोप्यो। कठिन भूगोल, सीमित स्रोत र सामाजिक चुनौतीका बाबजुद पनि उहाँले शिक्षालाई आशाको माध्यम बनाउँदै संस्थागत रूप दिनुभयो। विद्यालय संस्कार, नेतृत्व र सामाजिक उत्तरदायित्वको प्रयोगशाला हुन सक्छ भन्ने दृष्टान्त उहाँको जीवनले प्रस्तुत गर्छ।

    समाज, शिक्षा र मानवीय मूल्यबीचको सेतुका रूपमा उभिएका भट्टराईको योगदान समयसँगै झन् सान्दर्भिक बन्दै गएको छ। उहाँको जीवनयात्रा इतिहासको साक्षी मात्र होइन, भावी पुस्तालाई मार्गदर्शन गर्ने जीवित दस्तावेज हो।

    वि.सं. २००८ साल श्रावण २५ गते ताप्लेजुङ जिल्लाको तत्कालीन चाँगे गाउँ विकास समितिमा जन्म लिनु भएका भट्टराई, भट्टराई परिवारकै अग्रणी व्यक्तित्व नछत्र कमलापति भट्टराईका नाति तथा पिता दधिराम भट्टराई र माता द्रोपदा देवी भट्टराईका सुपुत्र हुनुहुन्छ। हिमाली भेगको कठोर भूगोल, अभाव र संघर्षबीच जन्मिएको यो बालक समयसँगै समग्र समाजको भविष्य निर्माण गर्ने चेतनाको वाहक बन्यो।

    झापा सुरुङ्गा हुँदै मोरङ जिल्लाको रतुवामाई–६ सौठालाई कर्मथलो बनाउँदै हाल विराटनगर–५ मा स्थायी बसोवास गरिरहनु भएका उहाँ भद्रता, शालिनता, सरलता र आत्मीय मुस्कानका प्रतीक हुनुहुन्छ। तीन छोरा, तीन बुहारी, एक छोरी, ज्वाँई तथा चार नाति–चार नातिनीका स्नेही अभिभावकका रूपमा उहाँको परिवार संस्कार र मूल्यको निरन्तरता पनि हो। ७५ वर्षको उमेरमा प्रवेश गरिरहँदा पनि उहाँको सक्रियता, जाँगर र ऊर्जाले १६ वर्षे युवालाई लज्जित पार्छ।यो उहाँको कर्मठ स्वभावको ज्वलन्त प्रमाण हो।

    शिक्षा भट्टराईको पेशा मात्र होइन, साधना थियो। चाँगे नि.मा.वि.बाट कक्षा १ देखि ७ सम्म प्रारम्भिक अध्ययन, आठराई तेह्रथुमको त्रिमोदन हाइस्कूलबाट एस.एल.सी., मेची कलेज झापाबाट आई.ए., महेन्द्र मोरङ कलेज विराटनगरबाट बी.ए., शिक्षा शास्त्र अध्ययन संस्थानबाट बी.एड. र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा एम.ए.—यो शैक्षिक यात्रा ज्ञानप्रतिको अटुट प्रतिबद्धताको इतिहास हो।

    नेपाल सरकारको सेवामा वि.सं. २०२६ सालमा खरिदार, २०२७ सालमा नायब सुब्बा र २०३१ सालमा शाखा अधिकृतसम्मको अनुभव संगाल्नु भएका उहाँ सम्भवतः प्रशासनिक क्षेत्रमा उच्च पदसम्म पुग्नु हुन्थ्यो। तर पिताजी दधिराम भट्टराईको असामयिक निधनले उहाँको जीवनको धार मोडियो। व्यक्तिगत पीडालाई सामूहिक सेवामा रूपान्तरण गर्दै उहाँ शिक्षाक्षेत्रमा होमिनुभयो—जहाँ उहाँको वास्तविक पहिचान निर्माण भयो।

    वि.सं. २०३३ सालमा सौंठा नि.मा.वि.को प्रथम प्रधानाध्यापक बनेर प्रवेश गर्नुभएको भट्टराईले त्यस विद्यालयलाई कक्षाकोठाको संरचनाबाट निकालेर एउटा जीवित शैक्षिक आन्दोलनमा रूपान्तरण गर्नुभयो। निरन्तर प्रधानाध्यापक रहँदै २०५१ देखि २०५६ सम्म सौंठा उच्च मा.वि.को प्राचार्यका रूपमा उहाँको योगदान ऐतिहासिक छ। पछि आदर्श उच्च मा.वि.मा सरुवा भई २०५६ देखि २०६९ सालसम्म प्रधानाध्यापककै पदबाट अवकाश पाउनु—नियुक्ति र अवकाश दुवै प्रधानाध्यापक पदमै—शिक्षा इतिहासमा विरलै देखिने संयोग हो।

    त्यो समय सौंठाबाट विराटनगर आउन साइकल यात्रा, खोलानाला तरेर नाउँ चढ्ने बाध्यता, हाप्पेन लगाएर विद्यालय पुग्ने अवस्था थियो। तर ती कठिनाइहरूले उहाँलाई विचलित गरेनन्। भवन, शिक्षक, शैक्षिक सामग्री, खेलमैदान, घेराबार—सबै व्यवस्थापन उहाँको नेतृत्वमा सम्भव भयो। हजारौँको सहभागितामा कार्यक्रम सञ्चालन गर्नु, प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक नतिजा ल्याउनु र विद्यालयलाई खेलकुदको केन्द्र बनाउनु—यी सबै उहाँको दूरदृष्टिको प्रतिफल हुन्।

