गुलाफका काँडाले घोषणापत्र लेख्दैनन्
तोमनाथ उप्रेती
सूर्य अस्ताउँदा—
तेलको गन्धमा मिसिएको बारुद,
आकाशमा सन्त्रासले कलेवर ओढेको
र पृथ्वीले लाशको गन भरिएको समय हो यो।
साउदीले थाल्यो प्रार्थना,
युएईले बटुल्यो व्यापारको नक्सा,
तर युद्ध बोल्दैन…
गर्दछ—
चिच्याउँछ, बल्झिन्छ,
र आलो रगतले नक्सा कोर्छ।
कतारले बीच बजारमा हात उठायो—
“हामी मध्यस्थता गर्छौं!”
शब्दहरू चिया जस्तै तात्थे,
र युद्ध–
मिठो मुस्कानको फुस्रो बनस्पतिमा लुकेको सर्प।
ओमान, त्यो पुरानो पवित्र बुद्धि,
शब्दहरू बुन्छ—
अन्तर्राष्ट्रिय तानाबाना जस्तो,
तर इजरायलले बम खसाल्दा
वार्ता टेबलले भूकम्पको झड्का महसुस गर्यो।
सम्मेलन—
जहाँ नेताहरूले ‘गम्भीर चिन्ता’ व्यक्त गरे,
र अनौठो अनुहार बनाउँदै भने,
“यो भयानक कुरा हो!”
अनि फर्किए आफ्ना पाँचतारे होटलमा—
सुरक्षाकर्मीको घेराभित्र,
अमेरिकी हतियारको छायाँमा।
ओमानले आँसु झार्यो—
“हाम्रो कूटनीतिक मेहनतमाथि बम खस्यो!”
युएईले आँखा तेस्र्यायो—
“शान्ति चाहिन्छ, तर… इरान कमजोर बनेर!”
युद्धजस्तो गम्भीर कुरालाई पनि
दुईटै बाटो चाहिने रहेछ—
एउटा सार्वजनिक आलोचना,
र अर्को निजी सन्तोष।
कहिले काहीँ मौनता नै राजनीति हो—
बहराइन, कुवेत—
कसैको पक्ष नलिइकन,
दु:खको गन्धमा गहिरो सास लिइरहे।
अमेरिकी आधारभूतहरू जोगाउँदै—
“हामी त केवल… क्षेत्रीय स्थायित्वका समर्थक!”
इरानको मस्जिदमाथि खस्यो आकाशबाट आगो,
साउदी युवराजले भने—
“इस्लामिक ऐक्यबद्धताको आह्वान छ!”
तर ट्यांक भने इस्लाम बुझ्दैन,
र मिसाइलले नमाज सुन्दैन।
तेल–ग्यास–धेरै डलर,
शान्ति—बजार मूल्यमा बाँडिन्छ,
जहाँ युद्धविराम–सौदा हो,
र मृतक–”प्रभाव मूल्य” को collateral।
यिनीहरू अब प्रतिक्रियात्मक छैनन्—
बोल्छन्, छलफल गर्छन्,
तर…
बमझैँ उनीहरूको मौनता पनि विस्फोटक हुन्छ कहिलेकाहीँ।
बोर्डरमा ट्यांक,
भित्र वार्ता–
बाहिर युद्ध,
भित्र नाफा।
यो युद्ध होइन, यो “रणनीति” हो,
शान्ति होइन, यो “संयम” हो।
कूटनीति होइन, यो “दिगो लगानी” हो।
शान्तिका चेलाहरू…
जब युद्धको धूलोमा नुहाउँछन्,
के तिनले साँच्चै शान्ति लेख्छन्,
कि केवल नाफाको बहीखातामा शान्ति भर्छन्?
प्रतिक्रिया