गुम्बाको खरानीमा प्रार्थना(कविता)
तोमनाथ उप्रेती,
रातको एक बजेतिर,
जब प्रार्थना गरिरहेका थिएनन्,
उनीहरू सुतिरहेका थिए,
भगवानसँग साक्षात्कार गर्ने सपना देख्दै—
त्यही बेला स्वर्गबाट जेटहरू ओर्लिए,
र बमहरू फूलझैं खसे…
गुम्बाको मूर्तिहरू भाँचिएनन्,
तर ती आँखाहरू भाँचिए,
जेठको फुसको छानोभन्दा कमजोर,
ती श्वासहरूको डोरी काटिदिए हावाले।
हे बुद्ध,
यो कसको निर्वाण हो?
बमको आवाजले मन्त्र जप्ने रफ्तारमा ताली दिएको छ,
र तिमी हाँसिरहेछौ,
“करुणा” शब्दको शवयात्रामा।
कसैले भन्यो—
यो युद्ध शान्तिका लागि हो।
हासौं कि रुनु?
शान्तिका लागि टाउको फुटाउनु,
र चिहानहरूको लहरमा राष्ट्रिय गान बजाउनु?
र, बौद्ध गुम्बाको ढुंगा बोकेर भागिरहेका ती बालकहरूको पाइलामा
चिच्याइरहेको छ—
“शान्ति स्थगित!”
फागुनको फूलजस्तै पातलो तिनीहरूको पेट,
सङ्घारको भात नपाएर बाँचेका
र अब बमबाट मरेका।
हे सेनापति,
तिमीले विजयी घोषणा गर्दा,
ती ४ बालबालिकाका लाशहरू चुपचाप रहे,
तिमी “राष्ट्र” जोगायौ,
तर मानवता गुमायौ।
म्यानमार,
तिम्रो नामको अर्थ फेरि लेखौं कि?
जहाँ “प्रजातन्त्र” तिलस्मी कथा भयो,
र “विद्रोह” एउटा देउता?
हे युद्ध,
तिमी कस्तो भगवान हौ,
जो गुम्बामा प्रार्थना गर्दा बच्चाहरूलाई चिमोट्छौ,
आकाशबाट बम खसाल्छौ,
र फेरि मन्दिरमा माफी माग्छौ?
सत्य त के हो भने—
तिमीहरू मार्दै छौ,
फूलहरूलाई होइन,
मान्छेहरूको विश्वासलाई।
यो युद्ध,
कहाँ पुर्याउँदैछ हामीलाई?
शून्यमा, कि खरानी भएको करुणामा?
एकदिन यी बालबालिकाको आत्माले प्रश्न गर्नेछन्—
“के भगवानहरू पनि हवाई आक्रमण गर्छन्?”
त्यस दिन,
गुम्बाको खरानीबाट आवाज आउनेछ—
“करुणा बाँड्नका लागि युद्ध आवश्यक छैन।”
प्रतिक्रिया