    भट्टराई खेलप्रेमी, प्रशिक्षक र प्रेरक हुनुहुन्थ्यो। स्काउट मास्टरका रूपमा सयौँ विद्यार्थीलाई अनुशासन, नेतृत्व र सेवाभाव सिकाउनुभयो। वि.सं. २०३३ देखि २०३६ सालसम्म झापा, मोरङ, सुनसरीका खेलाडी ल्याएर प्रतियोगिता आयोजना गर्दै सौंठा उच्च मा.वि.लाई खेलकुदको हब बनाउनु सामान्य साहस थिएन।

    वि.सं. २०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेक अवसरमा विराटनगरमा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु, विद्यालयका विद्यार्थीलाई जिल्ला तथा क्षेत्रीय स्तरमा पदक दिलाउनु—यी सबै उहाँको शारीरिक क्षमता र प्रेरणात्मक नेतृत्वका प्रमाण हुन्।

    वि.सं. २०४६ र २०६० सालमा राष्ट्रिय शिक्षा पुरस्कार तथा २०५० सालमा गोर्खा दक्षिणबाहु पदक प्राप्त गर्नु उहाँको कर्मको सार्वजनिक मान्यता हो। शिक्षक सेवा आयोगको सदस्यका रूपमा लिखित तथा मौखिक परीक्षामा संलग्न भई उहाँले योग्य शिक्षक चयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

    सामाजिक जीवनमा उहाँ पदको पछि लाग्नुभएन। पद आफैँ उहाँको पछि आयो। रतुवामाई समाजका संस्थापक अध्यक्ष, हाल सल्लाहकार संयोजक, जेष्ठ नागरिक संघ, भट्टराई कुलवंश प्रतिष्ठान विराटनगरका अध्यक्ष, नगर शिक्षा शाखाका सदस्य, विद्यालय अनुगमन संयोजक तथा मकालु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष—यी सबै जिम्मेवारी उहाँको बहुआयामिक व्यक्तित्वका आयाम हुन्।

    वि.सं. २०३६ सालको जनमत संग्रहको उथलपुथलपूर्ण समय—जहाँ बुद्धिजीवी, शिक्षक र विद्यार्थी बहुदलको पक्षमा उभिँदा आक्रमणको खतरा थियो। सौंठा उच्च मा.वि.को हाताभित्रै आक्रमण प्रयास हुँदा उहाँको सजगताले जीवन जोगियो। उहाँ कुनै दलप्रति आस्थावान भए पनि त्यसलाई समाजमाथि थोपर्नुभएन। राजनीतिक विचारका कारण कसैलाई विभेद गर्नु हुँदैन भन्ने उहाँको मानवीय दृष्टि आज पनि अनुकरणीय छ।

    युरोपका १५ भन्दा बढी देश, अमेरिका र क्यानाडा जस्ता विकसित मुलुकहरूको भ्रमण गर्दै शिक्षा, संस्कृति, अर्थतन्त्र र राजनीतिक संरचनाबारे गहिरो अनुभव संकलन गर्नुभएका रमानाथ भट्टराई आज पनि अत्यन्त सरल, संयमित र मूल्यप्रधान जीवन बिताइरहनुभएको छ। विश्वका उन्नत समाजहरू नजिकबाट नियाल्ने अवसर पाएका उहाँले देखेको विकास अनुशासन, संस्थागत संस्कार, जिम्मेवार नागरिकता र नैतिक नेतृत्वको केन्द्रीय भूमिका रहेको तथ्य उहाँले गहिरोसँग आत्मसात् गर्नुभएको छ। ती अनुभवहरू उहाँको व्यक्तित्व, कार्यशैली र सोचमा स्पष्ट रूपमा प्रतिविम्बित हुन्छन्।

    तर यति समृद्ध अनुभव, ज्ञान र विवेक बोकेको व्यक्तित्वलाई राज्य र समाजले योजनाबद्ध रूपमा बौद्धिक सम्पत्तिका रूपमा उपयोग गर्न नसक्नु हाम्रो सामूहिक कमजोरी हो। नीति निर्माण, शैक्षिक सुधार, नेतृत्व विकास वा सामाजिक मार्गदर्शनजस्ता क्षेत्रमा उहाँजस्ता अनुभवी व्यक्तित्वको योगदान अमूल्य हुन सक्छ। अनुभवको सम्मान गर्न नसक्ने समाज प्रायः आफ्नै गल्ती दोहोर्‍याइरहन्छ।

    यद्यपि, यस्तो व्यक्तित्व हाम्रो समाजमै सक्रिय रूपमा उपस्थित हुनु आफैँमा ठूलो गौरवको विषय हो। रमानाथ भट्टराई एउटा व्यक्ति होइनन्; उहाँ अनुभव, विवेक र नैतिकताको सजीव प्रतीक हुनुहुन्छ, जसको उपस्थितिले समाजलाई निरन्तर आत्ममूल्याङ्कन र सुधारतर्फ प्रेरित गर्छ।

    यदि रतुवामाई समाजले भट्टराईको दीर्घ अनुभव, प्रखर विवेक र मूल्यकेन्द्रित चेतनालाई मार्गदर्शनका रूपमा आत्मसात् गर्न सक्यो भने सामाजिक उन्नति अपरिहार्य यथार्थ बन्छ। उहाँको जीवनले अनुशासन, निष्ठा र सेवाभावमार्फत समाज कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिन्छ। भट्टराई कुनै व्यक्तिको नाममा सीमित छैनन्; उहाँ समयले घोटेको चेतना, मूल्यले निर्देशित युग र अँध्यारोमा बाटो देखाउने उज्यालो दीप हुनुहुन्छ। उहाँको उपस्थितिले समाजलाई आत्मविश्वास, दिशाबोध र नैतिक साहस प्रदान गर्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष ३०, बुधबार २०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP