कवि नरेन्द्र परासरको मुस्कान महिमा भित्रको आध्यात्मिक पाटो
तोमनाथ उप्रेती
संसारलाई जित्ने तिखो तर सहज अस्त्र मुस्कान हो, जुन केवल ओठमाथि खेल्ने शिशिरको फूल होइन, आत्माको सूर्य हो, जसले हृदयका अँध्यारा कुनाहरूलाई उज्यालो पार्दै आत्मामा उल्लासको प्रभात ल्याउँछ। यसको चुम्बकीय तरङ्गले शिथिल आत्मालाई शौर्य, निराश मनलाई नव–प्रेरणा र बिथोलिएको जीवनलाई बिनम्र उर्जाले झंकृत पार्छ, र जीवनमा उज्यालो भर्न कुनै बैँकको सुन, कुर्सीको मान, झिल्केका वस्त्र वा विलासी स्वाद आवश्यक पर्दैन, केवल मुस्कानले सुसज्जित आनन्द–चित्त आवश्यक पर्छ।
हाँसेर बाँच्नलाई चाहिन्न धेर केही
चाहिन्छ एक प्यारो आनन्द चित्त स्नेही
जम्मा गरेर सारा आकाश जूनतारा
पोल्टो भरेर राख्दा चम्किन्न है शितारा।।१।।
जुनतारा अर्थात् बाह्य सम्पत्ति र आकांक्षाका असंख्य टुक्राहरू पोल्टामा राख्दा पनि आत्माको उज्यालो प्राप्त हुँदैन, किनकि शीतल तारा जस्तै शान्ति र सन्तोष भौतिक चमकबाट होइन, भित्री आनन्दबाट जन्मन्छ। धन–दौलत र दुनियाँको धूमधाममा रमाउँदा पनि यदि मनको कोठा अँध्यारो छ भने त्यो सम्पत्ति भार मात्र हुन्छ, तर शितल मुस्कान भने आत्माको उत्तरदायित्वमा स्वतः स्फुरित हुन्छ, जसरी वसन्तमा फूल निष्प्रयास फुल्छन्।
जसरी वसन्तमा फूलहरू कुनै उद्योगबिना फुल्छन्, मुस्कान पनि प्रेम, दया, करुणा र सादगीबाट स्वतः फुल्छ, र यसको आनन्द असीम हुन्छ किनकि यसमा लोभ र स्वार्थको मलिनता हुँदैन। मुस्कानले सुसज्जित अनुहारहरू वसन्तका बगैँचाजस्तै हुन्छन्, जहाँ प्रत्येक दृष्टिमा आस्था, प्रत्येक स्वरमा करुणा र प्रत्येक व्यवहारमा कोमलता हुन्छ र यस्तै मुस्कान सृष्टिलाई सुन्दर, स्नेहिल र आत्मालाई पवित्र बनाउँछ। यसै सन्दर्भमा कविले भनेका छन्, “चाहन्छ उड्न पक्षी आकाशमा, तथापि छोपेर पिन्जरामा बन्दी नहोस् कदापि” जसमा पक्षी आत्माको प्रतीक हो भने आकाश आत्माको स्वतन्त्रता र सम्भावनाहरूको प्रतीक हो, तर पिन्जरा हाम्रो लोभ, मोह, अज्ञानता, अहंकार र निराशाका पर्खाल हुन्, जसले आत्मालाई थुन्छ र स्वतन्त्रता गुमाउँछ।
हामी शक्ति, कुर्सी, विलास र मानका लागि अनावश्यक रुपमा च्याप्प समातिरहेका हुन्छौँ, जसरी पिन्जरामा बसेर आकाश हेर्दा कहिल्यै उड्न नसकिने जस्तो हुन्छ। “च्याप्दा नचाहिँदा ती कुर्सी र मान धेर, मर्नेछ दिव्य आत्मा ध्वाँसो धुलो जमेर” भन्ने पङ्क्तिले लोभ र तृष्णाका कारण दिव्यता मर्नु र मुस्कान हराउनुको चेतावनी दिन्छ। यी ध्वाँसो र धुलो लोभ र तृष्णाका अवशेष हुन्, जसले आत्मालाई धूमिल बनाउँछन्। जीवनमा साँचो स्वतन्त्रता भनेको आत्मालाई पिन्जराबाट मुक्त गरेर आकाशमा उड्न दिनु हो, जुन प्रेम, सेवा, दया, करुणा र सादगीबाट प्राप्त हुन्छ। यही मुस्कान आत्माको विजय संगीत हो, जसले जीवनलाई सत्य, शान्ति र आनन्दतिर डोर्याउँछ, संसारलाई जित्नु भनेको मुस्कानसहित बाँच्नु र भित्री स्वतन्त्रता र आनन्दलाई कायम राख्नुमा निहित छ। यसरी मुस्कान आत्माको महासंगीत हो, जसले आत्मालाई अन्धकारबाट प्रकाशमा र पराधीनताबाट मुक्त आकाशमा पुर्याउने आध्यात्मिक यात्राको सहयात्री बन्छ। कवि भन्नुहुन्छ
मुस्कान नै उज्यालो हो फूलको वसन्त
जो निष्प्रयास फुल्ने आनन्द हो अनन्त
छोडेर हीनताका रोजौँ नवीन भाका
मुस्कानले सजेका बोकेर ओठ आँखा।।२।।
संसार जित्नलाई यो जिन्दगी नहार, सानन्द बाँच्नलाई मुस्कान यो नमार” पङ्क्तिले जीवनको आध्यात्मिक विजयको संकेत दिन्छ, जहाँ साँचो जित भनेको संसारका संघर्ष, बाधा र चुनौतीहरूलाई मुस्कानसहित अँगाल्दै बाँच्नु हो, तर संसार जित्ने नाममा यदि हामी आफ्नो स्वास्थ्य, परिवारको प्रेम, आत्म–आनन्द र हृदयको शान्ति गुमाउँछौँ भने त्यो जित होइन, त्यो हार हो। जब हामी निरन्तर प्रतिष्ठा, धन, शक्तिको प्यासमा आफूलाई थकाउँछौँ र हाम्रो अनुहारबाट मुस्कान हराउँछ, तब त्यो जित केवल बहिरी जीत हुन्छ, जसले भित्री जीवनलाई उजाड बनाउँछ। मुस्कान भनेको जीवनको स्वर र आत्माको स्पन्दन हो, जसले निराशा हटाएर, भित्री उज्यालो बालेर, जीवनलाई सार्थक बनाउँछ। संसारका सम्पूर्ण उपलब्धिहरू पनि यदि मुस्कानविहीन छन् भने तिनीहरू केवल भार हुन्, किनकि मुस्कान नभएपछि जीवनको आनन्द समाप्त हुन्छ।
मुस्कानको चमकले जीवनको अन्धकारलाई हटाउँछ, र आत्मामा नयाँ उर्जा र उल्लासको सञ्चार गर्दछ। त्यसैले, साँचो विजय भनेको संसारसँग लडेर होइन, संसारसँग प्रेमपूर्वक, मुस्कानका साथ, आनन्दपूर्वक बाँच्नुमा छ। मुस्कानको रक्षा गर्नु र सानन्द जीवनलाई अँगाल्नु नै सबैभन्दा ठूलो आध्यात्मिक विजय हो। “संसार जित्नलाई यो जिन्दगी नहार, सानन्द बाँच्नलाई मुस्कान यो नमार” पङ्क्तिले जीवनको आध्यात्मिक विजयको मूल मन्त्र दिन्छ। संसार जित्नु भनेको संघर्ष, बाधा र कठिनाइबीच पनि मुस्कानसहित बाँच्नु हो। तर संसार जित्ने नाममा जिन्दगीको आनन्द गुमायौँ, स्वास्थ्य गुमायौँ, परिवारको प्रेम गुमायौँ र आत्म–शान्ति गुमायौँ भने त्यो जित होइन, हार हो। साँचो विजय भनेको परिस्थितिलाई जितेर होइन, परिस्थितिमै मुस्कानसहित जीवन बाँच्न जान्नु हो। मुस्कान जीवनको स्वर, स्पन्दन र उत्सव हो, जसले निराशा हटाएर आत्मालाई उज्यालो बनाउँछ। संसारका सम्पूर्ण उपलब्धिहरू पनि मुस्कान बिना अर्थहीन हुन्छन्। त्यसैले, हामीले सानन्द बाँच्ने र आत्म–आनन्द कायम राख्ने लक्ष्य राख्नुपर्छ। यही आध्यात्मिक विजयीता हो, जसले जीवनलाई पवित्र, समृद्ध र अर्थपूर्ण बनाउँछ।
सरासरको कविताले हामीलाई सिकाउँछ कि साँचो मुक्ति बाह्य सम्पत्तिमा साँचो मुक्ति धन, मान र बाह्य विजयमा होइन, आत्माको शान्ति र सन्तोषमा निहित हुन्छ, र मुस्कान त्यस शान्तिको दिग्दर्शक दीप हो। मुस्कान केवल ओठको खेल होइन, यो त आत्माको गहिराइबाट फूटिएको सच्चा आध्यात्मिक साधना हो, जसले हृदयमा करुणा, प्रेम र दयाको उर्जा प्रस्फुटित गराउँछ, जसरी बिहानको पहिलो घामले पृथ्वीलाई स्पर्श गर्दा बिउझने फूलहरूमा जीवनको रस भरिन्छ। जीवनका तृष्णा र मोह पिन्जराहरू हुन्, जसले हाम्रो चेतनालाई कैद गर्छन्, र जबसम्म ती पिन्जराहरू भत्काएर आत्मालाई मुक्त गर्न सकिँदैन, तबसम्म आकाशमा उड्ने, स्वतन्त्रताको नीलिमा छुन र सम्भावनाको क्षितिज फैलाउन सकिँदैन।
कवि भन्नुहुन्छ
चाहन्छ उड्न पक्षी आकाशमा, तथापि
छोपेर पिन्जरामा बन्दी नहोस् कदापि
च्याप्दा नचाहिँदा ती कुर्सी र मान धेर
मर्नेछ दिव्य आत्मा ध्वाँसो धुलो जमेर।।३।।
मुस्कानको उर्जा सादगीमा, निःस्वार्थ सेवामा र निष्कलुषताको श्वासमा पाइन्छ, जहाँ कुनै लोभ र स्वार्थको धुवाँ हुँदैन, केवल पवित्र प्राणको उज्यालो मात्र हुन्छ। संसार जित्ने नाममा यदि हामीले आफ्नै जीवनको आनन्द र शान्ति गुमायौँ, परिवारको प्रेम गुमायौँ, स्वास्थ्य गुमायौँ र आत्मालाई क्षयी बनायौँ भने त्यो जित होइन, त्यो त एक आध्यात्मिक हार हो, जसले चेतनालाई उजाड मैदानमा फ्याँकिदिन्छ। साँचो विजय भनेको सानन्द बाँच्नुमा, शीतल मुस्कानका साथ प्रत्येक दिनलाई आशीर्वादमा बदल्नुमा र जीवनलाई हर्षका ध्वनिहरूले गुञ्जायमान राख्नुमा निहित हुन्छ। उषा र सन्ध्याजस्तै परिवर्तन र नवीनता अँगालेर जीवनलाई गतिशील राख्नु, अज्ञानताको साँघुरो ओडारबाट बाहिर निस्केर स्वतन्त्रताको आकाशमा आत्मालाई फैलाउनु नै आत्म–मुक्तिको प्रारम्भिक बाटो हो, जसले हामीलाई स्थायी आनन्द र बोधको लहरमा प्रवेश गराउँछ। यसरी मुस्कान, आनन्द र आत्म(स्वतन्त्रता नै जीवनको असल लक्ष्य हुन्, किनकि तिनले बाह्य संसारका सम्पूर्ण तुषारापात पगालेर आत्मालाई उज्यालोमा राख्छन् र हरेक दिनको साधारण क्षणलाई असाधारण पूजामा रूपान्तरण गर्छन्। कवि भन्नुहुन्छ
ओडार साँघुरो त्यो छोडेर निस्किजाऊ
सन्ध्या–उषा खुलेको आकाश हेर्न आऊ
संसार जित्नलाई यो जिन्दगी नहार
सानन्द बाँच्नलाई मुस्कान यो नमार।।४।।
मुस्कानमा लुकेको यो आध्यात्मिक र दार्शनिक ऊर्जा नै जीवनलाई विजय र शान्तिको यात्रामा बदल्ने पवित्र सार हो, जसले हृदयलाई अहंकार, ईर्ष्या र क्रोधका बादलहरूबाट शुद्ध पार्छ र चेतनालाई निर्मल नीलिमा प्रदान गर्छ। यस कविता र यसको आध्यात्मिक, दार्शनिक, साहित्यिक विमर्शले हामीलाई एउटा अटूट सत्य सिकाउँछ—जसले सानन्द बाँच्न सिक्यो, उसैले संसार जित्छ, किनकि साँचो जित त आत्माको मुस्कान हो, जुन संसारका सम्पूर्ण उपलब्धिहरूभन्दा उच्च हुन्छ। मुस्कान भनेको साधारण कुरा होइन, यो त आत्माको महासंगीत हो, जसले हाम्रो अन्तरतमलाई झंकृत गर्दछ, आत्मालाई आशा र प्रेमको रंगीन लहरले आच्छादित गर्छ र जीवनलाई पुष्पित बनाउँछ। यो हाम्रो चेतना र अन्तरात्माको सर्वोच्च स्वर हो, जसले प्रत्येक सासलाई साधना बनाउँछ र प्रत्येक पललाई प्रकाशको यात्रा बनाउँछ। हामीलाई जुन–तारा, लोभ र मोह चाहिँदैन, हामीलाई चाहिन्छ त केवल शीतल, सरल, निष्कलुष र निर्मल मुस्कान, जसले हरेक दिनलाई वसन्त बनाउँछ, हरेक क्षणलाई पूजा बनाउँछ र हरेक सासलाई साधना बनाउँछ। हामी पिन्जरामा बस्न जन्मेका होइनौँ, हामी उड्नका लागि जन्मेका हौँ, हामी हाँस्नका लागि जन्मेका हौँ, हामी प्रेमका लागि जन्मेका हौँ। त्यसैले जीवनको मूल मन्त्र यही हो—❝ संसार जित्नलाई यो जिन्दगी नहार, सानन्द बाँच्नलाई मुस्कान यो नमार। ❞
प्रतिक्रिया