स्मार्टनेसको जङ्गलमा मानव (कविता)
तोमनाथ उप्रेती
एक समय थियो
छिमेकीको भान्साबाट तातो तरकारीको धुँवा
हाम्रो भोकको सूचक घण्टी बजाउँथ्यो
आज
हामी ‘स्मार्ट’—तर आत्मामा मूर्छित—कंक्रिटको गुफामा कैद छौँ
मृत्यु नजिकै भयो भने पनि
हामी फेसबुकको स्टाटस र न्यूज पोर्टलको ‘रिप’ मा मात्र साँस फेर्छौँ।
हाम्रो जीवन एउटा एलसीडी पर्दा भयो
जहाँ हृदयको धड्कन होइन, नीलो नोटीफिकेसन प्रमुख छ
मनको भावना
एक “लोडिङ” चिन्हमात्र।
हामी ‘कनेक्टेड’ छौँ
‘कम्युनिकेट’
भिडियो कलमा फिस्स हाँस्छौँ
ओछ्यानको साथीसँग निश्चिन्त अनुहार हेर्न सक्दैनौँ
हामी अब मान्छे होइन, ‘डिजिटल म्युजियम’
जहाँ लाइक र फलोअर्सले अस्तित्व मापन गर्छ।
हाम्रो बच्चा रोए
उपाय? आमाको अँगालो होइन
‘युट्युब’को चिसो एल्गोरिद्म
माटोको सुगन्ध, झरीको चिसो, हजुरआमाको कथा
सबै ‘स्क्रिन-रिफ्युज’ मा बदलियो
भोलि प्रेम, करुणा, सहानुभूति
एउटा सर्भरले पठाउने इमोजीले सिक्नेछ।
हामी शहरका भव्य अपार्टमेन्टमा बस्छौँ
भित्र एक्लोपनको हल्ला छ
सामूहिक डिप्रेसन
मानव स्पर्शको कमी।
फाइबरको जंगल, स्मार्टफोनको जाल
यी सबैको महाराज हाम्रो जीवन
हामी नोकर? होइन, हामी आधुनिक दास
हात समाउनुअघि
फोनको लक खोल्छौँ
तर कसैले भनेको छैन
मनको ढोका खोल्ने।
साँझको अँध्यारोमा फोनलाई सुताऔँ
मानिसलाई जगाऔँ
आत्मीय मुस्कान, जीवित स्पर्श, साँचो संवाद
जीवनको अपडेट हुन्।
स्मार्टनेसको यो संसारमा
मानवलाई फिर्ता ल्याऔँ
फलोअर्स होइन, हृदयलाई फलो गरौँ
नोटीफिकेसन होइन, हृदयको आवाज सुनौँ
कंक्रिटको बजार होइन
मानव बस्ने बस्ती बनाऔँ।
प्रतिक्रिया