logo
  • २०८२ फाल्गुन २५ | Mon, 09 Mar 2026
  • आत्मकेन्द्रितताबाट मानवकेन्द्रिततासम्म  

    आत्मकेन्द्रितताबाट मानवकेन्द्रिततासम्म  

    आत्मकेन्द्रितताबाट मानवकेन्द्रिततासम्म

    तोमनाथ उप्रेती

     

    सत्य शान्ति आन्तरिक मनको शुद्धता र स्वार्थ त्यागमा आधारित हुन्छ। मानिस प्रायः इच्छा, लोभ, र अहंकारका कारण मानसिक अशान्तिमा डुब्छ। पूर्वीय दर्शनमा त्यागको महत्त्व उच्च मानिन्छ। भगवद्गीताले कर्म गर्नुपर्छ तर फलको आसक्ति त्याग्नुपर्छ भन्छ। त्याग केवल भौतिक वस्तुबाट टाढा रहनु होइन, मनका नकारात्मक भावनाहरू, ईर्ष्या र क्रोध पनि त्याग्नु हो। स्वार्थ त्याग गर्दा सम्बन्धमा सहानुभूति र करुणा बढ्छ। मन शुद्ध हुँदा मात्र व्यक्ति सत्य र शान्तिको अनुभूति गर्न सक्षम हुन्छ।

    मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै व्यक्तिको अस्तित्व र सुरक्षाका लागि आत्मकेन्द्रितता स्वाभाविक प्रवृत्तिका रूपमा विकसित भयो। आफ्नै आवश्यकता, सुख–सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्नु जीवनरक्षाको आधार थियो। तर समयसँगै जब समाज विस्तार भयो र मानव सम्बन्धहरू जटिल बन्दै गए, तब यही आत्मकेन्द्रितता समस्या र द्वन्द्वको मूल कारण बन्दै गयो। आजको विश्वमा देखिने असमानता, हिंसा, पर्यावरणीय संकट र सामाजिक विघटन आत्मकेन्द्रित सोचकै प्रतिफल हुन्।

    आत्मकेन्द्रितता “म” को सीमाभित्र सिमित चेतना हो। यसले व्यक्ति, समूह वा राष्ट्रलाई आफ्नै हितभन्दा बाहिर सोच्न नदिने मानसिक अवस्था निर्माण गर्छ। यही सोचले शोषण, भेदभाव र प्रतिस्पर्धालाई बढावा दिन्छ। आधुनिक उपभोक्तावाद र भौतिक सफलतामुखी जीवनशैलीले आत्मकेन्द्रिततालाई अझ संस्थागत बनाएको छ, जहाँ सफलता अरूलाई पछि पारेर मापन गरिन्छ।

    यसको विकल्प मानवकेन्द्रित चेतना हो, जसले “म” बाट “हामी” तर्फ यात्रा गराउँछ। मानवकेन्द्रितता करुणा, सहअस्तित्व र साझा उत्तरदायित्वमा आधारित हुन्छ। यस दृष्टिकोणमा व्यक्ति आफ्ना अधिकारसँगै अरूको पीडा, आवश्यकता र गरिमाप्रति पनि सचेत हुन्छ। मानवकेन्द्रित सोचले सामाजिक न्याय, समावेशिता र शान्तिको आधार तयार गर्छ।

    दार्शनिक र आध्यात्मिक परम्पराहरूले मानवकेन्द्रित चेतनालाई जीवनको उच्च अवस्था मानेका छन्। “वसुधैव कुटुम्बकम्” को अवधारणाले सम्पूर्ण मानवता एक परिवार भएको बोध गराउँछ। यसले जाति, राष्ट्र र धर्मका सीमाभन्दा माथि उठेर सोच्न प्रेरित गर्छ। आधुनिक लोकतन्त्र, मानव अधिकार र दिगो विकासका अवधारणाहरू पनि यही चेतनाबाट निर्देशित छन्।

    मानव जीवनको वास्तविक उद्देश्य चेतनाको शुद्धता, आत्मज्ञान र समग्र मानवताको कल्याणमा छ। स्वार्थमुक्त चेतना भनेको केवल व्यक्तिगत लाभ वा इच्छाको त्याग मात्र होइन, यो मानव मनको व्यापकता, करुणा, सहकार्य र न्यायको अभ्याससँग सम्बन्धित छ। जब व्यक्तिले आफ्नो ‘मेरो’ भावलाई पार गर्दै ‘हाम्रो’ र ‘समान’को भावनालाई आत्मसात गर्छ, तब मात्र साँचो शान्ति, स्थायित्व र समृद्धिको मार्ग खुल्छ।

