logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • स्वप्न र वास्तविकता

    स्वप्न र वास्तविकता

    स्वप्न र वास्तविकता

    तोमनाथ उप्रेती

     

    एक बिहान
    सोफीले संसदको ढोका ढकढक्याई
    “म को हुँ?” भनेर।

    सांसदहरू झस्किए
    किनकि
    यो प्रश्न
    घोषणापत्रमा थिएन।

    यहाँ प्रश्न सोधिँदैन
    यहाँ सत्य बोलिँदैन,
    सत्यलाई
    समितिमा थन्क्याइन्छ।

    सोफीले सोधी
    “तपाईंहरू किन नेता हुनुभयो?”
    एकले भन्यो
    “सेवाका लागि।”
    तर उसको आँखाले
    ठेक्काको फाइल पढिरहेको थियो।

    अर्कोले भन्यो
    “जनताको लागि।”
    तर उसको खल्तीमा
    जनताको सपना होइन
    पासवर्ड थियो।

    कानुन
    यहाँ न्यायका लागि होइन
    नाताका लागि लचिलो हुन्छ।

    अदालतमा
    सोफीले न्याय खोजिन्
    तर न्याय
    म्याद गुज्रिएको फाइलजस्तो
    कुनै दराजमा
    धुलो खाइरहेको थियो।

    यहाँ
    भ्रष्टाचार अपराध होइन
    अनुभव हो
    नैतिकता कमजोरी हो
    र विवेक
    राजनीतिक आत्महत्या।

    सोफीले फेरि सोधी
    “सत्य के हो?”
    संसदले उत्तर दियो
    “बहुमत।”

    उपनिषद् भन्छ
    सत्यं वद, धर्मं चर।’
    तर यहाँ सत्य
    प्रेस विज्ञप्तिमा मर्छ
    धर्म
    सत्ताको शपथमा बिर्सिन्छ।

    गीता भन्छ
    ‘कर्मण्येवाधिकारस्ते।’
    तर यहाँ कर्म
    फल नआएसम्म
    गरिँदैन।

    सोफी हाँसिन्
    यो दर्शनको देश होइन
    यो डीलको देश रहेछ।

    यहाँ
    चेतना जाग्दैन
    चेतना जगाइन्छ
    चुनावको बेला मात्र।

    जनता
    नागरिक होइन
    मतदाता हुन्
    मतदाता होइन भने
    अदृश्य।

    र सोफी
    फेरि पुस्तकभित्र फर्किइन्
    किनकि
    यहाँ दर्शन पढिँदैन
    यहाँ दर्शनबाट
    डराइन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २७, बुधबार १०:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP