स्वार्थसंहिता(कविता)
तोमनाथ उप्रेती
यहाँ कानुन आँखामा पट्टी होइन
आँखा नै बन्द गरेर
नाताले हेर्छ।
न्याय तराजुमा होइन,
फोनकलमा तौलिन्छ
उनी हाम्रै हुन्।
संविधान मन्दिर हो रे
तर भित्र
दलालीको धूप बलेको छ
धारा–उपधारा
व्यापारिक सर्तझैँ
मोलतोलमा बिक्छन्।
सांसद कानुन बनाउँछन्
आफूलाई बचाउन।
मन्त्री निर्णय गर्छन्
आफ्नो नातिलाई नियुक्त गर्न
न्यायाधीश फैसला लेख्छन्
भोलिको अवकाशको
ठेगाना सोचेर।
यहाँ
हित घोषणा होइन,
हित लुकाउने कला सिकाइन्छ
स्वार्थ अपराध होइन
योग्यता हो।
बधाइको माला
कानुनी रस्सी बन्छ
खादाले हात बाँधिन्छ
सम्मानपत्रले विवेक गला थिच्छ।
पद पाएको दिन
घरमा फूल फुल्छ
संस्थामा फोहर।
तिमी निष्पक्ष रहनू
भनेर
उपहार थमाइन्छ
ऋण जस्तै
सधैं सम्झाइरहने।
अदालतमा
मुद्दा होइन,
सम्बन्ध पेश हुन्छ।
प्रमाण कमजोर हुन्छ,
तर पहुँच बलियो।
कानुन पुरानो छ रे
स्वार्थ
अत्यन्त आधुनिक
कानुन अस्पष्ट छ रे
तर फाइदा
ठ्याक्कै देखिन्छ।
यहाँ
नीति जनताको लागि होइन
जनता नीतिका लागि
बलि चढाइन्छ।
जनहित
भाषणमा बाँच्छ
कागजमा मर्छ
र कार्यान्वयनमा
समाधि पाउँछ।
स्वार्थको द्वन्द्व
समस्या होइन,
प्रणाली हो
संस्कृति हो
राष्ट्रव्यापी महामारी हो
जसको खोप
सधैं “अध्ययनमै” रहन्छ।
लोकतन्त्र
सबै बराबर
तर कानुन कानमा फुसफुसाउँछ
सबै होइन,
केही मात्रै।
संविधान जीवित छ
तर आत्मा अइसीयुमा
न्याय ढिला छैन
न्याय नै हराएको छ।
र
राज्य भन्छ
“हामी सुधार गर्दैछौं।”
जनता सोध्छ
“कुन स्वार्थको?”
प्रतिक्रिया