    पुरातन ग्रन्थहरूमा यस्ता दृष्टान्त धेरै छन्। उपनिषद् भन्छ—“आत्मवत् सर्वभूतेषु।” यसको अर्थ प्रत्येक जीवमा आत्मा समान छ र सबैसँग समान व्यवहार आवश्यक छ। जबसम्म मानिसले केवल आफ्नो स्वार्थ, आफ्नो जात, धर्म वा राष्ट्रियताको चश्माबाट हेर्छ, तबसम्म उसले व्यापक मानवतालाई बुझ्न सक्दैन। स्वार्थमुक्त चेतना भनेको आफ्नै अहंकारको भित्ताभन्दा माथि उठेर सबै जीवमा समानता र समान मूल्य देख्ने क्षमता हो।

    स्वार्थमुक्त चेतना व्यक्तिगत नैतिकता मात्र होइन, सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय जीवनमा पनि लागू हुने मूल्य हो। विश्वव्यापी शान्ति र सहकार्यका लागि राष्ट्रहरूले आफ्नो राष्ट्रिय स्वार्थभन्दा माथि उठेर मानवता, समानता र न्यायको आधारमा निर्णय लिनुपर्छ। यदि राष्ट्रहरू केवल आफ्नै लाभका लागि सीमारेखा, सिमेन्टका पर्खाल वा सैन्य बल प्रयोग गर्छन् भने, द्वन्द्व र विनाशको चक्र कायम रहन्छ। तर यदि राष्ट्रहरूले व्यापक मानव हित, स्वच्छ नीतिहरू र सहकार्यलाई प्राथमिकता दिन्छन् भने, विश्वव्यापी शान्ति सम्भव हुन्छ।

    स्वार्थमुक्त चेतनाले समाजमा सहकार्य, समभाव र दया फैलाउँछ। जब व्यक्तिहरूले आफ्नो स्वार्थ, व्यक्तिगत लाभ वा जातीय, धार्मिक र क्षेत्रीय भेदभावलाई परित्याग गर्छन्, तब समाजमा सहकार्य र मेलमिलापको वातावरण बनिरहन्छ। यही चेतना नै स्थायी सामाजिक समृद्धि, शान्ति र न्यायको आधार हो। उपनिषदका शब्दमा भन्नुपर्दा—“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः”—सबैको सुख, शान्ति र कल्याण सुनिश्चित गर्न स्वार्थमुक्त चेतना आवश्यक छ।

    आजको विश्वमा स्वार्थमुक्त चेतनाको आवश्यकता अझ बढेको छ। आर्थिक प्रतिस्पर्धा, राजनीतिक स्वार्थ, जातीय र धार्मिक द्वन्द्वले मानवतालाई विभाजित गर्दैछन्। यस्तो अवस्थामा व्यक्तिले मात्र होइन, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पनि आफ्नो स्वार्थ त्यागेर व्यापक मानव हितको मार्ग अपनाउनुपर्छ। विज्ञान, प्रविधि र स्रोत साधनको प्रयोग पनि केवल आफ्नै लाभका लागि होइन, मानवता र पृथ्वीको संरक्षणको दृष्टिकोणबाट गर्नुपर्छ।

    स्वार्थमुक्त चेतना व्यवहार र कार्यमा परिणत हुनुपर्छ। यदि मानिसले केवल स्वार्थ त्यागको सिद्धान्त पढ्छ तर व्यवहारमा लागू गर्दैन भने, यो केवल सैद्धान्तिक कुरा मात्रै रहन्छ। जीवनमा यसको अभ्यासले मात्र चेतनाको वास्तविक शुद्धता, समाजको कल्याण र विश्वव्यापी शान्ति सुनिश्चित हुन्छ।

    सामाजिक दृष्टिकोणमा, स्वार्थमुक्त चेतना शिक्षा, संस्कार र नेतृत्वमा प्रकट हुन्छ। शिक्षामा स्वार्थमुक्त दृष्टिकोणले विद्यार्थीलाई केवल व्यक्तिगत सफलता होइन, समाज र मानवताका लागि योगदान दिन प्रेरित गर्छ। संस्कारले व्यक्तिगत मनलाई निर्मल, सहिष्णु र करुणामय बनाउँछ। नेतृत्वमा स्वार्थमुक्त चेतना सामाजिक न्याय, समानता र समग्र कल्याणको मार्ग सुनिश्चित गर्छ। स्वार्थमुक्त चेतना मानवता र जीवनको मूल उद्देश्यसँग जोडिन्छ। जब व्यक्तिले आफ्नो अहंकार, स्वार्थ र संकीर्ण दृष्टिकोणलाई त्याग्छ, तब उसले आफ्नो चेतनालाई व्यापकता र शुद्धतामा पुर्याउँछ। यसले न केवल व्यक्तिगत जीवनलाई अर्थपूर्ण बनाउँछ, तर समाज, राष्ट्र र विश्वलाई शान्ति, समृद्धि र समानताको मार्गमा अग्रसर बनाउँछ।

    स्वार्थमुक्त चेतना सूर्यको उज्यालो जस्तो हो, जसले अन्धकार हटाउँछ र मार्गदर्शन गर्दछ। यो चेतना मानव हृदयमा प्रेम, करुणा र सहिष्णुताको बीउ रोप्छ, जसबाट समाज र मानवता फूलफूलिन्छ। उपनिषदका शब्दहरूमा, स्वार्थमुक्त चेतना मानव जीवनको सर्वोच्च साधन हो—सच्चा सुख, स्थायी शान्ति र समग्र कल्याणको मार्ग।

    स्वार्थमुक्त चेतना अपनाउने व्यक्तिले आफूलाई मात्र होइन, सम्पूर्ण मानवजाति र पृथ्वीलाई लाभ पुर्याउँछ। यसले युद्ध, द्वन्द्व, हिंसा र विभाजनलाई घटाउँछ, मेलमिलाप, सहकार्य र न्यायको वातावरण सिर्जना गर्दछ। यसरी, मानव समाजले दीर्घकालीन स्थायित्व र प्रगति सुनिश्चित गर्न सक्छ।

    आजको प्रतिस्पर्धात्मक र उपभोगवादी समाजमा त्यागको कमी देखिन्छ। मानिसहरू केवल आफ्ना लागि सोच्छन्, जसले सामाजिक विघटन निम्त्याएको छ। शान्ति र सद्भाव कायम गर्न, त्यागको भावना पुनः जीवन्त बनाउनु अत्यावश्यक छ। त्यागले द्वन्द्वको अन्त्य गर्छ र सहिष्णुता, करुणा र सहकार्यको वातावरण सिर्जना गर्छ। जब व्यक्तिहरू व्यक्तिगत स्वार्थ त्यागेर सामाजिक हितमा क्रियाशील हुन्छन्, तब समाजमा न्याय, समानता र स्थायीत्व रहन्छ।

    संसारका हरेक क्षेत्रमा त्यागले शान्ति स्थापना गर्छ। महाभारतमा अर्जुनले सेनाको मोह त्यागेर श्रीकृष्णको साथ रोजे, राजकुमार सिद्धार्थले संसारिक मोह त्यागेर बुद्धत्व प्राप्त गरे। आधुनिक समयमा महात्मा गांधीले व्यक्तिगत सुख त्यागेर राष्ट्रहितमा योगदान दिए।धार्मिक दृष्टिमा पनि त्याग अत्यन्त महत्त्वपूर्ण छ। परमात्मा प्राप्तिका लागि ज्ञानी मानिसहरूले विभिन्न प्रकारका त्याग गर्छन्—संसारको मोह त्याग, अनिष्ट त्याग, स्वतः त्याग र वासना त्याग। बिना त्याग संसारिक सुख, शान्ति वा ईश्वर प्राप्ति सम्भव छैन।

    व्यक्तिगत जीवनमा त्यागले प्रेम, समर्पण र सहानुभूति बढाउँछ। परिवार र समाजमा समझदारी र मेलमिलापको वातावरण सिर्जना गर्छ। जब मानिसले स्वार्थ, अहंकार र नकारात्मक भावनाहरू त्याग्छ, तब उसको मन हल्का, स्वतन्त्र र शान्त हुन्छ।

    धार्मिक ग्रन्थ, महापुरुषहरूको जीवन र इतिहासले पनि देखाउँछन् कि शान्तिको मूल आधार त्याग हो। गौतम बुद्ध, महात्मा गांधी र मदर टेरेसाजस्ता व्यक्तित्वहरूले स्वार्थ त्याग गरेर समाजलाई शान्ति र मार्गदर्शन दिएका थिए। आजको विषाक्त परिवेशमा सहिष्णुता, करुणा र समानताको मार्ग अपनाएर मात्र स्थायी शान्ति र सौहार्द कायम गर्न सकिन्छ। जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति फुल्छ; त्याग नै शान्तिको स्थायी स्तम्भ हो।

    आत्मकेन्द्रितताबाट मानवकेन्द्रिततासम्मको यात्रा कुनै एकपटकको निर्णय होइन, निरन्तर अभ्यास हो। शिक्षा, परिवार, नीति र व्यक्तिगत आचरणमार्फत यो चेतनाको विकास सम्भव छ। जब व्यक्ति आफूभन्दा ठूलो उद्देश्यसँग जोडिन्छ, तब मात्र मानवता सुरक्षित हुन्छ र सभ्यता सार्थक दिशातर्फ अघि बढ्छ।स्वार्थमुक्त चेतना मानव चेतनाको शुद्धता, करुणा र समग्र मानवताको कल्याणको आधार हो। जीवनको वास्तविक अर्थ र उद्देश्य यसमा निहित छ। जब व्यक्तिले आफ्नो स्वार्थ त्याग्छ, चेतना शुद्ध हुन्छ, तब मात्र साँचो शान्ति, स्थायित्व र समृद्धि सम्भव हुन्छ। उपनिषदका शिक्षाले पनि यही मार्ग देखाउँछन्—स्वार्थमुक्त चेतना अपनाएर मात्र मानव जीवनलाई पूर्णता, समाजलाई स्थिरता र विश्वलाई शान्तिको मार्गमा अघि बढाउन सकिन्छ।

    ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

     

     

     

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २५, सोमबार २०:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP